Comments Add Comment

बाढीबारे विशेष प्रस्ताव पास गर्दा संसद रित्तो !

८ साउन, काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, डुवान तथा पहिरोले पुर्‍याएको क्षति, उद्दार तथा राहतबारे बुधबार प्रतिनिधिसभामा ५ घन्टा बढी छलफल भयो ।

सर्लाही घटनालाई लिएर संसद अवरुद्ध पार्दै आएका कांग्रेस र राजपाले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरे, त्यसमाथि मात्र छलफल गर्ने गरी बुधबार संसद सुचारु भयो । सत्तारुढ, प्रतिपक्षी सबै सांसदले आफ्नो धारणा राखे ।

नागरिकको पीडामा दलहरु एक ठाउँमा भएको सन्देश दिए ।

सांसदहरुले राजनीतिक आरोप प्रत्यारोप पनि गरे । प्रतिपक्षी सांसदहरुले भने सरकारले विपदमा परेका नागरिकका लागि केही गर्न नसकेको भन्दै आलोचना गरे भने

सत्तारुढ सांसदहरुले सरकारले विपदपछि राहत, उद्दार र पुनर्स्थापनाको काम प्रभावकारी रुपमा बताए । विपक्षीले यसअघि संसद अवरोध गरेकोमा आक्रोस पोखे ।
झण्डै ५ घन्टा लामो छलफलपछि गृहमन्त्री रामबहादुर थापा बादलले अहिलेसम्म भएको क्षति र उद्दार तथा राहतमा भइरहेको कामबारे जानकारी दिए ।

लगत्तै प्रतिनिधिसभाले विशेष प्रस्ताव नै पास गर्‍यो । सभामुख कृष्णबहादुर महराले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रस्ताव पेश गरे । उपचारमा कमी हुन नदिन निर्देश दिने तथा उद्धार, राहत र पुनस्र्थापनामा लाग्न आग्रह गर्ने प्रस्ताव पेश गरे ।

बैठक सुरु हुँदा भरिभराउजस्तै रहेको संसद प्रस्ताव पास गर्ने बेला भने खाली जस्तै भइसकेको थियो । मन्त्रीहरुको लहरमा गृहमन्त्री बादल मात्र थिए भने सत्तारुढ दलको लहरमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी र केही सांसद मात्र बसिरहेका थिए ।

यस्तै प्रमुख विपक्षीको सीटमा शीर्षनेताहरु थिएनन् । प्रमुख सचेतक बालकृष्ण खाँड, सचेतक पुष्पा भुसाल, मिनेन्द्र रिजालसहित ८ जना मात्र सांसद थिए । बाँकी सबै कुर्सी खाली थिए । राजपासहित साना दलहरुको सिट पनि त्यस्तै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment