Comments Add Comment

खसी बिक्री गरेर किसानले कमाए ३ करोड

२९ साउन,  तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ भानुमतिकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेकी छन् । गत वर्ष आठ लाख रुपैयाँ मूल्य बराबरका खसीबोका बिक्री गरेकी उनले त्यही रकमले अहिले घरखर्च चलाउँदै आएकी छन् ।

उनले ३५ वटा बाख्रा पालेकी छन् । सोही ठाउँका श्रीमाया आलेले गत वर्ष ६ लाख रुपैयाँ मूल्य बराबरको खसीबोका बिक्री गरेकी छन् । त्यस्तै सोही ठाउँकै डिलमाया आलेले पनि गत वर्ष ६ लाख रुपैयाँ मूल्य बराबरको खसीबोका बिक्री गरेकी छन् ।

घिरिङ गाउँपालिका–५ माझकोटका नन्दवीर थापाले पनि गत वर्ष ५ लाख रुपैयाँ बराबरको खसीबोका बिक्री गरेका छन् । थापा र आले मात्र होइनन्, यहाँका अधिकांश महिलाले बाख्रापालनबाट आयआर्जन गर्दै आएका छन् ।

तनहुँ, लमजुङ र कास्कीका बाख्रापालक कृषकले गत वर्ष खसीबोका बिक्री गरेर ३ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँको साझेदारीमा तीन जिल्लामा सञ्चालित ‘पशुवस्तुको मूल्य श्रृङ्खलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना’ मार्फत गठन भएका ९ वटा सहकारीमार्फत कृषकले ३ करोड ४४ लाख १७ हजार ५५९ रुपैयाँको खसीबोका बिक्री गरेका छन् ।

सहकारीमा आबद्ध ९ सय भन्दा बढी कृषकले बढीमा ८ लाख रुपैयाँसम्म खसीबोका बिक्री गरेर आम्दानी गरेको नेपाल एकीकृत ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सहकारीमा आबद्ध कृषकले सहकारीमार्फत खसीबोका बिक्री गरेका छन् ।

सहकारीले कृषकले उत्पादन गरेको खसीबोका खरीद गरी व्यापारीलाई सिधै बिक्री वितरणको व्यवस्था मिलाएको थियो । भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाले ४ सय ४६ खसी बिक्री गरेर १ करोड २५ लाख ३६ हजार, भिमाद नगरपालिका–४ को माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले २ सय ३६ खसी बिक्री गरेर २५ लाख ५१ हजार ५ सय आम्दानी गरेको थियो ।

शुक्लागण्डकी नगरपालिका–१ स्थित दिदीबहिनी कृषि सहकारीले १ सय ४६ खसी बिक्री गरेर १३ लाख २ हजार ८ सय,  घिरिङ गाउँपालिका–५ स्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीले ५ सय १३ खसी बिक्रीमार्फत ५६ लाख ६१ हजार,  घिरिङ गाउँपालिका–२ स्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीले २ सय ४३ खसी बिक्री गरेर २० लाख २९ हजार रुपैयाँ आम्दानी गरेको छ ।

व्यास नगरपालिका–८ स्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारीले १ सय ५९ खसी बिक्रीमार्फत १४ लाख ७९ हजार, मध्यनेपाल नगरपालिका–१ स्थित सप्तधारा सामाजिक उद्यमी महिला सहकारीले  ४ सय १९ खसी बिक्री गरेर ४७ लाख ४२ हजार्र,  सुन्दरबजार नगरपालिका–१ स्थित भगिरथी सामाजिक उद्यमी महिला सहकारीले २ सय ३१ खसी बिक्रीगरेर २३ लाख ९६ हजार ७ सय रूपैयाँ आम्दानी गरेको  छ ।

मादी गाउँपालिका–९ स्थित मिजुरे सामाजिक उद्यमी महिला सहकारीबाट २२० खसी बिक्रीमार्फत १७ लाख १७ हजार ८ सय २५ रुपैयाँ आम्दानी भएको छ । कार्यक्रम संयोजक पौडेलका अनुसार उक्त अवधिमा ती सहकारीमा आबद्ध ९ सय कृषकले २ हजार ६ सय १३ खसी बिक्री गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment