Comments Add Comment

म फिल्म नचलेर अमेरिका आएको होइन : आर्यन

चलचित्र ‘के म तिम्रो होइन र’ बाट डेब्यु गरेका नायक आर्यन अधिकारीलाई सम्भावना बोकेका नायकको रुपमा हेरिएको थियो । उक्त चलचित्रमा उनको एक्सन अवतार र अभिनयको तारिफ नै भएको थियो । तर, उक्त चलचित्रपश्चात् आर्यनले दर्शकको मन जित्न सकेका छैनन् ।

उनी अभिनित बटरफ्लाई, बाँध मायाले र कडके कमाल के रिलिज भइसकेको छ । तर, यी तीन चलचित्रले आर्यनले सफलता दिएन । एक्सनमा रुचाइएका आर्यनलाई लभ स्टोरी चलचित्रमा दर्शकले रुचाएनन् ।

अहिले आर्यन अमेरिकामा छन् । आमेरिकामा आफ्नो व्यापार व्यवसाय सम्हालेर बसेका छन् । तर, आर्यन चलचित्र फ्लप भएर अमेरिका पुगेको कुरालाई नकार्छन् ।

अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘म चलचित्र नचलेर अमेरिका आएको होइन । मेरो यहाँ पहिल्यैदेखि व्यवसाय थियो । चलचित्रमा काम गर्दा पनि बेला बेला आइरहेको हुन्थेँ । अहिले भने यसलाई समय दिइरहेको छु ।’

आर्यन आफूले नयाँ काम गर्न खोज्दा चुकेको स्वीकार्छन् । उनले भने, ‘पहिलो चलचित्रमा मेरो एक्सन अवतारलाई दर्शकले रुचाउनुभएको थियो । धेरैले त्यसैको निरन्तरता चाहनुहुन्थ्यो । तर, मैले फरक काम गर्ने सोचले अन्य जनरामा काम गरेँ । त्यसमा म पनि केही चुकेँ होला, दर्शकले त्यसलाई स्वीकार्नु भएन ।’

दुई महिनापछि नेपाल आउने तयारीमा रहेका आर्यन नयाँ चलचित्रमा काम गर्ने योजनामा छन् । उनले गर्ने नयाँ चलचित्र पूर्ण रुपमा एक्सन चलचित्र हुनेछ । उनी भन्छन्, ‘अब केही नयाँ गर्ने सोचले शरीर पनि बनाइरहेको छु । पहिलो चलचित्रमा रुचाउनु भएको दर्शकलाई मैले गर्ने नयाँ चलचित्रबाट निराश हुन दिने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment