Comments Add Comment

कारागारभित्रै साथीको हत्या गर्ने महतोको बयान– परमात्माले भनेकाले मारेँ

१८ साउन, काठमाडौं । नख्खु कारागारभित्र भएको झडपमा एक जनाको मृत्यु भएपछि कैदीबन्दीमा त्रास सिर्जना भएको छ ।

शुक्रबार कर्तव्य ज्यान मुद्दाका पवनकुमार महतोले साथी पूर्णबहादुर राजीको कारागारभित्रै हत्या गरेपछि कैदीबन्दी त्रसित भएका हुन् ।

मनोसामाजिक अस्पताल पनि भएकाले नख्खुमा देशभरका मानसिक रोगी कैदीबन्दीलाई राखिन्छ । कारागार प्रशासनका अनुसार अहिले नख्खुमा ४ सय बढी मानसिक रोगी कैदीबन्दी छन् ।

हत्या प्रकरणपछि उनीहरुलाई सुरक्षा चुनौती हुनसक्ने भएकाले अहिले महतोलाई छुट्टै कोठामा राखिएको छ । नख्खु कारागारका जेलर वेदप्रकाश अर्यालले अनलाइनखबरसँग भने, ‘गोलीघर त होइन तर, अन्य कैदीबन्दीबाट टाढा हुने गरी छुट्टै कोठामा राखेका छौं ।’

राजी र महतो नयाँ ब्लकको दक्षिणपट्टि घाम ताप्दै जुम्रा मारेर बसिरहेका थिए । ‘सधैँसँगै बस्ने र मिल्ने भएकाले यस्तो होला भनेर कल्पनै गर्न सकिने अवस्था नै थिएन’, अर्यालले सुनाए ।

दिउँसो करिब २ बजे एक्कासि भुइँमा विच्छ्याइएको ब्लक प्रहार गरेपछि सुरक्षाकर्मी र अन्य कैदीबन्दी छुट्टयाउन पुगेका थिए । तर, टाउकोमा गहिरो चोट लागेका कारण वीर हस्पिटलमा उनको मृत्यु भयो ।

अहिले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

महतो भन्छन्– परमात्माले भनेकाले मारेँ

घटनालगत्तै नख्खु कारागार प्रशासनले जिल्ला प्रहरी कार्यालय, ललितपुरमा जाहेरी दिएको थियो । ललितपुरबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का गरेर अनुसन्धान थालेको छ ।

ललितपुरका डीएसपी नारायण चिमरियाका अनुसार, महतो कारागारमै भएकाले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राख्नु पर्दैन । तर, आवश्यकता अनुसार बयान र अदालत उपस्थित गराउन कारागारबाट बाहिर ल्याउन सकिन्छ ।

‘जेलमै भएकाले म्याद थप गरिरहनु पनि परेन’, उनले सुनाए, ‘अरु सबै प्रक्रिया उही हुन् ।’

अनुसन्धानमा संलग्न अधिकृतले महतोसँग प्रारम्भिक सोधपुछ पनि गरेका छन् । तर, उनले अनौठो जवाफ दिएको स्रोत बताउँछ ।

स्रोतका अनुसार महतोले आफूलाई परमात्माले पठाएकाले हत्या गरेको दाबी गरेका छन् । स्रोतले उनको बयान उद्धृत गर्दै भन्यो, ‘परमात्माले भनेकाले हत्या गरेको हुँ ।’

कारागार स्रोतका अनुसार बेलुका उनले मासु, भात चाहियो भनेका थिए । तर, टोलीले इन्कार गरेर शाहाकारी खाना खान दिएको थियो ।

‘उनमा गल्ती गरेँ भन्ने भाव देखिन्न’, एक अनुसन्धान अधिकृत भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment