Comments Add Comment

सिंहदरबार छेउको अग्लो घरमा प्रधानमन्त्रीकाे चासाे !

काठमाडौंका सीडीओ भन्छन्- हेर्दैछौं, महानगर भन्छ-कसरी भत्काउनु ?

२१ साउन, काठमाडौं । मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार नजिकै बनेको ११ तले व्यापारिक भवनले सुरक्षामा चुनौती उत्पन्न गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसम्म उजुरी पुगेको छ ।

काठमाडौं महानगरपालिकाबाट अनुमति पाएपछि इमेरो प्रालिले यो भवन निर्माण गरेको हो । तर, होटल सञ्चालनका लागि महानगरबाट अनुमति पाएको उक्त भवनका कारण सुरक्षा चुनौती बढेको चर्चा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत चासो दिएका हुन् ।

सिंहदरबारको दक्षिणपूर्वी मोहोडामा बनेको यस भवनले सुरक्षा चुनौती थपेको प्रहरीका उच्च अधिकारीहरुले प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेका थिए । स्रोतका अनुसार यस विषयमा प्रधानमन्त्रीले केही मन्त्रीसँग अनौपचारिक छलफलसमेत गरेका छन् ।

अघिल्लो साता बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले उक्त भवनको विषयमा मन्त्रीसँग के गर्न सकिन्छ भनेर अनौपचारिक सुझाव लिएका थिए ।

‘प्रधानमन्त्रीज्यूले सोध्नुभएको थियो, तर समाचारमा पढेको बाहेक अन्य कुरा थाहा नभएको हामीले बतायौं’ एक मन्त्रीले अनलाइनखबरसँग भने, ‘ प्रधानमन्त्रीज्यूले यो भवन के-कसरी हटाउन सकिन्छ भन्ने विषयमा सम्बन्धित मन्त्रालयले सोचेर भन्नुहोला भन्नुभएको छ ।’

भाइकाजीसँग पनि प्रधानमन्त्रीको छलफल

यसअघि प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीलाई पनि उक्त भवनका विषयमा सोधेका थिए । तिवारीसँग सिंहदरबार र शीतलनिवास नजिकैको भवनका विषयमा प्रधानमन्त्रीले चासो राखेका थिए ।

तिवारीले प्रधानमन्त्रीलाई महानगरले बनाउन अनुमति दिएको जानकारी गराएका थिए ।

प्राधिकरणले ०६७ सालमै संवेदनशील क्षेत्रमा अग्ला भवन बनाउन नपाइने मापदण्ड बनाएको भए पनि कसैले वास्ता नगरेको तिवारी बताउँछन् ।
‘हामीले ६७ सालमै यो विषय उठान गरेका थियौं, कसैले वास्ता गरेनन् अहिले बनिसकेपछि ए ए भनिदैछ’ तिवारीले भने ।

अध्ययन गर्दैछौं : प्रजिअ आचार्य

सिंहदरबार अगाडि नै बनेको अग्लो भवनले सुरक्षा चुनौती बढेको भन्दै गृह मन्त्रालयले यस विषयमा अध्ययन गर्न जिल्ला प्रशासन कार्यालयलाई केही समयअघि पत्राचार गरेको थियो ।

गृहको पत्राचारपछि सिडिओ कार्यालयले यस विषयमा अध्ययन भइरहेको बताएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले सिंहदरबार र शीतलनिवास अगाडिका भवनहरुले सुरक्षा चुनौती बढाउने बताए ।

यो विषयमा प्रशासनले ध्यान दिएको बताउँदै के गर्ने भनेर अहिले अध्ययन भइरहेको बताए । भत्काउने कि नभत्काउने भन्ने विषयमा भने कुनै निर्णय नभएको प्रजिअ आचार्यले बताए ।

महानगर भन्छ- मापदण्डअनुसार नै अनुमति

काठमाडौं महानगरपालिकाले भने मापदण्डअनुसार नै भवन निर्माणका लागि अनुमति दिइएको बताएको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलले महानगरको भवन निर्माण मापदण्डअनुसार नै निर्माणका लागि अनुमति दिएको बताए ।

इमेरो प्रालिलाई व्यवसायिक प्रयोजनका लागि दुई तल्ला अण्डरग्राउन्ड र माथि ९ तल्ला गरी ११ तला बनाउन अनुमति दिएको प्रवक्ता डंगोलले बताए । किनं.२१७५ मा रहेको क्षेत्रफल २ रोपनी ४ आना जग्गामा होटल बनाउनका लागि अनुमति दिएको उनले बताए ।

जग्गाधनीले २ बैशाख ०७१ मा नक्सा पास गरेका थिए । डीपीसी भन्दामाथि १७ भदौ ०७३ मा अनुमति लिइएको उक्त भवन निर्माण सम्पन्न भएको जानकारी घरधनीले महानगरलाई गराइसकेका छन् । धरधनीले ०७५ कात्तिक १५ मै निर्माण सम्पन्नताको प्रमाणपत्र लिएका छन् ।

अब यो भवन भतकाउन सकिन्छ त भन्ने विषयमा प्रवक्ता डंगोलले भने, ‘मापदण्ड अनुसार नै बनेको भवन कसरी भत्काउनु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment