Comments Add Comment

५ लाख धरौटी बुझाएर छुटे रवि लामिछाने

९ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई  ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई  ३ लाख  र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको बताए ।  उनले अनलाइनखबरसँग भने, ‘अब उहाँहरुले धरौटी बुझाएपछि थुनामुक्त गरिनेछ ।’

लामिछाने र कँडेल सोमबार नै अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भएका छन् । रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले आफूप्रति सहानुभूति जनाउने सबैलाई धन्यवाद दिएका छन् ।

धरौटीमा छुटेपछि पनि बाँकी कानूनी प्रक्रियाको सामना गर्नेछन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय, चितवनले १० दिनसम्म अनुसन्धान गरेर आइतबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

कार्यालयले अनुसन्धान प्रतिवेदनको अध्ययन सोही दिन सकेर जिल्ला अदालत, चितवनमा आत्महत्या दुत्साहनको मुद्दा दर्ता गराएको थियो ।

तर, नर्स कार्कीको मात्रै बयान सकिएकाले तीनै जनालाई हिरासतमै राखियो । लामिछाने र कडेँलको बयान सोमबार सकिएपछि थुनछेक बहस भएको थियो ।

पत्रकार शालिकराम पुडासैनी लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन् । हालै न्यूज २४ छाडेर उनी माउन्टेन टेलिभिजमा कार्यरत् थिए । उनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको हो ।

मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । तर, जिल्लाको फैसला चित्त नबुझे उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन दर्ता गराउन सक्ने प्रावधान पनि छ ।

यो पनि पढ्नुहोस पुडासैनी आत्महत्या प्रकरणमा ‘युट्युब ट्रायल’ को अभ्यास

निषेधाज्ञाका बीच झडप

लामिछाने समर्थकले उनी पक्राउ परेदेखि नै प्रदर्शन जारी राखेका थिए । आइतबार उनी छुट्न सक्ने भन्दै पुगेका सयौं समर्थकसँग झडप हुँदै केही घाइते पनि भए । त्यही कारण सोमबार हुनसक्ने सम्भावित चुनौतिलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय, चितवनले निषेधाज्ञा जारी गरेको थियो ।

बिहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने पनि निर्देशन जारी गरिएको थियो । निषेधाज्ञा लागू हुने चार किल्ला समेत तोकिएको थियो ।

जसअनुसार, पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म र उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

त्यस्तै, दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

सोमबार लामिछाने समर्थकले निषेधित क्षेत्रमा प्रवेश नगरे पनि बाहिर निकालिएको मोटरसाइकल र्‍यालीका क्रममा सार्वजनिक यातायातमा तोडफोड गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘तोडफोडमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएका छौं ।’ लामिछाने समर्थकले केही स्थानमा आगजनी समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment