Comments Add Comment

रणहारले यसकारण जित्यो मदन पुरस्कार

२ भदौ, काठमाडौं । सबै अनुमानलाई चिर्दै इतिहासकार योगेश राजको उपन्यास ‘रणहार‘ ले २०७५ सालको मदन पुरस्कार प्राप्त गरेको छ ।

मदन पुरस्कारको उत्कृष्ट सुचीमा परेका ७ पुस्तकमध्ये धेरैजसो समीक्षकले भारतीय गोर्खाहरुको आन्दोलनको कथा भन्ने ‘फातसुङ् र मोटर न्युरोन रोगका कारण एक औंलाले लेखिएको ‘मरिचिका’ पक्षमा पत्रपत्रिकामा समीक्षात्मक टिप्पणीहरु लेखेका थिए ।

लगातार यी पुस्तकको समीक्षा लेखेर समालोचकले अप्रत्यक्ष रुपमा ती दुईमध्ये एक पुस्तकलाई मदन पुरस्कार दिन दबाव दिएको अनुभव पाठकले गरिरहेका थिए र यी दुईमध्ये एउटाले उक्त पुरस्कार पाउने अनुमान गरिरहेको थिए ।

तर, यी सबै अड्कललाई पछि पार्दै ‘रणहार‘ ले मदन पुरस्कारको प्रशास्ती पाउने भएको छ । यसका लेखक योगेश राज यसकारण पनि भाग्यमानी सावित भए, पुरस्कारको राशी गत वर्षको तुलनामा दोब्बर भएको छ भने उनी इतिहासकारका साथमा अब साहित्यकारका रुपमा स्थापित भएका छन् ।

वि.सं. ०१३ सालदेखि वितरण गरिँदै आएको मदन पुरस्कार निजी क्षेत्रको सबैभन्दा प्रतिष्ठित पुरस्कार हो । यही कारण यो पुरस्कार प्राप्त गर्ने पुस्तक र यसका लेखकका विषयमा चर्चा हुनुलाई सामान्य मानिन्छ ।

किन पायो रणहारले पुरस्कार ?

गुठीले वितेका पाँच वर्षयता मदन पुरस्कारका लागि उत्कृष्ट पुस्तकहरुको सूची सार्वजनिक गर्दै आएको छ । ती सूची मध्येबाट एउटा पुस्तकलाई वर्षको सर्वोत्कृष्ट पुस्तकका रुपमा पुरस्कृत गरिन्छ ।

यसैलाई निरन्तरता दिँदै यो वर्ष सानु शर्माको कथा संग्रह ‘एकादेशमा’, विन्दु शर्माको कविता सङ्ग्रह ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको लघु उपन्यास ‘ज्ञ’, छुदेन काविमोको उपन्यास ‘फातसुङ’, महेश थापाको कथा सङ्ग्रह ‘मरिचिका’, योगेशराजको उपन्यास ‘रणहार’ र ध्रुव सापकोटाको कथा सङ्ग्रह ‘विचारको लास’लाई गुठीले ‘वर्ष ०७५ का उत्कृष्ट पुस्तकको सूची’ मानेर सार्वजनिक गरेको थियो ।

यीमध्ये २५० वर्षअघि भक्तपुर सहर र यसका राजा रणजीत मल्लको जीवन वर्णन गर्ने पुस्तक ‘रणहार‘लाई मदन पुरस्कार दिइएको हो । समीक्षकहरुका अनुसार यो पुस्तकले मदन पुरस्कार जित्नुको मुख्य कारण नै दुई सय पचास वर्षअघिको नेपाली कथालाई अहिलेका पाठकलाई पस्केका कारण नै यसले मदन पुरस्कार प्राप्त गर्न सफल भएको हो ।

यो पनि पढ्नुहोस यसपटकको मदन पुरस्कार : लेखकले जित्लान् कि विषयले ?

‘यति पुरानो विषयलाई आख्यानीकरण गर्न सक्नु नै रणहारको सफलता हो’ प्राध्यापक राम लोहनी भन्छन्, ‘दुई सय पचास वर्षको अघि भक्तपुरमा भएका थोरै थोरै घटना हामीलाई छ । तर, त्योबेलाको दरबार, त्यहाँका भारदार, भक्तपुरे जनताको मनस्थिति कस्तो थियो भन्ने कुरा कल्पना गर्दै पुस्तकमा उतार्नुचाहिँ पाठकका लागि नौलो हो । यही नौलो पनका कारण यो पुस्तकले पुरस्कार पाएको हुनुपर्छ ।’

पुस्तकमा तत्कालीन दरबारिया वातावरणलाई केस्रा केस्रा गरी केलाइएको छ । तर, यो राणाकालीन दरवार वा शाहकालीन दरबार जस्तो लाग्दैन । लेखकले दरबारको चित्रण गर्दा दुई सय वर्षको चेतनालाई आधार बनाएका छन् ।

‘दरवारको खानेपानीको इनार र अन्य जनताको इनारमा फरक नहुनु, आम जनताको स्तरभन्दा थोरै मात्र माथिल्लो अवस्था दरबारको हुनुले पनि त्यो बेलाको वातावरणको चित्रण भएको छ’ सान्तनु शर्मा भन्छन्, ‘यो पुस्तकको राम्रो पक्ष भन्नु नै यसको ग्राफिक हो । जसले पुरानो भक्तपुर जीवन्त प्रतीत भएको छ ।‘

लोहनी पनि पुस्तकको सबैभन्दा सशक्त पक्ष यसको ग्राफिकलाई मान्छन् । इतिहासलाई आधार बनाएर लेखिने आख्यानका आफ्नै जटिलताहरु छन् । यसमा कलम चलाउन इतिहासको जानकारी त हुनैपर्छ, त्यसबाहेक लेखनमा आख्यानशैलीले तान्न सक्नुपर्छ । डायमन्ड शमशेर राणाले सुरु गरेको ऐतिहासिक उपन्यासको बिँडो थाम्दै लेखिएको ‘रणहार’ उपन्यासले एउटा अभागी राजाको कथा भन्छ ।

पृथ्वीनारायण शाहलाई मितछोरा बनाएर उपत्यकामा स्वागत गरेका रणजित मल्ल अन्ततः यिनै मितछोराका कारण राज्य मात्र गुमाउनुपरेन, अन्तिम अवस्था त्यही छोराको हातबाट बन्दी हुनुप‍र्‍यो । जेल मुक्त हुनका लागि उनले काशी जाने इच्छा राखे । बुढेशकाल र रोगी शरीरका कारण काशीमा पनि दुःखद अवस्थामा डेढ वर्षपछि उनको मृत्यु हुन पुग्यो ।

उपन्यास भए पनि यो कतिपय ठाउँमा पुस्तक इतिहासकै पुस्तकजस्तो भान हुन्छ । पुस्तकले अन्य आख्यानजस्तो पृथ्वीनारायण शाह वा रणजीत मल्ल कसलाई नायक बनाउन खोजेको हो भन्ने कुरा स्पष्ट हुँदैन । यो पुस्तक इतिहासले काट्न नसकेको तर तथ्यले भन्न नसकेको कुरालाई घोलेर लेखिएको पुस्तक हो ।

कमजोरी पनि छन्

मदन पुरस्कार पाए पनि ‘रणहार‘ पूर्ण पुस्तक नभएको आरोप कतिपयको छ । समीक्षकहरुका अनुसार पुस्तक आख्यान कम
इतिहासको पुस्तक बढीजस्तो प्रतीत हुन्छ । ‘आख्यान भनेपछि त्यो पूर्ण आख्यान जस्तो हुनुपर्दथ्यो’ सान्तनु भन्छन्, ‘यो पुस्तक आख्यान कम इतिहासको पुस्तक बढी लाग्छ । इतिहास भनौं भने यसमा प्रशस्त काल्पनिकता छ । पात्रहरु काल्पनिक छन् तर त्यसलाई आख्यानीकरण गर्न सकिएको छैन ।’

यता राम लोहनी भने पुस्तक अध्ययन गर्दा धीमा गतिमा अघि बढ्ने भएकाले पाठक सुरुदेखि नै पूर्ण आकर्षित हुन नसक्ने दावी गर्छन् । ‘जुन किसिमको क्राप्ट छ, त्यस किसिमले कथा अघि बढ्दैन । शब्दहरुलाई लेखकले राम्रोसँग खेलाउन नजान्दा पढ्न जति आनन्द आउनु पर्ने हो, त्यो आउँदैन ।‘

समीक्षकले रणहारलाई सुन्दर विषयलाई राम्रोसँग अध्ययन गरेको तर त्यसलाई उच्च गतिमा कुदाउन नसकेको उपन्यास मानेका छन् । यो पुस्तकले मदन पुरस्कार पाउनुमा विषयको छनौट र त्यसको अध्ययनलाई नै महत्वपूर्ण मानेका छन् ।

रणहारलाई मदन पुरकार दिएर यसका निर्णयकहरुले आख्यान लेख्दा साहित्यकारहरुलाई गहन अध्ययन गर्नुपर्ने दबाव दिएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment