Comments Add Comment

जिम्बाब्वे क्रिकेट निलम्बनमा, विश्वकप छनोटमा सहभागिता अनिश्चित

३ साउन, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जिम्बाब्वे क्रिकेटलाई निलम्बन गरेको छ ।

जिम्बाब्वेको क्रिकेट बोर्डमा सरकारले हस्तक्षेप गरेको ठहर गर्दै लण्डनमा बसेको आईसीसी बोर्ड बैठकले आर्थिक सहायता रोक्न र आफ्नो कुनै पनि प्रतियोगितामा सहभागी हुन नपाउने गरी निलम्बनको निर्णय गरेको हो ।

यससँगै अगष्टमा हुने महिला टी–२० विश्वकप छनोट र अक्टोबरमा हुने टी–२० विश्वकप छनोट जिम्बाब्वे सहभागी हुने सम्भावना न्यून भएको छ ।

‘हाम्रो सदस्य राष्ट्रलाई निलम्बन गर्ने कुरालाई हामीले हलुका रूपमा लिएका छैनौं । तर खेलमा राजनीतिक हस्तक्षेप नहोस भन्ने चहन्छौं, जुन जिम्बाबेमा भयो र उनीहरूले आईसीसीको विधानविपरित काम गरे,’ आईसीसीका प्रमुख शशांक मनोहरले भने ।

आईसीसीले जिम्बाब्वेको आर्थिक सहायता रोक्नुको मुख्य कारण आफूले दिएको रकमको ठूलो हिस्सा क्रिकेट र खेलाडीको हितमा प्रयोग गर्नुको साटो जिम्बाब्वे सरकारले लगेको हुनसक्ने आईसीसीको बुझाइ छ । जिम्बाब्वे आर्थिक संकटमा छ ।

आईसीसीले जुन मध्यमा चयन भएको जिम्बाब्वे क्रिकेट बोर्डलाई तीन महिनाभित्र कार्यालय स्थापित गर्न भनेको छ । त्यस आधारमा अब्टोबरमा हुने बोर्ड बैठकमा यसबारे थप छलफल हुनेछ । मनोहरले भने, ‘आईसीसी चाहन्छ कि जिम्बाब्वे क्रिकेट आईसीसीको विधान अनुसार चलोस् ।’

गत जुनमा भएको चुनावबाट टाभिङग्वा माख्वलानी पुनः अध्यक्ष चुनिएका छन् । २००४ मा राष्ट्रिय टिम छाडेपछि उनले जिम्बाब्वे क्रिकेटको प्रशासनमा विभिन्न पदमा रहेर काम गरिसकेका छन् । तर उनले पुनः अध्यक्ष चुनिएसँगै सरकारी निकाय स्पोटर्स एण्ड रिक्रिएसन कमिसनसँग द्वन्द्व भयो । कमिसनले क्रिकेट बोर्डलाई निलम्बन गर्नुका साथै सबैको कागजपत्र नियन्त्रणमा लियो । लगतै आईसीसीले जिम्बाब्वे क्रिकेट बोर्डको खाता रोक्का गरेको थियो । यही कारण जिम्बाब्वेको महिला टिमले आयरल्याण्ड भ्रमण रद्द गर्‍यो तर, नेदरल्याण्ड्स र आयरल्याण्डको भ्रमणमा निस्किसकेको पुरुष टिम भने पुरा गरेर फर्किएको छ । खेलाडीहरुले यो भ्रमणको म्याच फि र तलब भने नपाएको क्रिकइन्फोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment