Comments Add Comment

भारतीय दूतावासले जिम्मा लिएको विद्यालय भवन नबन्दा छाप्रोमा पढाइ

९ भदौ, रामेछाप । लिखु तामाकोसी गाउँपालिका-१ को त्रिपुरेश्वर माविका विद्यार्थीहरु ४ वर्षदेखि बाँसको छापामा बसेर पढिरहेका छन् । उनीहरुले बाँसले बारेका खुल्ला छाप्राहरुमा ४ वटा हिउँद वर्ष  काटिसकेका छन् । अझै विद्यालयको नयाँ भवन बन्ने सुरसार छैन ।

विनासकारी भूकम्पले २०७२ सालमा क्षति भएको विद्यालय पुनर्निर्माणको जिम्मा लिएको भारतीय दूतावास बेखबर छ । १२ कक्षासम्म पठनपाठन हुने सो विद्यालयमा ५ सयभन्दा बढी विद्यार्थीहरु छन् ।

रामेछापकै भूकम्पले सबैभन्दा बढी जनधनको क्षति भएको दुरागाउँको यो विद्यालय पनि जिल्लाकै सबैभन्दा बढी क्षतिग्रस्त संरचना हो । सो विद्यालय निर्माण गर्ने भन्दै ३ वर्षअघि भारतीय दूतावासले जिम्मा लिएको थियो । तर, विद्यालय निर्माणको काम हालसम्म सुरु नभएको विद्यालयका प्रधानाध्यापक विनोद पौडेलले जानकारी दिए ।

भवन नबन्दा तल्लो कक्षाका विद्यार्थीहरुको भूकम्पले क्षति भएका पुराना भवनमा पढाइ भइरहेको विद्यालयका शिक्षक जनार्दन घिमिरेले बताए । चिसा कोठामा राखेर पढाउँदा विद्यार्थीहरु बारम्बार बिमारी हुने उनले बताए ।

‘भुइँमा चिसोले टेकिसक्नु छैन । बच्चाहरुलाई बारम्बार, रुघा खोकी र ज्वरोको समस्या देखिरहेको छ । तर, अर्काे बिकल्प छैन’, उनले भने ।

विद्यालयमा ६, ७, ८ र ९ कक्षालाई अहिले पनि भूकम्पपछि निर्माण भएका बाँसका टहरामा राखेर पढाउने गरेको विद्यालयका प्रधानाध्यापक पौडेलले बताए । पानी पर्दा जस्ता बजेर विद्यार्थीले नसुन्ने, जाडोमा चिसोले बस्न गारो हुने तथा घाममा गर्मीले बस्नै नसकिने अवस्थाले गर्दा विद्यार्थीहरुको पढाइ प्रभावित भएको उनले बताए ।

‘यो चिसो ठाउँ छ, जाडामो माथिबाट शीत चुहुहिन्छ । बाहिरबाट सिरेटोले हान्छ । गर्मीमा पनि जस्ता तातेर बस्नै नमिल्ने हुन्छ । अझ पानी परेपछि त विद्यार्थीले बोलेकै सुन्दैनन् । हामीलाई त सारै समस्या भयो’, उनले भने । १२ कक्षाका विद्यार्थीहरुलाई राख्ने कक्षा कोठा नै नभएको पनि उनले बताए । यस वर्ष विद्यार्थी केही बढेकाले विद्यार्थी राख्न थप समस्या भएको उनको भनाइ छ ।

नेपालमा भूकम्पले क्षति भएका विद्यालयको निर्माण गर्ने जिम्मा लिएका एशियाली विकास बैँक, युएसएडलगायतका संस्थाले अधिकाँस विद्यालय निर्माणको काम सकिसकेका छन् । एशियाली विकास बैकले पहिलो र दोस्रो चरणमा निर्माणको जिम्मा लिएको भवनहरुको निर्माणकार्य सम्पन्न गरी तेस्रो चरणमा जिम्मा लिएको कामसमेत सुरु गरी सकेको छ ।

तर, भारतीय दूतावासले निर्माणको जिम्मा लिएको जिल्लाका कुनै पनि विद्यालयको निर्माणको काम सुरु गरेको छैन ।

भारतीय दूतावसाले निर्माणको जिम्मा लिएको १० वटा विद्यालयमा कुनै पनि विद्यालयको निर्माणको काम सुरु नभएको पुननिर्माण प्राधिकरणको कार्यक्रम कार्यान्वयन इकाइ शिक्षा रामेछापका प्रमुख निर्मलकुमार घिमिरेले जानकारी दिए ।

भवन डिजाइनको काम सकिएर टेण्डर प्रक्रियामा गएकोले यस वर्षबाट भने काम सुरु हुने उनले बताए । ‘एक महिनाभित्र टेण्डरमा जाँदै छ भन्न हामीलाई सूचना आएको छ । अब काम सुरु होला,’ उनले भने ।

– नवराज पथिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment