Comments Add Comment

भोटेकोसीको बाढीले रसुवाको बेलिब्रिज बगायो

२ भदौ, काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीले रसुवामा बेलिब्रिज बगाएको छ ।

अविरल वर्षापछि आइतबार एक्कासि आएको बाढीले टिमुरे भन्सार कार्यालय/सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले एक्कासी नदीमा आएको बाढीले सडक कटान गरेपछि बेलिब्रिज बगाएको अनलाइनखबरलाई जानकारी दिए ।

पुल बाढीले बगाएपछि रसुवागढी सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ आवतजावत गर्ने सहायक मार्ग सम्पर्क विच्छेद भएको छ । प्रजिअ भण्डारीका अनुसार, अब टिमुरेभन्दा तल रहेको तातोपानी पुल प्रयोग गर्नुपर्ने बाध्यता आइलागेको छ ।

बाढीले रसुवा भन्सार र जलविद्युत् आयोजनाको सामान बोक्न प्रयोग हुँदै आएका करिब ३ दर्जन गाडी जोखिममा परेका थिए । तर, राति नै नदी किनाराका गाडी सुरक्षित स्थानमा सारिएकाले थप क्षति हुनबाट जोगिएको प्रशासनले जनाएकाे छ ।

‘तिब्बतबाट बगेर आउने भोटेकोसीको सतह एक्कासि ५ मिटरसम्म बढ्यो । त्यसलगत्तै भन्सारमा रहेका ट्यांकरलाई राति नै सुरक्षित स्थानमा सारियो’, रसुवाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अर्जुन भण्डारीले भने ।

अविरल वर्षापछि भोटकोसीमा गएराति बाढीको बहाव एक्कासि बढेको थियो । सम्भावित दुर्घटनालाई मध्यनजर गरेर प्रशासनले पावर हाउसको पावरसमेत कटअफ गरेको थियो ।

नदीमा बहाव बढेपछि स्वाफ्रुबेसी, गुमचेत, मैलुङ, पहिरोबेसी, शान्तिबजारदेखि खाल्डेसम्मका वस्ती जोखिममा परेपछि त्यहाँका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सारेको थियो ।

बाढीको बहाव राति बढे पनि अहिले अवस्था सामान्य रहेको प्रजिअ भण्डारीले जानकारी दिए ।

राति नदीमा एक्कासि बढेको बहावले केही बस्तीहरु जोखिममा पर्ने खतरा बढाएको थियो । तर नदीको बहाव कम भइसकेकाले अहिले त्यस्तो कुनै खतरा छैन’, प्रजिअ भण्डारीले त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिँदै अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment