Comments Add Comment

एनआरएनएको १२ औं युरोपेली बैठक अगष्टमा, लगानी र पर्यटन प्रवर्द्धन मुख्य एजेण्डा

बार्सिलोना। लगानी र पर्यटन प्रवर्द्धनको लक्ष्यसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं युरोपेली बैठक इटालीमा हुने भएकाे छ । युरोप क्षेत्रमा रहेका एनआरएनएका २८ वटा राष्ट्रिय समन्वय परिषदहरुको सहभागितामा आगामी अगष्ट ३ र ४ तारिख राजधानी रोममा बैठक हुन लागेको हो।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकको उद्घाटन गर्ने युरोप क्षेत्रीय संयोजक शिवकुमार बरुवालले जानकारी दिए। यसअघि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल आउने बताइए पनि उनी भने सहभागी नहुने भएका छन् ।

 युरोपमा रहेका एनआरएनहरुलाई गैरआवासीय नेपाली नागरिकताको विषयमा केहि द्विविधा रहेको हुँदा कानूनमन्त्रीकै उपस्थितिमा बैठकमा छुट्टै सेसन चलाउने निर्णय भएको संयोजक बरुवालले बताए। उनले भने, ‘नागरिकता दिने भन्ने  संविधानमा उल्लेख छ तर कुन प्रावधानमा के- के अधिकारसहित भन्नेबारे गैरआवासीय नेपालीहरु अस्पष्ट छन्। हामी यसबारे यसपटक गम्भीर रूपमा छलफल गर्नेछौं।’

बैठकमा सहभागी गैरआवासीय नेपालीहरूलाई समृद्ध नेपाल बनाउनका लागि लगानी गर्न प्रेरित गरिने पनि उनले बताए।

गैरआवासीय नेपाली नागरिकता प्राप्तिपछि लगानीका लागि नेपालको मौजुदा नियम र कानूनकाबारे पनि जानकारी दिने आयाेजनककाे तयारी छ ।

 एनआरएनएको १२ औं युरोपेली बैठकमा नेपाल भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ गरिने भएको छ। नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, भ्रमण वर्ष २०२० कार्यान्यवन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यलगायतको उपस्थितिमा औपचारिक शुभारम्भ गरिने एनआरएन युरोपेली बैठक मूलआयोजक समितिले जनाएको छ। तर चार महिना पहिले पनि पर्यटन बोर्डका कार्यकारी अधिकृतको उपस्थितिमा बर्लिनको लोगेनहाउसमा एक समारोहबीच भ्रमण वर्ष युरोपको उद्घाटन गरिएको थियो।

एनआरएन युरोप संयोजक बरुवालका अनुसार इटालीका टुर तथा ट्राभल व्यवसायी, कूटनीतिक अधिकारी तथा गैरआवासीय नेपालीहरुको उपस्थितिमा भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ गरिनेछ। इटालीका उच्च अधिकारीहरुलाई समेत कार्यक्रममा उपस्थिति गराउने प्रयास थालिएको बरुवालले बताए।


युरोपकेन्द्रित राहतकोषका लागि प्रस्ताव 

युरोपमा वैधानिक वा अवैधानिक रुपमा रहदै आएका नेपालीहरु दिनप्रतिदिन समस्यामा पर्दै गएका छन्।पोर्चुगल,पोल्याण्ड,चेक गणतन्त्र,स्पेन,साईप्रस,माल्टालगायतका देशहरुमा रहेका नेपालीहरु मुख्य रुपमा समस्याले ग्रसित छन्। कागजी प्रक्रियाका लागि समस्याको एउटा पाटो छ भने अर्कोतर्फ विभिन्न कारणले मृत्यु हुने नेपालीहरुको संख्या पनि बढ्दो छ।

पोर्चुगलमा नेपालीको मृत्युको घटना त आजभोलि सामान्य जस्तै बनेको छ। सडक दुर्घटनाका कारण पनि नेपालीहरुले ज्यान गुमाइरहेका छन्। दुई महिना अघि मात्रै स्पेन र पोर्चुगलमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा साइकलमा सवार दुई नेपाली युवाहरुले ज्यान गुमाए। जटिल प्रकारका रोगका कारण पनि युरोपमा नेपालीहरुको मृत्यु भइरहेको छ। डिप्रेसन भई आत्महत्या गर्ने नेपालीहरुको संख्या पनि पछिल्लो क्रममा बढ्दो छ। त्यसको पछिल्लो उदाहरण हो इटाली। गत वर्ष एक नेपाली युवा इटालीको एउटा पार्कमा झुण्डिरहेको अवस्थामा फेला परे। तीन वर्षअघि साईप्रस आएकी एक नेपाली युवतीले आत्महत्या गरिन्। मानव तस्करले डोर्याएको सामुन्द्रिक बाटो हुँदै लिबिया देखि इटाली आउने क्रममा पनि दुई वर्षअघि एक होनाहार नेपाली युवाले गुमाए। इटाली छिर्नकै लागि लिबियामा दर्जनौं युवाहरु अहिले पनि अलपत्र छन्।

पोर्चुगल र चेक गणतन्त्रका छुट्टाछुट्टै घटनामा एक नेपालीले अर्को नेपालीलाई छुरा हानेर हत्या गरेका जघन्य अपराधहरु पनि छन्। विदेशमा नेपालीको ज्यान गइसकेपछि अन्त्यष्टिका लागि मृतकको शव व्यवस्थापनका लागि एनआरएनए राष्ट्रिय समन्वय परिषदहरुले जिम्मेवारी निर्वाह गर्दै आएका छन्। सहयोग रकमका लागि एनआरएनए लगायत संघ संस्थाहरुले नेपाली समुदायलाई सहयोगको आह्वान गर्दै आएका छन्। युरोप संयोजक बरुवालका अनुसार एनआरएनए पोर्चुगलले यसपटकको युरोपेली बैठकमा राहत कोष स्थापनाका लागि प्रस्ताव लैजाँदै छ। उनले भने, एउटै देशमा मृत्युका घटनाहरु पटक–पटक हुँदा सहयोग जुट्न पनि कठिन देखिएको छ। यस्तो परिस्थितिमा युरोप क्षेत्रका लागि छुट्टै राहतकोषको अवधाराणा लैजानु पर्ने केही एनसीसीहरुको राय छ। यसबारे बैठकमा कुरा उठ्छ।’

 इटालीको रोमस्थित अरजाइफ प्यालेस होटलमा नै संघको १० औं महिला भेलासमेत हुने भएको छ। युरोपका झन्डै  २० वटा मुलुकहरुमा रहेका महिलाहरुले भेलामा सहभागिता जनाउने युरोप क्षेत्रीय महिला उपसंयोजक संगीता मरहट्ठाले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment