Comments Add Comment

कसरी बन्ने आदर्श दम्पती ?

‘चखेवाको जोडीजस्तै’ । अक्सर आकर्षक र प्रेमिल दम्पतीलाई जनाउन यसै भनिन्छ । कहिल्यै नछुट्ने, गहिरो प्रेम र विश्वासले जोडिएका, समझदार, सहयोगी, सफल दम्पती जोडी देख्दा जो-कोही लोभिन्छन् । र, उदाहरण दिँदै भन्ने गरिन्छ, ‘दम्पती हुनु त फलानाको जस्तो ।’

दाम्पत्य जीवनमा बाँधिनु भनेको श्रीमान र श्रीमती हुनु मात्र होइन । छोराछोरी जन्माउनु मात्र होइन । घर-परिवार चलाउनु मात्र होइन । दम्पती भनेका एकअर्काको आडभरोसा, विश्वास, उत्साह, उमंग, उर्जा पनि हो । जब कोही दाम्पत्य जीवनमा बाँधिन्छन्, आफ्ना पार्टनर समझदार, बौद्धिक, स्मार्ट, मायालु, जुझारु, पारिवारिक होस् भन्ने अपेक्षा गर्छन् । कतिपयको अपेक्षा पूरा हुन्छ, कतिको हुँदैन ।

कोही जोडी यस्ता हुन्छन्, जसलाई हामी ‘भगवानले जुराइदिएको’ भन्ने गर्छौं । त्यस्ता जोडी, जो सधैं प्रेममय सम्बन्धमा त जोडिएका हुन्छन् नै, आ-आफ्नै क्षेत्रमा उन्नती, प्रगति पनि गरेका हुन्छन् । अतः उनीहरु एकअर्काको प्रगतिमा रमाइरहेका मात्र हुँदैनन्, उत्तिकै साथ र सहयोग पनि गरिरहेका हुन्छन् ।

उनीहरु व्यवहारिकरुपले परिपक्व हुन्छन् । हरेक कुरालाई सन्तुलित ढंगले हेर्छन् । सबैप्रति समान व्यवहार दर्शाउँछन् । आफ्नो उत्तरदायित्व बहन गर्छन् । आयआर्जनको काममा संलग्न हुन्छन् । आपसी मतभेदलाई व्यवहारिकरुपले सल्टाउँछन् । पारिवारिक संस्कार र माहौलमा रमाउँछन् ।

सधैं हाँसीखुसी बस्छन्, आपसमा झै-झगडा गर्दैनन् । एकअर्काप्रति सम्मान भाव राख्छन् । पारिवारिक सुखलाई नै सर्वोत्तम सुख मान्छन्, बालबच्चासँग उत्तिकै हेलमेल गर्छन् । घरायसी वा व्यवहारिक काममा मिलेमतो गर्छन्, एकअर्काका आफन्तसँग सम्मानजनक व्यवहार गर्छन् । यस किसिमको दम्पती आफैमा लोभलाग्दा हुन्छन् ।

मान्छे सबै पूर्ण हुँदैनन् । श्रीमान् वा श्रीमती दुबै हरेक कुरामा सक्षम, सबल, सफल हुँदैनन् । उनीहरुवीच केही कमजोरी आवश्यै हुन्छ । उनीहरुबीच कतिपय कुरामा मतभेद पनि रहन्छ । यद्यपि एकअर्काको कमीकमजोरीलाई स्विकार्दै, आपसी मतभेदको सही समाधन खोज्दै उनीहरुले पारिवारिक जीवनको तालमेल मिलाउँछन् ।

दम्पतीको दायित्व

अहिलेका धेरैजसो दम्पती कामकाजी हुन्छन् । महंगी बढेको छ । घरखर्च धान्न गाह्रो छ । त्यसमाथि छोराछोरीको पठनपानठनमा उत्तिकै खर्च लाग्छ । बेलाबखत औषधी र उपचारमा पनि खर्च हुन्छ । पारिवारिक खर्चको आकार बढेको छ । सामान्य गर्जो टार्ने मात्र होइन, पारिवारिक सुख र सम्पन्नताका खातिर पनि खर्च गर्नुपर्ने अवस्था छ । मनोरञ्जन, घुमफिर आदिमा पनि खर्च गर्नुपर्ने अवस्था छ ।

यसरी परिवारको आर्थिक दायित्व बढेकाले गर्दा दम्पती नै आयआर्जनको काममा लाग्नुपर्ने बाध्यता छ । दुबै कामकाजमा लाग्ने भएकाले उनीहरुबीच भेटघाट, संवाद पनि पातलिन्छ । बालबच्चाका लागि समय निकाल्नु मुस्किल हुन्छ ।

अर्कोतिर आफन्त, इष्टमित्रसँग समय दिनुपर्ने हुन्छ । चाडपर्वमा पारिवारिक जमघट गर्नुपर्ने हुन्छ । बालबच्चालाई राम्रो शिक्षा दिलाउनका साथै बेलाबखत उनीहरुसँग रमाइलो समय बिताउनुपर्ने पनि हुन्छ ।

यी सम्पूर्ण अवस्थामा पनि दम्पतीले सबै क्षेत्रमा आफ्नो पूर्णतासाथ जिम्मेवारी वहन गरिरहेका हुन्छन् । सहभागिता जनाइरहेका हुन्छन् । यस किसिमका दाम्पत्य जीवन सुखमय हुन्छ । श्रीमान्-श्रीमती मात्र होइन, उनीहरुका सन्तान, आमाबुवा, आफन्त पनि खुसी हुन्छन् । सन्तुष्ट हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment