Comments Add Comment

करोडौंको सामान हिलोमै डुब्यो नि !

१ साउन, काठमाडौं  । काठमाडौं महानगरपालिका १४ कलंकीस्थित एउटा सटरभित्र केही मानिस बियरका कार्टुन उठाउँदै छन्  । कोही फुटेका सिसी पन्छाउँदै त कोही कार्टुन/बोतलमा लागेको हिलो पुछ्न व्यस्त थिए  ।

ड्याम बुट र हातमा पञ्जा लगाएर गोदाम सञ्चालक प्रल्हाद गौतम पनि हिलो सफा गर्न लागिपरेका छन्  । ‘शुक्रबारको तहसनहस सफा गर्ने जाँगर बल्ल आयो । करोडौंको सामान हिलोमै डुब्यो नि !’ उनले भने ।

गत शुक्रबार गौतम गोदाममै थिए । बिहीबारदेखि पानी परिरहेकाले व्यापार थिएन । फाट्टफुट्ट आएको अर्डर पनि पुर्‍याउन भ्याएका थिएनन् । पसल कुरेर बसिरहेको बेला पानी दर्काई ठूलो हुँदै गयो । बस्दा बस्दै पसल अगाडिको बाटोतिर भेल बढ्दै गयो । उनी हत्तपत्त सटर बन्द गरेर बाहिर निस्किए । अगाडिको सडक हुँदै बाढी सटरसम्म आइपुग्यो ।

पानी रोकिएकै थिएन, बाढी बढेको बढ्यै थियो । गौतमको ढुकढुकी पनि बाढी जस्तै बढ्दै थियो । त्यही बेला हेर्दाहेर्दै बाढी पसलभित्र छिर्‍यो । आखाँ अगाडि नै गोदाम स्वाहा भयो । गौतमसँग टाउकोमा हात राखेर करोडौंको सामान डुबेको टुलुटुलु हेर्नु बाहेक अरु उपाय थिएन । उनी ‘खुइया’ गर्दै टाढैबाट गोदाम डुबेको हेरिबसे ।

‘लगभग २ करोड रुपैयाँको सामान सत्यनाश भयो । त्यस्तो उर्लिएर बहेको बाढीले भद्रगोल नबनाओस् कसरी ?’ गौतम भन्छन्, ‘यो ठाउँमा गोदाम राखेको ५ वर्ष भयो । अहिलेसम्म यस्तो भएको थिएन तर, यो पाली त बर्बादै पार्‍यो ।’

बाढीले सातो लगेपछि गौतमले गोदाम सार्ने सोच बनाएका छन् । यस्तो ठाउँमा गोदाम राखेर करौडौं रुपैयाँ दाउमा नराख्ने अठोट लिइसके । अहिलेको बाढीले ठूलो पाठ सिकाएको भन्दै उनले भने, ‘यसपालिको बाढीले चेत खुलायो । अब यो ठाउँमा पसल राखेर कहाँ करोडौं जुवा खेल्छु र ।’

कलंकीलगायतका काठमाडौंको धेरै वस्तीमा बाढी पसेपछि यतिबेला ‘वस्तीमा खोला होइन, वस्ती  खोलामा पसेको’ भन्ने उक्ति चर्चामा छ । यस कुरामा प्रल्हाद सहमत छन् । मानिसकै कारणले बाढीले वितण्डा मच्चाएको सुनाउँछन् । खोला बग्ने ठाउँ अतिक्रमण भएकै कारण यो हालत भएको स्वीकार गर्छन् । भन्छन्, ‘यो त सुरुवात हो । वर्षा अझै सकिएको छैन । अझै धेरै डुब्नेवाला छ ।’

प्रल्हादको गोदाम नजिकै मदनलाल पण्डितको इनारको रिङहरु बनाउने कारखाना थियो । बाढीले त्यो कारखाना पनि डुबायो ।

रिङहरु बनाउन तयार बनाएको सिमेण्टका बोराहरु केही बाँकी रहेनन् । त्यहाँ काम गर्ने कामदारको सात परिवारको बिचल्ली भयो । उनीहरुले ओड्ने, ओछ्याउने र अन्न पात जोगाउन सकेनन् । टिनको छानो लगाएर बनाएको छाप्रो पनि बस्न नमिल्ने बनाइदियो ।

मदनलालकी श्रीमती भन्छिन्, ‘हामी त भागेर बच्यौं । बल्ल आज आएर सफा गर्दैछौं । यत्रो चार दिन उता छिमेकमा गएर बस्यौं ।’

९ वर्षदेखि त्यही ठाउँमा बस्दै आएका मदनलालले यस्तो बाढी यसअघि भोगेका थिएनन् । दिउँसो बाढी आएकाले बाँच्न सफल भएको सुनाउँछन् । बाढीकै कारण त्यहाँ बस्न डर बढेको छ उनलाई । भन्छन्, ‘राति बाढी आएको भए त हामी नबाँच्ने रहेछौं । केटाकेटीहरु बचाउनका लागि नि यहाँबाट सर्नुको विकल्प देखिएन ।’

मदनलालका अनुसार बाढीले सिमेण्टका बोरा मात्र होइन, बेच्न ठिक्क पारेर राखेको रिङसमेत बगायो । न खाना पकाउने भाडो बाँकी रह्यो । न त आगो बाल्ने ग्यास चुल्हो । अहिले उनी आवश्यक सामानहरु जोहो गर्दैछन् । यत्रो दिन छिमेकको भरमा परेका उनीहरु आजबाट आफ्नो छाप्रोमा चुलो बाल्ने सुरसारमा छन् ।

‘बिजोग नै पार्‍यो नि । पाँच/सात लाख ध्वस्त भयो’ भन्छन्, ‘हेर्दाहेर्दै एक्कै छिनमा सुकुम्वासी बनाइदियो । फेरि ठूलो पानी पर्‍यो भने बिजोग हुन्छ ।’

कलंकी क्षेत्रका यी त दुई प्रतिनिधी परिवार मात्र हुन् । त्यस क्षेत्रका अन्य परिवार पनि बाढीकै कारण बिचल्लीमा परेका छन् । वस्तीका अधिकांश परिवारहरु आफ्नो वासस्थानमा पसेको बाढीले हुलेको हिलो पन्छाउने काममै व्यस्त छन् । गौतमलाई झैं त्यहाँका अधिकाशंलाई ठूलो पानी पर्दा फेरि डुबानमा पर्ने डर छ ।

गौतमको गोदाम नजिकै भेटिएका ग्यारेज सञ्चालक कुमार भन्छन्, ‘ग्यारेजमा बाढी पसेर सबै तहस नहस नै भयो । गाडी सबै डुबे, क्षतिको त कुरै नगरौं । अब यहीँ ठाउँमा बसेर फेरि कसले जोखिम लिने ?’

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment