Comments Add Comment

ओलीले अध्यक्ष नछाड्ने, प्रचण्डले एक्लै नखाने !

माधव नेपाललाई केपी ओलीको जवाफ- अध्यक्ष छाड्दिनँ

१ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्षनेताबीच आइतबार बालुवाटारमा चर्काचर्की भयो । पूर्वप्रधानमन्त्री माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई अध्यक्ष पद छाडेर प्रधानमन्त्रीको मात्र जिम्मेवारी सम्हाल्न आग्रह गर्नासाथ प्रचण्डले दुबै पदमा ओलीलाई समर्थन गरे ।

यसअघि प्रचण्डले आलोपालोको कुरो झिक्दै प्रधानमन्त्री र अध्यक्ष एक/एकजनाले चलाउनुपर्ने अडान राख्दै आएका थिए । आइतबार यही विषयमा माधव नेपालले कुरा उठाएर प्रचण्डलाई अध्यक्षको जिम्मेवारी दिन आग्रह गर्दा प्रचण्ड स्वयं ओलीतिरै लागेकोे माधव नेपाल पक्षको गुनासो छ ।

माधव नेपालले ओलीसँग मागिदिँदा पनि प्रचण्डले एकल अध्यक्ष खान अरुची देखाएको र ओलीसँगै समर्पित भएको नेकपा उच्च स्रोतले बतायो ।

अध्यक्ष प्रचण्डसँगै नेता बामदेव गौतमले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएपछि माधव नेपाल बैठकमा एक्लिएको एक नेताले बताए ।

आइतबार अपराहृन प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै चार घन्टा बसेको बैठकमा शीर्ष नेताहरुबीच पटक-पटक वादविवाद भएको थियो । बैठकमा औपचारिकरुपमै वरिष्ठतामा झलनाथ खनाललाई अगाडि र माधवकुमार नेपाललाई पछाडि राख्ने प्रस्ताव आएपछि विवाद सुरु भएको थियो ।

‘प्रचण्डलाई अध्यक्ष छाड्नुस्’

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई अध्यक्ष पद छाड्न आग्रह गरे । एउटै व्यक्ति प्रधानमन्त्री र अध्यक्ष दुबै पद लिन नहुने भन्दै उनले ‘सरकार तपाई चलाउनुस्, पार्टी प्रचण्डले चलाउनुहुन्छ’ भनेको एक नेताले अनलाइनखबरलाई बताए ।

जवाफमा ओलीले ‘तपाईले भनेर हुन्छ ? म (अध्यक्ष पद) छोडि्दनँ’ भनेका थिए ।

त्यहीबेला अर्का अध्यक्ष प्रचण्डले पनि ओलीलाई नै साथ दिए । उनले बैठकमा भने, ‘त्यसो नगरौं, यो ओलीजीको खुसीको कुरा हो । हामीले निर्णय गरेर हुँदैन ।’

यसअघि प्रचण्ड स्वयंले आलोपालो प्रधानमन्त्रीको सहमति भएको उल्लेख गर्दै ओलीले सरकार चलाउने हो भने आफूलाई पार्टी चलाउन दिनुपर्ने माग गर्दै आएका थिए ।

बरियताको लफडा

आइतबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको तेस्रो वरियता खोसेर झलनाथ खनाललाई दिने प्रस्ताव आएपछि शीर्ष नेताहरुबीच पटक-पटक जुहारी चल्यो ।

नेता नेपालले आफूभन्दा अगाडि खनाललाई राख्दा कुनै आपत्ति नभएको बताए । तर, पार्टी अध्यक्ष ओलीले अहिले आफूसँग बदला लिन यो प्रस्ताव ल्याएको उनले गुनासो गरे ।

‘पार्टी एकता गर्दा झलनाथ खनालसँग बदला लिनुभयो । त्यसैले वरिष्ठ नेता नै दिन चाहनुभएको थिएन । मैले र बामदेव गौतमको जोडमा मात्र मान्नुभयो’ नेता नेपालले बैठकमा भनेका छन्, ‘अहिले मसँग बदला लिन झलनाथजीलाई अगाडि सार्नुभएको छ ।’

वरियताको विवादमा आफूले नभई अध्यक्ष ओलीले त्रुटी स्वीकार गर्नुपर्ने नेपालको माग थियो ।

तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डपछि तेस्रो वरियतामा वरिष्ठ नेता नेपाललाई राखिएको थियो । यो घोषणा हुँदा चीन भ्रमणमा रहेका नेता खनालले त्यसमा असहमति जनाउँदै तेस्रो वरियता आफूले पाउनुपर्ने माग गरेका थिए ।

झण्डै डेढ वर्षसम्म खनालको माग सुनुवाइ भएको थिएन । तर, नेकपाको आन्तरिक समीकरणमा एकाएक उथलपुथल आएसँगै खनालको माग सम्बोधन भएको छ ।

डेढ वर्षसम्म प्रचण्ड, नेपाल, खनालसँगै वामदेव गौतम र नारायणकाजी समूह एक ठाउँमा उभिएका थिए । यसले ओली सचिवालयमै अल्पमतमा परेका थिए । तर, अहिले प्रचण्डसँगै गौतम र खनाल ओलीतिर लागेपछि नेपाल उक्लिएका छन् ।

आइतबारको बैठकमा नेता नेपालले तत्कालीन एमालेमा उपाध्यक्षभन्दा तल रहेका नेताहरु नेकपाको सचिवालयमा रहेको भन्दै त्यो त्रुटी सच्याउन पनि प्रस्ताव राखेका छन् । यद्यपि यो आफ्नो वरियता हेरफेरका लागि सर्त नभएको प्रष्ट पारे ।

नेता नेपालको माग सम्वोधन भएमा तत्कालीन एमालेमा उपाध्यक्ष रहेका अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीलाई नेकपाको सचिवालयमा ल्याउनुपर्ने हुन्छ ।

किनकि तत्कालीन एमालेमा पाँच उपाध्यक्ष थिए, उनीहरु मध्ये एक विद्या भण्डारी राष्ट्रपति भइसकेकी छन् भने गौतम सचिवालयमा छन् । गौतमलाई नेकपाको उपाध्यक्षसमेत बनाउने प्रस्ताव आइसकेको छ । तत्कालीन महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल हाल सचिवालयमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment