Comments Add Comment

के तपाईंको पनि आफैंलाई शंका गर्ने बानी छ ?

मानिसलाई सफल हुनका लागि धेरै कुराहरु आवश्यक पर्दछ । ती धेरै कुराहरुमध्ये आत्मविश्वास अथवा आफूमा भरोसा हुनु सबैभन्दा महत्वपूर्ण कुरा हो । तपाईंलाई स्वयंमा भरोसा भएको खण्डमा मात्र जीवनलाई सही ढंगले अगाडि बढाउन सक्नु हुन्छ ।

यदि तपाईं आफैं आफ्नो सबैभन्दा ठूलो आलोचक हुनुहुन्छ भने जीवन नीरस बन्न सक्छ । किनभने यो संसारमा त्यस्ता धेरै व्यक्तिहरु छन् जसले तपाईंलाई तल झार्न खोज्छन् । त्यसकारण तपाईंले आफूलाई आलोचना गर्दै के म सही गर्दैछु ? के म राम्रो छु ? भन्ने प्रश्नहरु कहिलेकाहीँ उठ्नु त सामान्य कुरा हो, तर तपाईंले हरेक दिन आफूमा कमी-कमजोरी भएको अनुभव गर्नु हुन्छ भने त्योचाहिँ गम्भीर कुुरा हुनसक्छ । किनभने आफूले आफैंलाई सधैंभरी शंका गरिरहनु राम्रो कुरा होइन । आफूमा आत्मविश्वासको कमी छ भन्दै हिँड्नु पनि उचित होइन ।

कतिपय मानिसहरुलाई आफूले गरेको काम ठीक हो अथवा होइन भन्ने कुरासमेत हेक्का हुँदैन । त्यसैले उनीहरुले कुनै नयाँ काम गर्नुअघि धेरै जनासँग राय लिने गर्दछन् । त्यसकारणमात्र कुनै निर्णय गर्न सक्छन् ।

जागिर परिवर्तन गर्ने कुरा होस् अथवा प्रेमी-प्रेमिकाको व्यवहार अनुमान गर्ने कुरा होस्, कतिपय मानिसहरु आफैंले निर्णय लिन सक्दैनन्, निर्णय लिनका लागि अरुको सल्लाहको प्रतिक्षा गर्छन् । यो पनि राम्रो कुरा होइन । यसले तपाईंमा आत्मविश्वास कम छ भन्ने कुरा दर्शाउँछ ।

शंकाको कारण

मनोचिकित्सकहरुको भनाइअनुसार आफैंप्रति शंका गर्नु पर्ने धेरै कारणहरु हुन सक्छन् । उदाहरणको लागि हामी कसरी हुर्किएका छौं भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । कुनै पनि व्यक्तिको व्यक्तित्वमा उनको लालनपालनको तरिकाले पनि निकै प्रभाव पार्न सक्ने मनोविदहरुको भनाइ छ । एक मनोविदको भनाइ छ- यदि तपाईंको आमा-बुवाले सधैं तपाईंको आलोचना गरिरहन्थे र तपाईंलाई कुनै पनि जिम्मेवारी दिएका थिएनन् भने आजसम्म पनि तपाईंलाई आफ्नै योग्यताप्रति भरोसा नहुन सक्थ्यो ।’

कहिलेकाहीँ आमा-बुवाले उनीहरुको सन्तानको भलाइका लागि बाल्यकालदेखि नै हरेक काम सोधेरमात्र गराउन खोज्छन् । उनीहरुको अनुमतिविना छोराछोरीले कुनै पनि काम नगरुन् भन्ने चाहना हुन्छ । त्यसको परिणाम के हुन्छ भने छोराछोरी ठूला भैसके पनि पनि त्यही बानी जारी रहन्छ । जागिर परिवर्तन गर्ने, प्रेमी-प्रेमिका छनोट गर्नेदेखि लिएर बिहेका लागि योग्य व्यक्ति खोज्ने कुरामा समेत उनीहरु अभिभावककै मुख ताक्न बाध्य हुन्छन् ।

धेरै व्यक्तिहरु आफ्नो निर्णयमा बारम्बार पुनर्विचार गर्छन् । यसको प्रमुख कारण यस्ता व्यक्तिको मस्तिष्कमा सेरोटोनिनको स्तर कम हुन्छ । औषधि र साइकोथेरापी माध्यमबाट यस्तो समस्याको समाधान गर्न सकिन्छ ।

जीवनमा आफूलाई परेको गहिरो मानसिक चोटको कारणले पनि मानिसले आफूलाई नै शंका गर्ने र आत्मविश्वास कमी हुन पुग्छ । त्यो बेला उसले कुनै पनि निर्णय लिए पनि त्यसले पुनः चोट दिने हो कि भन्ने शंका उत्पन्न हुन्छ । जस्तै कुनै व्यक्तिले परिवारको अनुमतीविना विवाह गर्नु, आफूले रोजेको व्यक्तिलाई राम्रोसँग चिन्न नसक्नु र केही समयपछि आफ्नो निर्णय गलत भएर छोटो समयमा नै सम्बन्ध विच्छेद हुनु यसका उदाहरणहरु हुन् । घरपरिवारले यो कुरालाई लिएर पटक-पटक वचन लगाउनु जस्ता कुराले पनि कतिपय व्यक्तिहरु मान्छे कस्तो छ भनेर चिन्न असमर्थ हुन्छन् ।

हरेक कुरा गरेपछि त्यसमा पुनः विचार गर्नु सामान्य कुरा होइन । तपाईंले त्यसको सामना गरेर स्वयंलाई सक्षम बनाउन आवश्यक छ । जसले तपाईंलाई राम्रो सम्बन्ध बनाउने मौका प्राप्त हुन्छ ।

आफूलाई श्रेय दिन सिक्नुहोस्, स्वयंमा विश्वास राख्नुहोस् । आफूले गरेको राम्रो निर्णयमा स्वयंलाई श्रेय दिनुहोस् । प्रोत्साहित गर्ने व्यक्तिको बीचमा रहनुहोस्, यदि तपाईंको साथी अथवा शुभचिन्तकले तपाईंको बारेमा कुनै राम्रो कुरा भन्छन् भने उनीहरुको कुरामा विश्वास गर्नुहोस् । सकारात्मक कुराहरु सुनेर त्यसमा भरोसा गरेर तपाईं आफूभित्रको सन्देहलाई हटाउन सक्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment