Comments Add Comment

विराटनगरमा पशु अस्पताल, दैनिक ४० बिरामी

२० साउन, विराटनगर । अस्पताल परिसरमा व्यवस्थित ‘बेड’ राखिएका छन् । बिरामीलाई स्लाइन दिनेदेखि शल्यक्रियाका काम पनि एकसाथ भइरहेको छ ।

छेवैमा बिरामीका कुरुवा पनि बसेका छन् । ‘राउन्ड’मा आउने चिकित्सकसँग बिरामी कुरुवाले आफ्ना विरामीबारे जिज्ञासा राखिरहेका छन् ।

तिनै बिरामीमध्येकी एक हुन् दुई वर्षीया पिटर । पिटरको पेटमा पलाएको ऐजरु बढ्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । शल्यक्रिया गरिएको पिटरको अवस्था सुधार हुँदै गएको छ ।

यो विराटनगरको भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको दृश्य हो । आम बुझाई के छ भने मानिस बिरामी भए अस्पताल भर्ना हुन्छन्, अस्पतालहरु मानिसकै लागि स्थापना हुन्छन् । तर यहाँ मानिसको होइन पशुको उपचार हुन्छ ।

पिटरका कुरुवा विनोद श्रेष्ठले भने ‘विराटनगरको अस्पतालमा धरानबाट पिटरलाई ल्याउन खासै सकस छैन,’ श्रेष्ठले भने, ‘हिजो पशु अस्पताल नहुँदा धेरै समस्या खोप्नुपरेको थियो । अहिले जटिल प्रकारका अप्रेशन सेवादेखि उपचारको सेवाले निकै राहत मिलेको छ ।’

अस्पताल सञ्चालनमा आएसँगै पशुधन उपचारको सेवा लिनेको भीड बढेको छ । रोडशेष चौकमा अवस्थित यो अस्पतालमा विषेशज्ञसहितको सेवा प्रदान गर्न थालिएपछि यो अस्पताल पशुधन उपचारका लागि रेफरल सेन्टरको रुपमा विकास भएको छ ।

साविकको जिल्ला पशु सेवा कार्यालय प्रदेश सरकारको मातहतमा आएसँगै अस्पतालको रुपमा विकास भएको हो । रोडशेष चौकमा अवस्थित यो अस्पतालमा विषेशज्ञसहितको सेवा प्रदान गर्न थालेपछि यस क्षेत्रका किसान र सर्वसाधारणमा लाभ पुगेको छ ।

साविकको जिल्ला पशु सेवा कार्यालय हुँदा त्यहाँबाट सामान्य खालको उपचार मात्र गरिदै आएको थियो । तर भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको रुपमा विकास गरेपछि प्रयोगशाला र विशेषज्ञ सेवा प्रदान गरिएको छ ।

अस्पतालका पशु चिकित्सक डा राघबेन्द्र तिवारीका अनुसार सबै प्रकारका रोगको उपचारसँगै शल्याक्रियाको सेवा अस्पतालमा उपलब्ध छ । ‘अस्पतलमा विशेषज्ञसहितको सेवा प्रदान हुन थालेपछि भीड बढेको छ । ‘उपचारका लागि भर्ना गरिएका पशुको मेजर सर्जरीदेखि डाइलासिस सेवा पनि अस्पतालबाट प्रदान गरिन्छ’ डा. तिवारीले भने ।

पशुधनीहरुले गाईलाई कृत्रिम गर्भाधान (एआई) गराउन यहीँ ल्याउने गरेका छन् । तीबाहेक गाई, भैंसी, गोरु, कुकुर, विरालो, सुँगुर, बाख्रालगायतका पशुमा स्वास्थ्यमा समस्या देखिए वा खुट्टा भाँचिए पनि अस्पताल उपचारका लागि पशुधनीहरुले ल्याउने गरेका छन् ।

अस्पतालका वरिष्ठ पशु चिकित्सक डा सुनीलकुमार अधिकारीले अस्पतालका साथै पशुसेवा विज्ञ केन्द्रसमेत भएकाले यहाबाट बिषेशज्ञसहितको टिमले उपचार सेवा दिने र केही केशहरुमा अध्ययन अनुसन्धानको काम पनि गर्ने जानकारी दिए ।

उनका अनुसार अहिले दैनिक सरदर ४० वटा विरामी पशु उपचारका लागि भर्ना हुने गरेको छ । भर्ना गरिएकामध्ये २० देखि २५ प्रतिशत भारतका विभिन्न जिल्लाबाट ल्याउने पशुको संख्या रहने गरेको छ । केन्द्रमा प्रदेश १ का विभिन्न जिल्लाका साथै प्रदेश २ का सप्तरी, सिराहा जिल्लाबाट पनि पशु जाँचका लागि ल्याइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment