Comments Add Comment

तपाईं किन रमाउनुहुन्न ?

तपाईं के कुरामा रमाउनुहुन्छ ? कसरी रमाउनुहुन्छ ? एकपटक सोच्नुहोस् त । आफूलाई रमाइलो लाग्ने चिजहरुको सूची तयार गर्नुहोस् । अतः तपाईं कुन कुराले रमाउनुहुन्छ भन्ने विषयले तपाईंको स्वभाव, प्रवृत्ति, लक्ष्य आदि पनि थाहा हुन्छ ।

मानौं तपाईं मिठो मसिनो खान पाएमा खुब रमाउनुहुन्छ । उन्मुक्त भएर घुमफिर गर्न रमाउनुहुन्छ । किनमेल गर्न पाएमा रमाउनुहुन्छ । नयाँ पहिरन लगाउन पाएमा रमाउनुहुन्छ । कसैले केही उपहार दिएमा रमाउनुहुन्छ । आर्थिक लाभ मिलेमा रमाउनुहुन्छ ।

रमाउनेका अनेक बाहना छन् । यद्यपि हामी आफ्नो-आफ्नो प्राप्तिमा रमायौं । यी सबै खुसीका स्रोत हाम्रो प्राप्ति थिए । हामीले केही पायौं र रमायौं ।

त्यागमा हामी कति रमाउँछौं ?

मानौं आपत-विपतमा परेका व्यक्तिको उद्धार गर्नुभयो । कुनै दुःख-विराम परेका व्यक्तिलाई आर्थिक सहयोग गर्नुभयो । बाटोमा हिँड्दै गरेका दृष्टिविहीनलाई उनको गन्तव्यसम्म डोहोर्‍याउनुभयो । सडकका चौपाया, पशुपंक्षीलाई केही खुवाउनुभयो । यी कुरामा तपाईं पनि त रमाउनुहुन्छ ।

यद्यपि तपाईं/हामी प्राप्तिमा बढी रमाउने गर्छौं । त्याग वा समर्पणमा खुसी खोज्ने प्रवृत्ति हामीसँग कम छ । जबकी प्राप्तिमा हामीमा जति उमंग आउँछ, उत्ति नै त्यागमा पनि । समर्पणमा पनि ।

रमाउनका लागि हामीसँग अनेक बाहना छन् । जे गरेर पनि, जसरी पनि रमाउन सकिन्छ । कुनै ठोस उपलब्धी हासिल हुँदा मात्र रमाउने भन्ने कुरा हुँदैन । कसैले केही दिएमा, कतैबाट केही प्राप्त भएमा मात्र रमाउने कुरा हुँदैन । हामी जहाँ छौं, जे गरिरहेका छौं, जे सोचिरहेका छौं त्यसमै पनि रमाउन सकिन्छ । रमाउनु अर्थात खुसी हुनु ।

यो एक मानसिक अवस्था हो । मनको अवस्था हो । त्यसैले बाहिरी कुरा भनेका मात्र बाहना हुन् । जस्तो- कसैले तपाईंलाई मिठो खानेकुरा खुवाउँछ । उनीप्रति तपाईं कृतज्ञ रहनुहुन्छ र मिठो स्वादले तपाईं रमाउनु हुन्छ । ठीक त्यसैगरी तपाईंले अरु कसैलाई मिठोमसिनो खानेकुरा खुवाउनुहुन्छ । उनले बडो स्वाद मान्नेछन् । त्यसबेला पनि त तपाईं रमाउनुहुनेछ । अर्थात् तपाईंले खानुभएन, तर पनि रमाउनुभयो ।

हामी लिएर रमाउँछौं, दिएर पनि रमाउँछौं । रमाउनुसँग हाम्रो स्वभाव वा प्रवृत्ति पनि जोडिएको छ । हामी खुला हृदयले सोच्छौं, सबैसँग सौहार्द्धपूर्ण व्यवहार गर्छौं, सबैप्रति सदीक्षा राख्छौं भने हामीसँग रमाउने स्रोत अनन्त हुनेछन् । रमाउने स्रोतको भण्डार नै हुनेछ । यस्तो बेला हामी अरुले खाएको देखेर, अरुले प्रगति गरेको देखेर पनि रमाउन सक्छौं । यद्यपि हाम्रो मन संकुचित छ । हामी संकिर्ण र लोभी छौं भने ठीक यही कुराले हामीलाई दुःखी बनाउँछ । चिन्तित तुल्याउँछ ।

रमाउनु मानसिक र शारीरिक स्वास्थ्यको लक्षण पनि हो । जब हामी उन्मुक्त रमाउँछौं, हाम्रो मन स्थिर र शान्त हुन्छ । हृदयको गति सन्तुलित हुन्छ । चिन्तामुक्त रहन्छौं ।

वर्तमान समाजले झेलिरहेको ठूलो समस्या हो, चिन्ता । तनाव । जो कोही तनावग्रस्त छन् । तनावकै कारणले मान्छे रोगी हुँदैछन् । कसैलाई उच्च रक्तचाप छ, कसैलाई डिप्रेसन । यी रोगहरु हाम्रो चिन्ता, उदासीपनले निम्त्याएका हुन् । यदि हामी प्रफुल्ल रहने, रमाउने हो भने यस्ता थुप्रै रोगबाट हामी मुक्त रहनेछौं ।

जबकी हामी जुनसुकै कुरामा रमाउन सक्छौं । आफू सहयोग गर्ने हैसियतमा पुगेको वा आफुमा सहयोगी भावना रहेको कुराले तपाईं आफैसँग दंग पर्न सक्नुहुनेछ । हिँड्दा, बोल्दा, काम गर्दा जुनसुकै बेला हामीले केही न केही यस्ता बाहना फेला पार्छौं, जसमा हामीलाई रमाउन मन लाग्छ । यस्ता स्रोत अनन्त छन् ।

हामी कुनै काम गर्छौं । काम गरिरहँदा प्राय दबाव महसुस गर्छौं । तर, आफ्नो कामलाई तपाईंले आफ्नो रुचि र आकांक्षासँग जोड्नुहोस् । तपाईंले आफ्नो काम गरिरहँदा कामको बोझ अनुभव गर्नुहुने छैन । बरु त्यसको सम्भावित नतिजाबाट तपाईं उत्साहित रहनुहुनेछ । उत्साहले तपाईं रमाउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment