
३ साउन, धनगढी । धनगढी उपमहानगरपालिका–४, शहीद गेटस्थित नीलम होटलमा बिहीबार भएको बम विस्फोटमा घाइते ५ मध्ये १ जनाको मृत्यु भएको छ ।
विस्फोटमा परी गम्भीर घाइते राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति ११ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार, आफैंले बोकेको बम विस्फोट हुँदा सिंहकाे कम्मर पछाडिको भागमा गम्भीर चोट लागेको थियो ।
घाइते भएसँगै माया मेट्रो अस्पताल पुर्याइएका सिंहलाई चिकित्सकले तत्काल बाहिर लैजान सिफारिस गरेका थिए । तर, थप उपचारका लागि बाहिर लैजाने प्रयास हुँदाहुँदै समय अभावमा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
उनको शव अहिले पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।
सिंह बझाङका स्थायी बासिन्दा हुन् । उनी विप्लव समूहको कार्यकर्ता भएको प्रहरी भनाइ छ ।
बम विष्फोटमा कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे घाइते भएका छन् । उनीहरू सबैको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया 4