Comments Add Comment

ठगी आरोप लागेका वाणगंगाका नेकपा अध्यक्ष पदमुक्त

९ भदौ, बुटवल । ठगीको आरोप लागेका वाणगंगा नगरपालिका, कपिलवस्तुका नेकपा अध्यक्ष विश्व कार्की कारबाहीमा परेका छन् ।

कार्कीले सरकारी जागिर लगाइदिने प्रलोभनमा पारी ठगी गरेको उजुरी तथ्यसंगत भेटेपछि नेकपा कपिलवस्तुले वाणगंगाको अध्यक्षबाट हटाएर उनीमाथि कारबाही गरेको हो ।

नेकपाका जिल्ला नेता डम्बर शर्माले कार्कीले सरकारी जागिर लगाइदिन्छु भन्दै युवालाई ठगी गरेको पुष्टि भएकाले आइतबार जिल्ला कमिटीको बैठक बसेर कार्कीलाई पदमुक्त गर्ने निर्णय गरिएको अनलाइनखबरलाई जानकारी दिए ।

सरकारी जागिरको प्रलोभन देखाएर कार्कीले ४५ लाख ठगी गरेको भन्दै गत ३२ साउनमा गुल्मी र बागलुङका १२ युवाले उजुरी गरेका थिए । रकम फिर्ता माग गर्दा कार्की सम्पर्कमा नआएको भन्दै पीडितहरूले उनीमाथि कारबाही गर्न माग गरेका थिए ।

यसबारे अनलाइनखबरले समाचार प्रकाशित गरेको थियो । लगत्तै नेकपा कपिलवस्तुले यसबारे छानबिन थालेको थियो ।

कार्कीले शिक्षकका लागि चार लाख ५० हजार, स्वास्थ्य सेवाका लागि तीन लाख र प्रहरीका लागि दुई लाख ६० हजार रुपैयाँका दरले १२ जनाबाट ४५ लाख ३० हजार रुपैयाँ असुलेका थिए ।

कार्की विवादास्पद छवी भएका व्यक्ति हुन् । यसअघि पनि विभिन्न अभियोगमा पार्टीबाट उनले कारबाही झेलेका थिए । वाणगंगा नगरको अध्यक्ष बनाउँदा पनि नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । पार्टी जिल्ला अध्यक्ष निकट भएकै कारण उनीभन्दा सिनियर नेता हुँदाहुंदै कार्कीलाई जिम्मेवारी दिइएको नेता–कार्यकर्ताको आरोप रहँदै आएको छ ।

कार्कीलाई कारबाही गर्दै नेकपा कपिलवस्तुले वाणगंगा नगरपालिकाको अध्यक्षको जिम्मेवारी शंकर पाण्डेलाई दिएको छ । उनी नेकपा कपिलवस्तुका जिल्ला सचिवालय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment