Comments Add Comment

मन्दिर नबनेपछि खड्गयोगिनीको मूर्ति जोगाउन स्थानीयवासी कुरुवा

२१ साउन, काठमाडौं । काठमाडौंको उत्तरपूर्वमा पर्ने शंखरापुर नगरपालिकाको साँखुमा रहेको खड्गयोगिनीको मन्दिर पुनर्निर्माण अलपत्र परेको छ । ठेकेदारको लापरवाही र पुरातत्व विभागको बेवास्ताले गर्दा पुनर्निर्माण अघि बढ्न नसकेको हो ।

यस ठाउँमा खड्गयोगिनीसहित बज्रयोगिनी र पद्यमगिरी धर्म धातु महाविहारका मन्दिर छन् । भुकम्पपछि सबैभन्दा अगाडि खड्गयोगिनी मन्दिर पुनर्निर्माण सुरु भएको थियो । तर, जग राखेपछि काम रोकिँदा साँखुका बासिन्दाले हरेक बर्ष बैसाख पूर्णिमामा मनाउने जात्रासमेत प्रभावित भएको छ ।

बज्रयोगिनीको पुनर्निर्माण अन्तिम चरणमा पुगेको र पद्मगिरीको पनि तीव्ररुपमा पुनर्निर्माण भइरहेको अवस्थामा खड्गयोगिनीको भने काम नै सुरु नभएको स्थानीय हिरन्यबज्र बर्जाचार्यले बताए । उनले भने, ‘मन्दिरमा दैनिक ४ पटक नित्य पूजा गर्नुपर्ने हुन्छ । मन्दिर पुनर्निर्माण नहुँदा देवता राख्नसमेत असुरक्षित भएको छ ।’

हरेक बर्ष बैशाख पूर्णिमाको दिनदेखि ८ दिनसम्म चल्ने जात्रामा खड्गयोगिनी मातालाई रथमा राखेर साँखु उपत्यकाको परिक्रमा गराइन्छ । तीनवटै मन्दिर पुनर्निर्माण पूरा नहुँदा खड्गयोगिनी माताको मूर्तिलार्ई एउटा कोठाभित्र कोचिएको छ । यसले नित्य पूजामा समेत असर परेको मन्दिरका पुजारी मोहन गर्जु बज्राचार्यले बताए ।

उनले भने, ‘ठेकारको लापरवाहीले मन्दिरको अस्तित्वसमेत जोगाउन गाह्रो परिरहेको छ । पुरातत्व विभागले पनि वास्ता गर्न छोडेको छ ।’

शंखरापुर नगरपालिकाका मेयर सुर्वण श्रेष्ठले बज्रयोगिनी मन्दिरको पुनर्निर्माणको जिम्मा पूरातत्व विभागले लिएकाले ठेकेदार र पूरातत्व विभागलाई ताकेता गरिरहेको बताए ।

‘ठेकेदारले कहिले काम गर्ने मान्छे नभएको भन्छ त कहिले अरु बहाना बनाएर काम अल्झाइरहेको छ,’ उनले भने ।

मूर्ति कुर्न स्थानीयको आलोपालो

मुर्तिको सुरक्षाका लागि हरेक दिन स्थानीयवासी पालो मिलाएर मन्दिरमा कुरुवा बस्ने गरेका छन् । साँखुको ८० घरमध्ये प्रत्येक घरका पालोपालो गरी १/२ जना ८ दिनसम्म देवताको सेवा गर्न मन्दिरमा बस्ने गर्छन् । ८ रातसम्म चल्ने साँखु जात्रामा बज्रयोगिनी मातालाई साँखु उपत्यका ल्याउने गरिन्छ ।

खड्गयोगिनीको दुई बर्षअघि नै भूकम्पले भत्काएर बाँकी रहेको भागलाई भत्काउने काम सुरु गरिएको थियो । पुरातत्व विभाग पहिले गरेको डिजाइन र इस्टिमेटभन्दा फरक पर्न गएकाले पुनर्निर्माण हुन नसकेको बताउँछ । पुरातत्व अधिकृत सविता न्यौपानेले भनिन्, ‘जग राख्ने काम सुरु गर्दा इस्टिमेटभन्दा फरक पर्न गएकाले काम रोकिएको हो ।’

मन्दिर अग्लो स्थानमा रहेकोले जग तलैदेखि लगाउनुपर्ने र त्यसरी तलैबाट नयाँ जग राखेर सुरु गर्दा बजेट नपुग्ने भएकाले गत आर्थिक बर्ष २०७५/२०७६ मा पुनर्निर्माण सुरु हुन नसकेकोे उनी बताउँछिन् ।

इन्जिनियर पूर्णबहादुर श्रेष्ठका अनुसार नक्साअनुसार जगको पर्खाल चौडा पर्न गएकाले इस्टिमेट फरक परेको हो । टेन्डरको काम सकिएपछि दशैलगत्तै काम सुरु हुने उनले बताए ।

तीनवटै मन्दिर पुनर्निर्माण सम्पन्न गर्न ८ करोड रकम छुट्याइएको थियो । त्यसमध्ये बज्रयोगिनी मन्दिरमा साढे २ करोड रुपैयाँ खर्च भइसके पनि भुक्तानी दिन भने बाँकी रहेको पुरातत्व विभागले जनाएको छ ।

विभागका अनुसार पद्यगिरी धर्म धातु महाविहारको मन्दिर पुनर्निर्माण गर्न साढे २ करोड रुपैयाँ छुट्याइएको छ । त्यसमध्ये हालसम्म १ करोड रुपैयाँ खर्च भइसकेको छ । अबको पुस महिनाभित्र सक्ने गरी काम भइरहेको छ । खड्गयोगिनी मन्दिरका लागि ३ करोड रुपैयाँ छुट्याइएको थियो ।

तीनवटै मन्दिरको पुनर्निर्माणको जिम्मा पुरातत्व विभागले दुईवटा निर्माण व्यवसायीलाई दिएको थियो । पद्मगिरीको पुनर्निर्माणका लागि तुल्सी कन्स्ट्रक्सनलाई २०७४ बैशाख १ गतेदेखि सुरु गरेर २०७६ पुस मसान्तसम्म सम्पन्न गर्नेगरी ठेक्का दिइएको थियो ।

यस्तै बज्रयोगिनी मन्दिरको पुनर्निर्माणका लागि २०७३ असार २६ गते सुरु गरेर २०७६ मंसिर मसान्तसम्म सक्ने गरी जिम्मा दिइएको थियो । तुल्सी कन्स्ट्रक्सनका रामप्रसाद बासीले विभिन्न अवरोधका कारण आफूहरुले २ बर्षसम्म काम गर्न नपाएको बताए ।

खड्गयोगिनी मन्दिरका लागि २ वर्षअघि ठेकदारसँग सम्झौता भए पनि काम हुन नसकेपछि अर्को ठेक्काका लागि टेन्डर आह्वान गरिएको छ । ठेक्का कसलाई दिने भन्नेबारे टुंगो लाग्न बाँकी छ ।

मन्दिर पुनर्निर्माण नहुँदा यहाँ अस्तव्यस्त अवस्था छ । साँघुरो ठाउँमा निर्माण सामग्री असरल्ल छन् जसले भक्तजनहरुलाई आवतजावतमा समस्या भइरहेको छ । इट्टा बालुवा मन्दिर जाने बाटेमा थुपारिँदा बाटोसमेत बन्द भएको छ ।

काठमाडौं उपत्यका बन्नुअघि नै साँखु भन्ने देश बनेको पौराणिक कथन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment