Comments Add Comment

सगरमाथा नपुग्ने १५ सम्पर्क अधिकृतसँग विभागले माग्यो स्पष्टीकरण

९ भदौ, काठमाडौं । पर्यटन विभागले वसन्त ऋतुमा सगरमाथामा सम्पर्क अधिकृतमा रुपमा खटाए पनि काममा नगएका १५ जना कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ ।

काममा खटाए पनि सम्बन्धित स्थानमा नपुग्ने कर्मचारीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मन्त्रालयले १ भदौमा विभागलाई निर्देशन दिएको थियो । विभागले खटिएको स्थानमा नपुग्ने १५ जना सम्पर्क अधिकृतसँग आफ्नो जिम्मवारी निर्वाह गर्न नसक्नुको प्रमाण पुग्ने विवरण र स्पष्टीकरण बुझाउन आग्रह गरेको छ ।

१५ दिनभित्र स्पष्टीकरण बुझाउन विभागले समयसीमा तोकेको छ । यस अवधिमा स्पष्टीकरण नबुझाउने सम्पर्क अधिकृतमाथि कारवाही प्रक्रिया शुरु गरिने विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिएकी छिन् । उनकाअनुसार वसन्त ऋतुमा ३७ जना सम्पर्क अधिकृतलाई सगरमाथामा खटाइएको थियो । उनीहमध्ये २२ जना मात्र सम्पर्क अधिकृत सगरमाथामा पुगेका थिए ।

१५ जना सम्पर्क अधिकृत भने तोकिएको स्थान मै नपुगि पारिश्रमिक तथा भत्ता बुझेका छन् ।

को हुने सम्पर्क अधिकृत ?

६ हजार ५ सय मिटरभन्दा माथिको उचाईका हिमालमा प्रत्येक आरोहण दलमा एकजना सम्पर्क अधिकृत रहने व्यवस्था रहेको छ ।

त्यस्ता सम्पर्क अधिकृत दलकै साथमा रहनुपर्छ । आरोहण दलका सम्पूर्ण गतिविधि नेपाल सरकारलाई जानकारी गराउने र दललाई आइपर्ने समस्याको समाधान गर्न पुलको रुपमा काम गर्ने जिम्मेवारी सम्पर्क अधिकृतको हुन्छ । दलको साथमा खटिने सम्पर्क अधिकृतको सेवा/सुविधा, बीमा/उपचार/उद्धारको जिम्मेवारी भने सम्बन्धित आरोहण दलको हुने प्रावधान छ ।

सन् २०१९ को वसन्तु ऋतुमा विभिन्न हिमालका लागि ९१ जना सम्पर्क अधिकृत खटिएका थिए । त्यसमध्ये ३७ जना सगरमाथाका लागि खटिएका हुन् । छोटो अवधिमा ठूलो कमाई हुने, कामै नगरी सरकारी तलव पाउने र दलको तर्फबाट एजेन्सीमार्फत भत्ता पाइने लोभले एकै व्यक्ति पटक पटक सम्पर्क अधिकृत बन्ने तर काममा गम्भीर नदेखिएको स्वयमः सरकारी छानविनबाट देखिएको छ ।

आजीवन प्रतिवन्धको तयारी

सरकारले काममा खटाएपनि बीना कारण फिल्डमा नखटिएका कर्मचारीमाथि अर्कोपटक हिमालमा सम्पर्क अधिकृतका रुपमा खटाउन अयोग्य हुने गरी कारवाही गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त प्रतिवद्धता व्यक्त गरिसकेका छन् ।

नीतिगत परिवर्तनको तयारी

सरकारले सगरमाथा सहितका हिमालमा अब व्यक्तिगत रुपमा नभई समूहमा सम्पर्क अधिकृत खटाउने तयारी गरेको छ । सगरमाथामा अनेक विकृति देखिएपछि सरकारले छानविन समिति गठन गरेको थियो, जसले ‘सम्पर्क अधिकृत समूह’ बनाएर खटाउने व्यवस्था गर्न सिफारिस गरेको छ ।

उपसचिवको नेतृत्वमा अधिकृत, डाक्टर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका कर्मचारी, नासु, कम्प्यूटर अपरेटर, आवश्यकता अनुसार सहयोगी कर्मचारी रहने गरी समूह खटाउन सिफारिस गरिएको छ । यस्तो टोली आरोहण प्रारम्भ भएपछि सम्पन्न नहोउन्जेल आधार शिविरमै खटिनु पर्ने प्रावधान ल्याउन सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment