Comments Add Comment

ललितपुरका प्रस्तावित पाँचै स्थानमा ‘सम्भव’ देखियो फ्लाइओभर

१० साउन, काठमाडौं । ललितपुरमा बनाउने भनिएको ५ वटा फ्लाइओभरको सम्भाब्यता अध्ययन प्रतिवेदन आगामी माघको अन्त्यसम्ममा आउने भएको छ । हालसम्मको अध्ययनमा सबै प्रस्तावित स्थानमा फ्लाइओभर बनाउन सम्भव देखिएको छ ।

ललितपुर महानगरपालिकाले आफ्नो लगानीमा बनाउने भनेको फ्लाइओभरको सम्भाब्यता अध्ययनको काममा भइरहेको प्रगतिबारे हालै परामर्शदाता कम्पनीसँग जानकारी लियो । सम्भाब्यता अध्ययन गरिरहेको ग्रीड इन्डिको मटेरियल टेस्ट जेभीले कामको प्रगतिबारे महानगरपालिकालाई जानकारी गराएको थियो । गत वैशाख २७ गते सम्झौता भएर नौ महिनाभित्रै प्रतिवेदन दिने गरी फ्लाइओभरहरु निर्माणका लागि अध्ययन अघि बढेको हो ।

फ्लाइओभरमा ठूलो प्राविधिक जटिलता नदेखिएको जानकारी परामर्शदाता कम्पनीले महानगरलाई दिएका छन् । आगामी भदौसम्ममा कम्पनीले सबै स्थानको माटोको पनि परीक्षण गर्ने र त्यसपछि थप अध्ययन गरेर माघ २६ गतेसम्म रिपोर्ट महानगरलाई दिइसक्ने ललितपुरका मेयर चिरिबाबु महर्जनले बताए ।

उनले पुल्चोकदेखि कुपन्डोलसम्म फ्लाइओभर बनाउने योजना चुनावकै क्रममा घोषणा गरेका थिए । हाल आफ्नो चुनावी प्रतिवद्धता पूरा गर्न फ्लाइओभरको सम्भाब्यता अध्ययन अघि बढाएको मेयर महर्जनले बताए । उनले रिंगरोडसँग ललितपुर महानगरपालिका क्रस हुने चोकहरुमा इन्टरसेक्सन फ्लाइओभर बनाउन पनि सम्भाब्यता अध्ययन गराएका छन्, जुन योजना उनको चुनावी घोषणपत्रमा थिएन ।

हाल पुल्चोकदेखि थापाथलीको बागमति पुलसम्म फ्लाइओभर बनाउन अध्ययन भइरहेको छ । यस्तै चक्रपथको ग्वार्को, सातदोबाटो, एकान्तकुना र चापागाउँ जाने चोकमा इन्टरसेक्सन फ्लाइओभर निर्माणको लागि अध्ययन भइरहेको छ ।

सम्भाब्यता अध्ययनले कस्तो खालको  फ्लाइओभर बनाउन सकिन्छ भन्ने टुंगो लाग्नेछ । माघसम्म सम्भाब्यता अध्ययन सकिएपछि तत्कालै विस्तृत डिजाइनको काम सुरु गरिने र जतिसक्दो छिटो सम्भाब्य स्थानमा निर्माण थाल्ने महर्जनले बताए ।

ललितपुर महानगरपालिकाको पहिलो बोर्ड बैठकबाटै घोषणापत्रमा उल्लेख भएको महत्वपूर्ण आयोजना कार्यान्वयन गर्ने गरी फ्लाइओभरको निर्माणका लागि प्रक्रिया अघि बढाउने निर्णय भएको थियो । आफ्नो कार्यकालभित्रै ललितपुरमा फ्लाइओभर बनाउने योजना चिरीबाबुको छ ।

योजनाअनुसार काम भए पुल्चोकबाट कुपण्डोलसम्म निर्माण गर्दा झण्डै १.४ किलोमिटरमा फ्लाइओभर बन्नेछ । ललितपुरको योजनाअनुसार यो फ्लाइओभर बनेमा नेपालमा स्थानीय तहले बनाएको सबैभन्दा ठूलो परियोजना हुनेछ ।

ललितपुरमा ५ वटा फ्लाइओभर बनाउन कति लगानी लाग्छ भन्ने प्रारम्भिक अनुमान सम्भाब्यता रिपोर्टले नै गर्नेछ । यसको लगानी कसरी जुटाउने भन्ने अहिले टुंगो लागिसकेको छैन ।

‘सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल पनि अबलम्बन गर्न सकिएला । नभए अरु मोडलहरुमा पनि छलफल हुनसक्छ’ मेयर महर्जन भन्छन् ।

फ्लाइओभरको अन्तिम बिन्दु थापाथली हुन सक्ने महानगरको आँकलन छ । यो सम्भाब्यता अध्ययन र डीपीआरपछि नै टुंगो लाग्नेछ ।

जाइकाले त्रिपुरेश्वर-थापाथली-माइतीघर रुटमा फ्लाइओभर बनाउने भनेकाले यसमा जोड्न सकिन्छ कि भन्ने ललितपुर महानगरको बुझाइ छ । ठूला मालबाहक सवारी पनि गुड्न सक्ने गरी फ्लाइओभर बनाउने योजना छ ।

‘हामी अनुभवी ठेकेदारमार्फत नै यसको काम गराउनुपर्छ भन्नेमा छौं’ महर्जनले भने, ‘यसले ललितपुरको सम्बृद्धि झल्काउने मात्रै छैन, अब समग्र नेपालको विकासको मोडल पनि देखाउनेछ ।’

पुल्चोकभन्दा अघि जाउलाखेलतर्फ भने रातो मच्छिन्द्रनाथको जात्रा हुने भएकाले फ्लाइओभर नबनाइने मेयर महर्जनले स्पष्ट गरे । सो क्षेत्रबाट जात्रा शहर परिक्रमा गराइने रथ अग्लो हुने भएकाले अन्य क्षेत्रमा फ्लाइओभर बनाउन नहुने निश्कर्ष महानगरपालिकाको छ ।

‘ललितपुर कला र संस्कतिको शहर हो । शहरका विशिष्ट महत्वका सम्पदा र संस्कृति बचाएर मात्रै विकास अघि लैजानुपर्छ’ महर्जनले भने, पुल्चोकभन्दा अघि फ्लाइओभर बनाउँदा जात्रा रोकिने अवस्था आउँछ । त्यसैले सम्भाब्य क्षेत्रमा हामी विस्तारै आवश्यक पूर्वाधार बनाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment