Comments Add Comment

त्यो हृयाट्रिक कसरी पो भुल्न सकिन्छ र !

आँखा झिमिक्क नगरी बललाई नजरमा राखिराख्नु सहज हुँदैन । अरुबाट बचाएर बल अघि बढाउनु त अझ कठिन । धेरै प्रयास र मेहनतले मिल्ने कुरा हो त्यो । अनि त्यही प्रयास चाहिरहन्छ…निरन्तर ।

स्ट्राइकर भएपछि आश गर्नुपर्ने रहेछ । आश भनेको सही समयको पर्खाइ हो । सही समयमा सही निर्णय लिनु फुटबलमा गोल हुनु हो । गोल हुनु भनेको जित हुनु, अनि उपाधि पनि । जस्तो कि त्यो भलि सटमा मैले हानेको गोलले हामीले भारतलाई हराएका थियौँ, उपाधि जितेका थियौं…।

कहिलेकाहीँ खेल हार्दा भने सबै कुरा छाडिदिउँ कि जस्तो पनि लाग्छ । फुटबल नै नखेलौं कि भन्नेसम्म पनि । तर त्यो लामो समय रहँदैन । एकैछिनमा फेरि फुटबलले छोइहाल्छ । अनि फेरि सपनाले छोइहाल्छ । त्यस्तै एउटा सपना थियो । राष्ट्रिय टिमबाट दशरथ रंगशालामा खेल्ने । म राष्ट्रिय टिममा आएपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने अवस्था नै रहेन । अब भने त्यो समय फर्किएको छ । उठ्दै गरेको दशरथ रंगशाला देख्दा खुशी मिल्छ ।

****

कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको एसिया क्षेत्रीय छनोटको दोस्रो चरणमा हामी कुवेत, चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग खेल्दै छौं । आउँदो सेप्टेम्बर ५ तारिखदेखि सुरु हुने खेलको होम म्याच हामी दशरथ रंगशालामा नै खेल्न पाउँछौं कि भन्ने आश छ ।

सबैभन्दा खुशीको कुरा लामो समयपछि दशरथ रंगशालामा खेल होला कि जस्तो भएको छ । त्यो रंगशालामा खेल्ने पहिलेदेखिको रहर हो । राष्ट्रिय टिमबाट दशरथ रंगशालामा खेल्न पाएको पनि छैन, त्यसैले त्यो एउटा सपना जस्तो भएको छ । त्यो पूरा होला कि भन्ने आशले पनि जोश बढेको छ ।

हामीभन्दा धेरै नै माथिको टिमसँग हामीले खेल्नुपर्ने कुरा सजिलो होइन । सक्दो मेहनत गर्नै पर्छ । तर चार खेल घरेलु दर्शकका अगाडि खेल्दाको आनन्द नै छुट्टै हुने छ । त्यसमा पनि हाम्रा लागि दशरथ रंगशाला जस्तो मैदान त अरु कहाँ होला र ? दशरथ रंगशालामा दर्शक बनेर खेल हेरेका यादहरु पनि धेरै छन् । त्यही मैदानमा उस्तै दर्शकका अगाडि आफू मैदानमा हुन पाउनु ठूलो कुरा हो ।

अहिले हाम्रो अभ्यास राम्रो भइरहेको छ । घाम पानी नभनी मेहनत गरिरहेका छौं । एन्फा मैदानमा पानी परेको बेला पनि अभ्यास गर्न मिल्ने भएकाले केही सजिलो छ, नियमित गरिरहेका छौं ।

हामीले गर्ने अभ्यासमा पहिले भन्दा धेरै फरक त होइन तर सबै कुरा तीव्रतामा ध्यान दिएर गरिरहेका छौं । सामूहिक भावनामा अघि बढिरहेका छौं । छिटो-छिटो मुभ हुने र अट्याकमा जाने सिकिरहेका छौं । अभ्यासको बेला खराब ट्याकल भएर मेरो खुट्टा सुन्निएको छ, तर ठूलो समस्या नहोला ।

****

वर्षभर मोफसलका १६ भन्दा बढी प्रतियोगितामा आर्मी टिमबाट खेलेँ । अहिले राष्ट्रिय टिमको अभ्यासमा छु ।

आहिले त नयाँ प्रशिक्षक आउनु भएकाले को कुन स्थानमा छानिन्छ भन्ने पनि यस्तै भन्न सकिन्न । हरेक स्थानका लागि केही खेलाडी बलिया छन् । यसैले टिममा पर्न आफ्नो मेहनत बढाउनुपर्ने भएको छ ।

राष्ट्रिय टिमबाट खेल्नु र अरु क्लबबाट खेल्नुमा निकै फरक हुन्छ । जब राष्ट्रिय टिमको जर्सीमा मैदानमा उभिएको होइन्छ, तब ममाथि राष्ट्रको सपना छ जस्तो लाग्छ । अझ राष्ट्रिय गान बजिरहेका बेला मैदानमा आउने भावना त निकै भिन्न छ । अझ बाहिरको टिमसँग खेल्दाको रमाइलो पक्ष उनीहरुबारे धेरै कुरा थाहा भएको पनि हुँदैन त्यसैले गर्वसँगै उत्सुकता पनि मिसिन्छ ।

देशका लागि केही गरौँ भन्ने भावना छुट्टै नै हुन्छ । विदेशी भूमिमा छ भने त अझ राष्ट्रप्रतिको माया गाढा बनिदिन्छ ।

****

मेरो घर इलाम मंगलबारे । त्यता फुटबलको माहोल राम्रै छ । स्कुल पढ्दा प्लास्टिकको बल खेल्थ्यौं । प्लास्टिकहरु पोको पारेर त्यसलाई बाँधेर पनि खेल्थ्यौं । साथी मनकुमार माखिमले प्लास्टिकहरु डल्लो पारेर त्यसलाई बाहिरबाट डोरीले मोडेर राम्रो बल बनाउथे । त्यसले खेल्दा भने गजव नै लाग्थ्यो ।

१० रुपैयाँ पर्ने ट्याङ ट्याङे बल (प्लास्टिकको) पनि खुब खेलियो । त्यो फुटेपछि त्यसमै फेरि प्लास्टिक खाँदेर पनि खेल्थ्यौं ।

त्यो बेला नै गाउँमा ठूला दाइहरु क्लब बनाएर फुटबल खेलिरहेका हुन्थे । उनीहरुले साना केटाहरुको लागि प्रतियोगिता पनि गरे । त्यसमा खेल्न उचाइ भने ४ फिट १० इन्च हुनुपर्थ्यो । विद्यालयका टिमहरु सहभागी हुन्थे । खेलमा मात्रै ध्यान दिएर पढाइ बिग्रिँदा घरमा भने गाली खान्थें । भागेर खेल्न हिँडेका कतिपय बेला त पिटाइ पनि खाएँ । बाबा शिक्षक भए पनि पहिले खुब फुटबल खेल्नुहुन्थ्यो । त्यसैले पनि मलाई अलिकति सहज भने थियो ।

नौ कक्षामा पुगेपछि त त्रिवेणी युवा क्लबमै सामेल भइहालेँ । मेरो फुटबलको विकास भएको त्रिवेणी क्लबमा छँदा नै हो । त्यही क्लबको उत्पादन हुँ भन्दा खुशी लाग्छ । हामी नियमित अभ्यास गर्थ्यौं । विद्यालयबाट घर पुग्न १५ मिनेट लाग्थ्यो । घर पुग्नेवित्तिकै लुगा फेरेर खाजा पनि नखाई मैदान पुगिसक्थेँ । त्यहीबेला देखि नै फुटबल खेल्न जति रमाइलो केही लाग्दैन थियो ।

विस्तारै गाविस स्तरीय प्रतियोगिताहरुमा सहभागी हुन थालेँ । जिल्लास्तरीय प्रतियोगिताहरु खेल्न थालेँ । कप फुटबलहरु भइरहेका हुन्थे । यसरी विभिन्न ठाउँमा खेल्न जाँदा फुटबल सिक्न सहयोग भयो । त्यही खेलका आधारमा जिल्लाको यू-१४ टिममा परेँ । काठमाडौं आएर जिविस कप खेल्यौं । लगातार दुई वर्ष जिविस कप खेलेँ । त्यसपछि त त्यो प्रतियोगिता नै बन्द भयो ।

जिविस कप बन्द भएपछि पनि अन्य प्रतियोगिताहरु भने नियमित नै खेल्दै थिएँ । त्यसैले यू-१६ को छनोटको लागि काठमाडौं आएँ । तर छनोटमा पर्न भने सकिनँ । छनोट नभए पनि फुटबल सिक्न एपीएफ क्लबमा जान थालेँ । डेढ महिना नियमित अभ्यास गरेँ । त्यो कोशीमा ठूलो बाढी आएको समय थियो । एकातिर बाढी, अर्कातिर दशैं आइसक्यो भनेर म घर नै फर्किएँ ।

**** 

काठमाडौंबाट घर पुग्नेवित्तिकै थाहा पाएँ, धनकुटामा आर्मीको भर्ना खुलेको रहेछ । सरोज भन्ने साथीले जाम् भनेर प्रस्ताव राख्यो । मलाई चाहिँ घरबाट जान दिने हुन कि होइनन् जस्तो लागिरहेको थियो । उसैलाई मेरो घरमा पनि कुरा गर्न लगाएँ, बाबाले मान्नुभएछ । तर मलाई जाम भनेर ल्याउने साथी छानिएन, म छानिएँ । पढाइ पनि त्यति राम्रो गर्न नसकेको, फुटबल भए कुदिहाल्ने बानीले गर्दा नेपाल आर्मीमा भर्ना भएर राम्रै भयो भन्ने भयो ।

बाटोमा बन्दुक बोकेर लाइन मिल्दै गएका आर्मी देख्दा सानैमा रहर पनि थियो । तर ठूलो भएपछिको आर्मी रहर भने फुटबलले नै डोर्‍याएको हो । आर्मीबाटै खेलाडीको रुपमा बढ्न सक्छु भन्ने थियो ।

९ महिना आर्मी तालिम लिएपछि मेरो जागिर फुटबलतिरै मोडियो । आर्मीको गुल्म, गणमा राम्रो खेल्दै गएकाले नै आर्मी फुटबल क्लबसम्म आइपुगेको थिएँ । जबदेखि आर्मीभित्र फुटबलतिर लागेँ, त्यो बेलादेखि बन्दुक समातेको छैन । बन्दुक त तालिमका बेला मात्रै बोकियो ।

आर्मी टिममा राजु तामाङ दाइ र सन्तोष नेपाली दाइ मिडफिल्डमा खेल्नुहुन्थ्यो । सन्तोष दाइ शान्ति सेनामा गएकाले मिडफिल्डमा ठाउँ खाली भयो । त्यसैले मैले मिडफिल्डमै खेलेँ । सन्तोष दाइ फर्किएपछि राजु दाइ शान्ति सेना गएकाले मेरो स्थान मिडफिल्डमै कायम भयो । राजु दाइ पनि फर्किएपछि भने फरवार्ड लाइनतिर खेल्न थालेँ । टिममा स्थान बनाउन जुनसुकै स्थानमा पनि खेल्न योग्य हुनुपर्ने रहेछ जस्तो लाग्यो । यो अनुभवले अहिले धेरै सहयोग गरेको छ ।

****

२०१५ मा भारतविरुद्ध भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिमबाट डेब्यू गर्दा म लेफ्ट विङबाट खेलेको थिएँ । दोस्रो हाफमा जगजित श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेको थिएँ । खेल गोलरहित बराबरीमा सकियो, तर मलाई छुट्टै जितको अनुभव भइरहेको थियो । देशको जर्सीमा खेल्दा विशेष हुने रहेछ ।

२०१६ मा बंगबन्धु कप जित्दाको अनुभव त उत्कृष्ट नै छ । एउटा खेलाडीको लागि सबैभन्दा ठूलो जित हुने रहेछ । त्यसैले हारेका प्रतियोगिताभन्दा ज्यादा जितेका प्रतियोगिताकै याद हुन्छन् ।

बंगबन्धुमा त इतिहास रचेका हौं । जे होस्, बंगबन्धु मात्रै होइन साग, साफ खेल्दाका अनुभव पनि राम्रा छन् । हामीले बंगबन्धु जित्ने बेला त नेपाली टिममा निकै उतारचढाव आएको बेला थियो । हामीले केही गरेर देखाउनै पर्ने थियो र देखायौं पनि । त्यो बेला हामी सेमिफाइनलको लक्ष्य लिएर गएका थियौं, तर मेहनत गरेर जित्यौं । त्यसले राष्ट्रलाई नै एउटा खुशी मिल्यो । नेपालमा फुटबल खेलाडीले गर्न सक्छन् भन्ने देखियो । बंगबन्धुका जितेर फर्किएपछिको माहोलले पनि हामीलाई धेरै खुशी दिएको थियो । एयरपोर्टदेखि नै खुट्टा टेक्ने ठाउँ थिएन । सबैको हातमा फूल, माला टीका थियो । भव्य स्वागत भयो । त्यो सम्मान त कहिल्यै बिर्सनै सक्दिनँ ।

नेपाली फुटबलमा नयाँ युग आयो भनिएको समयमा आफू पनि टिममा हुँदाको खुसी अर्कै थियो । त्यो २०१६ को साग फाइनलमा भारतलाई हराएर उपाधि जितेपछि नै हो । उक्त प्रतियोगितामा मैले ७ गोल गरेको थिएँ । बेस्ट प्लेयरको अवार्ड जितेको त्यो समय म मात्रै होइन, सारा नेपाली खुशी भएको क्षण हो ।

समूह चरणमा भुटानविरुद्धको हृयाट्रिक र सेमिफाइनलमा माल्दिभ्सविरुद्ध हृयाट्रिक गोल त म कहिल्यै भुल्नै सक्दिनँ । अन्जन विस्टको १५ औं मिनेटको गोलमार्फत अग्रता बनाएको नेपालका लागि मैले ३६ औं मिनेटमा गोल गरेँ । त्यसपछि ५२ औँ र ८६ औँ मिनेटमा माल्दिभ्सले गोल फर्कायो । अतिरिक्त समयमा पुगेको खेलको ११५ औं मिनेटमा माल्दिभ्सका नइज हसनले गोल गरे । हारको नजिक पुगेको बेला १२० औं मिनेटमा बराबरी गोल र १२२ औं मिनेटमा गोल गर्दै मैले हृयाट्रिक मात्र गरिनँ, नेपाललाई जिताएँ । त्यस्तो खेल कसरी पो भुल्न सकिन्छ र ! फाइनलमा भारतलाई २-१ ले हराउँदा पनि मैले एक गोल गरेको थिएँ ।

त्यो बेला जितको खुशी बढी हुनुमा भारतले नेपालमाथि लगाइरहेको नाकाबन्दी पनि प्रमुख कारण बनेको थियो । हामी खेलाडीमा पनि त्यो कुराले निकै जोश आएको थियो । पहिलो हाफमा पेनाल्टीमार्फत भारतले बनाएको अग्रता दोस्रो हाफमा हामीले उल्टायौं । ६५ औं मिनेटमा प्रकाश बुढाथोकीले हानेको फि्र किक गोल सम्भिmँदा अहिले पनि दंग पर्छु । कसरी हान्यो होला त्यस्तो गोल ?

७० औं मिनेटमा मैले भलि सटमा गोल हान्दा पनि प्रकाशकै क्रस पास थियो । गजब थियो त्यो समय । अब त्यस्तै समय फर्काउने हाम्रो योजना हो । एकपटक साफमा जित्न मन छ । हामी सक्छौं पनि ।

प्रस्तुति : ऋगवेद शर्मा/सरोज तामाङ

फोटो : शंकर गिरी

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा‘को ४५ औं अंकमा यो हप्ता राष्ट्रिय फुटबल खेलाडी नवयुग श्रेष्ठको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment