Comments Add Comment

एनआरएनको अबको नेतृत्वमा मेरो दावी छैन : भवन भट्ट

९ साउन, बार्सिलोना । गैर आबासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले अबको नेतृत्वमा दावी नगर्ने बताएका छन् । नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने पक्षमा रहेको भन्दै उनले एनआरएनमा आफूजस्ता अरु धेरै रहेको बताए ।

बुधबार सामाजिक संजाल फेसबुकमार्फत गैर आबासीय नेपालीहरुलाई बिशेष सम्बोधन गर्दै अध्यक्ष भट्टले भने, ‘संस्थामा धेरै भवनहरु छन् अन्य भवनहरुले संस्थाको नेतृत्व गर्ने अवसर पाउनुपर्छ । पद, परिवार, नातावाद, कृपावाद, लोभ, मोह भोगबाट माथि उठ्न सक्नुपर्छ भन्ने सोचका साथ मैले यो निर्णय गरेको हुँ ।’

बाँकी समय संस्थाको लागि झनै खटिएर लाग्ने उनले बताएका छन् । ‘म चालकको सिटबाट पछाडि सरेको मात्र हुँ, बसबाट झरेको हैन’ उनले थपे । भट्टले कमजोर ब्यक्तिलाई भने नेतृत्व हस्तान्तरण नगर्ने बताएका छन् । फेरि कुनै समय नेतृत्वमा आउन सक्ने आशा भने उनले कायमै राखेका छन् । ‘कुनै दिन एनआरएनएलाई कसैले गलत गर्न खोजेको खण्डमा ब्याकसिटबाट पुन चालकको सिटमा आएर संस्था हाक्नेछु’ उनले थपे ।

अब आफूमा चुनाव सम्पन्न गर्ने जिम्मा रहेको र त्यसलाई पनि कुशलता पूर्वक पुरा गर्ने उनले बताए । आफ्नो नसा–नसामा एनआरएनए रहेको भन्दै भट्टले भने, ‘म एआरएनएसँग छु, एनआरएनए मेरो मुटुमा छ, मेरो रगत रगतमा छ ।’

भट्टले आफ्नो कार्यकाल सफल भएकोसमेत दावी गरेका छन् । सबैको साथ र सहयोगले गर्दा आफू सफल भएको उनले बताए ।

दुईवर्षको कार्यकालमा विभिन्न कार्यक्रमको आयोजना गर्दै एनआरएनएको उचाई बढाएको उनको दावी छ । ‘मैले आफूले सकेसम्म गर्न खोजे अझै धेरै गर्न सक्ने भन्नेत लाग्छ’ भट्टले भने । आफ्नो कार्यकालमा भएका काम प्रति कसैले प्रश्न नउठाएको पनि दावी गरे । आफूले दुईवर्षमा कमाएको भनेको धेरै शुभचिन्तको माया भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment