Comments Add Comment

प्रहरी कुट्ने पाण्डेपुर घटनाका २१ आरोपी अझै पक्राउ परेनन्

३ भदौ, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका– १ मा प्रहरीमाथि आक्रमण गर्ने तस्कर र तिनका समर्थक पक्राउ गर्न प्रहरीले सकेको छैन । घटना भएको ८ महिना बितिसक्दा पनि प्रहरीले आरोपित २९ मध्ये २१ लाई पक्रन नसकेको हो ।

गत पुस २ गते राति डिजेल तस्करलाई समात्न गएको प्रहरीमाथि तस्कर र तिनका स्थानीय समर्थकले उल्टै आक्रमण गरेका थिए । आक्रमणबाट प्रहरी सहायक निरीक्षकद्वय जय किशोर महतो, विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेम बहादुर राना, दीपककुमार भुजेल र प्रहरी जवान अर्जुन चौधरी घाइते भएका थिए । ६०/६० लिटरको दुई ग्यालिन डिजल बरामद गरेसँगै उनीहरूमाथि तस्कर र तिनका समर्थकले बाँस, काठको चिर्पटलगायतले आक्रमण गरेका थिए ।

ओरिया खोलाको पूर्वपट्टि किनारमा भएको घटनामा तस्कर र स्थानीय समर्थकले ५ राउण्ड गोली लोड भएको १६५१ ‘डी’ नम्बरको ३०४ राइफलसमेत खोसेका थिए ।

घटनालगत्तै प्रहरीले ज्यान मार्ने उद्योगमा ११ भारतीय नागरिकसहित २९ जनाविरुद्ध मुद्दा गरेको थियो । उनीहरूमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को ज्यानसम्बन्धी कसुरको दफा १८३ अनुसार कारबाहीको माग गरिएको छ । ऐनको दफा १८३ को उपदफा (१) मा कसैले ‘कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्नु हुँदैन ’ भनिएको छ । सोही दफाको उपदफा (२)मा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रहरीले घटनामा संलग्न नगिना राउत गद्दीलाई घटनालगत्तै नियन्त्रणमा लिएको थियो । उनी पुर्पक्षका लागि कारागारमा छन् । घटनाका आरोपी २५ वर्षीय अब्बुलेस राउत गद्दी, २८ वर्षीय नेजारुल राउत गद्दी, २५ वर्षीय आविद राउत, २८ वर्षीय सफरदिन राउत गद्दी र अफसर आलम अदालतमा हाजिर भई धरौटीमा रिहा भएका छन् । उनीहरूले १ लाख ५० हजार देखि २ लाख २५ हजारसम्म धरौटी बुझाएर रिहा भएका हुन् । अन्यलाई भने पक्राउ गर्न प्रहरीले सकेको छैन ।

स्थानीय केही व्यक्तिले सोही घटनामा प्रहरीले निर्दोषलाई फसाएको आरोप लगाएका छन् । वास्तविक दोषी गाउँघरमै हुँदा पनि प्रहरीले पक्राउ गर्न नसकेको उनीहरुको भनाइ छ । नेपाल पत्रकार महासंघ पर्सा शाखामा पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाका आरोपीमध्येका २५ वर्षीय अब्बुलेस राउत गद्दी, २८ वर्षीय सफरदिन राउत गद्दीलगायतले त्यस्तो बताएका हुन् ।

‘वडा अध्यक्ष मंगरु राउत गद्दीको दुई वटा छोरासहित ५ जना निर्दोष थिए, उनीहरुलाई घटनामा मुछिएको छ’, पत्रकार सम्मेलनमा नसरुल्लाह राउत गद्दीले भने ‘घटनामा संलग्नहरु गाउँमा खुलेआम घुमिरहेका छन् । प्रहरीलाई त कुट्यौं तिमीहरू को हौं र ? भनिरहेका छन् ।’

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने आरोपीहरूको खोजी जारी रहेको बताए । ‘२९ जना आरोपीमध्ये ८ जना पक्राउ परेका छन्, अरु फरार छन्’, उनले भने ‘प्रहरी माथि आक्रमण गर्नेहरुलाई कुनै पनि हालतमा प्रहरीले छोड्दैन । हामीले निरन्तर खोजी गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment