Comments Add Comment

बच्चाले चाहेको कुरा पुरा गर्नैपर्छ ?

बालबालिका भन्छन्, मोबाइल खेल्छु । मोबाइल खेल्न दिन्छौं । चाउचाउ खान्छु भन्छन् । चाउचाउ ल्याइदिन्छौं । खोलौना किन्नु भन्छन् । खेलौना किनेर दिन्छौं । अर्थात जे भन्यो त्यही दिन्छौं । किन ?

किनभने छोराछोरीले अभाव महसुष नगरोस् । छोरीछोरीले दुःख अनुभव नगरोस् । छोराछोरीले झगडा नगरोस् । हामीलाई यस्तै लाग्छ ।

त्यसैले छोराछोरीले मागेका कुरा पुरा गरिदिन्छौं । उनीहरुको माग पुरा गरिदिनु आफ्नो दायित्व र कर्तव्य ठान्छौं । पक्कैपनि छोराछोरीको पालनपोषण गर्नु हाम्रो दायित्व हो । उनीहरुको अनुहारमा सुख र खुसी देख्नु हाम्रो आकंक्षा हो । त्यसो भन्दैमा छोराछोरीलाई हरेक कुरामा साथ र समर्थन गर्नुपर्छ भन्ने होइन ।

छोराछोरीले गर्ने सबै माग जायज हुँदैन । उनीहरुको सबै इच्छा सही हुँदैन । उनीहरुले पाल्ने हरेक रहर ठिक हुँदैन । त्यसैले उनीहरुले जे माग गर्छन्, जे रहर गर्छन्, हामीले आँखा चिम्लेर त्यसमा साथ दिनुपर्छ भन्ने छैन ।

बालबालिकालाई थाहा हुँदैन के सही, के गलत । आफुले माग गरेको कुरा ठिक हो वा होइन ? त्यो पनि थाहा हुँदैन । त्यसैले उनीहरुलाई दोषी ठहर्‍याउनु पनि सही होइन । बरु, गलत कुरा वा अनावश्यक कुराहरु माग गर्छन् भने ति कुरा किन ठिक छैन भनेर उनीहरुलाई सम्झाउनुपर्छ । बुझाउनुपर्छ ।

बच्चाले चाहेका कुरा पुरा गर्ने होइन । बरु बच्चालाई के चाहिएको हो, त्यो पुरा गर्नुपर्छ । उनीहरुको आवश्यक्ता के हो ? त्यही अनुसार हामीले परिपूर्ति गरिदिनुपर्छ ।

जब बच्चाले मागेका सबै कुरा पुरा गर्दै जान्छौं त्यसको सीमा एवं दायरा बढ्दै जान्छ । आज सामान्य कुरा माग गर्ने बच्चाले भोलि ठूल-ठूला कुरा माग गर्न थाल्छन् । उनीहरुले गर्ने माग पुरा गर्न हामी असमर्थ हुन सक्छौं । त्यती मात्र होइन, उनीहरुको माग गलत पनि हुनसक्छ । त्यस्तो बेला हामीले के गर्ने ? न बच्चाको मागलाई उपेक्षा गर्न सक्छौं, न सम्झाउन ।

किनभने उनीहरुको बानी बिगि्रसकेको हुन्छ । आफुले चाहेको जे कुरा पनि पुरा हुन्छ भन्ने भावना विकास भइसकेको हुन्छ । त्यसैले उनीहरुको मनमा जे आवश्यक लाग्छ, त्यो माग गरिहाल्छन् । आफुले माग गरेको कुरा तुरुन्तै प्राप्त हुनुपर्छ भन्ने धारणा राख्छन् ।

जब हामी उनीहरुको माग पुरा गर्न सक्दैनौ, तब उनीहरुको भावनामा ठेस पुग्छ ।

त्यसैले सानै उमेरदेखि बच्चाका सबै मागहरु पुरा गर्ने बानी गर्नु हुँदैन । उनीहरुको माग जायज छ कि छैन भन्ने कुराको बोध गराउनुपर्छ । आफुले किन बच्चाको सबै माग पुरा गरिदिएको छैन भनेर सम्झाउनु पर्छ । त्यसो भन्दैमा उनीहरुप्रति कठोर हुनुपर्छ भन्ने चाहि होइन ।

जस्तो बेलाबखत उनीहरुलाई जंकफूड खान मन लाग्छ । बेलाबखत उनीहरुलाई विद्यालय नगई घरमै बस्न मन लाग्छ । बेलाबखत उनीहरुलाई मोबाइल खेलाउन मन लाग्छ । यस्तो अवस्थामा उनीहरुलाई केही छुट पनि दिनुपर्छ । पुरा नियन्त्रण गर्नु ठिक हुँदैन । तर, यसको सीमा र सर्तहरु भने हुनुपर्छ । बच्चालाई जतिबेला पनि, जहिले पनि उनीहरुकै मर्जी अनुसार काम गरिदिनु राम्रो होइन । यसले अन्ततः उनीहरुमा नै गलत प्रवृत्तिको विकास हुनपुग्छ । त्यही प्रवृत्तिले भविष्यमा उनीहरुलाई धोका दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment