Comments Add Comment

बिसन्चोको साथी ‘सन्चो’

१ भदौ, काठमाडौं । कोटेश्वरबाट भक्तपुरतर्फ लाग्दा पेप्सीकोला चोकमा फिक्का पहेँलो रंगको एउटा पुरानो भवन देखिन्छ, जसको साइनबोर्डमा लेखिएको छ- जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड । यही कम्पनीले बनाउँछ सन्चो ।

यो कम्पनी रहेको क्षेत्रको नाम नै ‘जडिबुटी’ रहन गएको छ । ‘जडिबुटी’मा बन्ने सन्चो सरकारको सीमित सफल ‘ब्रान्ड’मध्ये एक हो । कुनैबेला नेपाल औषधि लिमिटेडको ‘सिटामोल’ जति लोकप्रिय थियो, अहिले त्यति नै सन्चो छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि उदार अर्थतन्त्र र निजीकरणको नीति लिएपछि सरकारी ब्रान्डहरुले साख गुमाउन थाल्दा जन्मिएको हो ‘सन्चो’ ।

३८ वर्षअघि स्थापना भएको यो कम्पनीले २०५६ मंसिरबाट सन्चो उत्पादन गर्न थालेको थियो । त्यसबेला वार्षिक १० हजार गोटा सन्चो उत्पादन गर्ने लक्ष्य थियो ।

सन्चोले दिएको ‘सन्चो’

पछिल्लो सययमा निजी क्षेत्रको दबदबा बढ्दै गर्दा सरकारी कम्पनीहरु धरासायी बन्दै गए । यस्तो अवस्थामा पनि सन्चोले सरकारी ब्राण्डमाथि जनविश्वास जोगाइराखेको छ ।

सन्चोबाट मनग्गे नाफा आर्जन नभएपनि कम्पनी टिकाउने प्रमुख उत्पादन यही भएको छ । त्यसैले यसलाई गर्व गर्न लायक सरकारी उत्पादनको रुपमा लिइएको छ ।

तर मागअनुसार बजारमा उपस्थिति जनाउन नसकेको उत्पादक कम्पनीका महाप्रवन्धक ज्ञानेश्वर कार्की बताउँछन् । कम्पनीको प्रयोगविहीन सम्पत्ति र जनशक्तिको अवस्था मूल्यांकनको आधारमा सन्चोले गर्नसक्ने जति प्रगति नगरेको उनको निष्कर्ष छ । छ महिनाअघि महाप्रवन्धक भएर आएका कार्की भन्छन्, ‘मेरो कार्यकालमा सन्चोलाई नयाँ उचाइमा पुर्‍याउने तयारीमा जुटेको छु ।’

उनका अनुसार हरेक नेपालीले वर्षमा एउटा सन्चो प्रयोग गर्न सक्छन् भन्ने अनुमान गर्दा पनि नेपालभित्र प्रशस्त अवसर देखिन्छ । त्यसकारण, पहिले नेपालमा मागअनुसार उत्पादन गरेर त्यसपछि बाहिरको बजारबारे सोच्ने कार्की बताउँछन् ।

सन्चोको ‘बिसन्चो’

कम्पनीको व्यवस्थापकीय क्षमता कमजोर हुँदा २० वर्षमा पनि बजारमा सन्चो सर्वसुलभ हुन पाएन । यो अवधिमा सन्चोले अनेक हन्डर खानु पर्‍यो । सन्चोको उत्पादन रोक्न विभिन्न किसिमका दुस्प्रयास भए । केही वर्षअघि विभिन्न देशबाट माग आउँदा केही ब्यापारीले सन्चोको ब्रान्ड दुरुपयोगसमेत गरे ।

नक्कली सन्चो बनाएर भारतबाट विभिन्न मुलुक पुर्‍याएको पुष्टि भएपछि कम्पनीले आफ्नो उत्पादनमा सावधानी अपनायो । ‘अहिले पनि सन्चोजस्तै उत्पादनहरु बजारमा छन्’, कार्की भन्छन्, ‘त्यस्तो उत्पादन हातमा पर्दा ‘मलाई सन्चो नै दिनुस्,’ भन्ने ग्राहकहरुका कारण हामी टिकिराखेका छौं ।’

सन्चो नेपालको मौलिक आयुर्वेदिक उत्पादन हो । यसको जन्म नेपालकै मेन्था, युकालिप्टस (मसला), कपुर, धसिंग्रे, तुलसी, टिमुर र लेमनग्रासमा विभिन्न सुगन्धित तेलको मिसावटबाट हुन्छ । प्राकृतिक जडिबुटीहरुको समिश्रणका कारण यो विभिन्न स्वास्थ्य समस्याको अचूक समाधान बन्न पुगेको छ ।

यसलाई एलोपेथिक ‘पेन किलर’को विकल्प बनाउनेदेखि शरीरलाई फुर्तिलो राख्न बाफ लिनेसम्म प्रशस्तै छन् । सन्चो चलाउन डाक्टरको ‘प्रेस्त्रिmप्सन’ चाहिँदैन । रुघाखोकी लाग्दा र शरीरका विभिन्न भाग दुख्दा मात्र होइन, अरु किसिमका बिसन्चो महसुस हुँदा पनि यसको प्रयोगबाट ज्यानमा आराम महसुस हुने प्रयोगकर्ता बताउँछन् ।

बजारको चिन्ता छैन

कम्पनीले सन्चो, बाम (भिक्स), हिमालय मसाज तेल र शिलाजित उत्पादन गर्छ । यीमध्ये सन्चोको माग सबभन्दा बढी छ । समस्या एउटै छ-कम उत्पादन । अहिले वर्षमा ३३ लाख गोटा सन्चो उत्पादन हुन्छ, जुन मागको तुलनामा ६ गुणाले कम हो ।

कम्पनीले अबको वर्ष उत्पादन बढाएर एक करोड पुर्‍याउने योजना ल्याएको छ, कार्यतालिकासहित । ‘डिलरहरु एक करोड गोटा किन्न तयार छन्, बजारको डर रत्तिभर छैन,’ महाप्रवन्धक कार्की भन्छन्, ‘चुनौती लक्ष्यअनुसार उत्पादन गुर्नमा छ ।’

महाप्रवन्धक कार्की ।

एकै वर्षमा करिब तीन गुणा उत्पादन बढाउन सजिलो छैन । सुगन्धित तेल उत्पादन २० टनमा ३७ टन थप्नुपर्छ । यसका लागि जडिबुटी खेती र संकलन बढाउनुका साथै तेल कारखानालाई पूर्ण क्षमतामा चलाउन सक्नुपर्छ ।

कम्पनीसँग बाराको तामागढमा ५०० बिघा, मोरङको बेलबारीमा ७० हेक्टर, सुनसरीको तरहरामा २५ हेक्टर र कैलालीको टिकापुरमा साढे चार बिघा जमिन छ । जडिबुटी खेतीका लागि कम्पनीले पाएको यी सबै जमिन प्रयोगमा आएको छैन । जमिनको पूर्ण उपयोगबाट सन्चोको उत्पादन बढाउने बताउँदै महाप्रवन्धक कार्की भन्छन्, ‘अब सन्चोको प्याकेजिङ पनि नयाँ हुन्छ ।’

नयाँ प्याकमा आएपछि सन्चो ‘आकर्षक र उपयोगी उपहार’को रुपमा पनि लोकप्रिय बन्ने उनको विश्वास छ ।

सन्चोको उत्पादन हालसम्म हाते काममा निर्भर छ । कामदारहरुले सन्चोको घोल सिरिन्जले तानेर सिसीमा भर्छन् । कम्पनीले अब यो कामका लागि मेसिन भित्र्याउने तयारी गरेको छ । त्यसका लागि छिट्टै टेन्डर गर्ने महाप्रवन्धक कार्कीले बताए ।

पर्फ्युम योजना पनि

कम्पनीले अब १३ प्रकारका तेल उत्पादन गर्ने तयारी थालेको महाप्रवन्धक कार्की बताउँछन् । सन्चोको भरमा टिकेको कम्पनीका अन्य उत्पादनको बजार कमजोर छ । भारतीय ब्रान्ड ‘पतञ्जली’ले बजार पिटिरहेका बेला यो कम्पनीलाई सन्चो बाहेकको उत्पादनमा पनि ध्यान दिनुपर्ने दबाव छ ।

प्रतिलिटर ५० हजार रुपैयाँसम्म पर्ने केमोमाइल, पामारोजालगायतका तेल बेचिरहेको यो कम्पनी सन्चोजस्तै ‘हिट’ हुने गरी अत्तर (पर्फ्युम) पनि उत्पादन गर्ने गृहकार्यमा छ । बनस्पती विभागसँगको सहकार्यमा आगामी एक वर्षमा पर्फ्युमको परीक्षण उत्पादन गर्ने महाप्रवन्धक कार्की बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment