Comments Add Comment

‘मर्न तयार हुन्छौं, तर बिजुलीको तार टाँग्न दिन्नौं’

कटहरीमा उद्योग चलेन, विराटनगरमा पंखा घुमेन

११ भदौ, विराटनगर । विद्युत व्यवस्थापनका लागि विस्तार गरिएको ३३ केभी प्रसारण लाइनमा ग्रामथान गाउँपालिका-५ को गिधनियाका बासिन्दाले अवरोध पुर्याएपछि प्रदेश १ को राजधानी विराटनगर र त्यस आसपासका क्षेत्रमा समस्या भएको छ । त्यसै त अनियमित आपूर्ति र लो भोल्टेजका कारण कटहरीदेखि रंगेली क्षेत्रमा रहेका एकसय साना-ठूला उद्योग संकटमा परिरहेका बेला गिधनियाको अवरोधले थप समस्या बढाएको छ ।

‘विद्युतका कारण सर्वसाधारण मात्र होइन, निजी क्षेत्र पनि आजित बनेको छ,’ उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे भन्छन्, ‘गर्मीको समयमा विद्युत आपूर्ती नहुने र आपूर्ति भइरहेको बेलामा पनि कम भोल्टेज हुँदा समस्या भयो ।’

विद्युत प्राधिकरणले सुनसरीको दुहबी सबस्टेशनदेखि सीधै कटहरी सबस्टेशनसम्म बिजुली लैजान पोल गाडेपनि गिधनिया बस्तीमा अवरोधका कारण तार टाँग्न सकेको छैन । वस्ती हुँदै जाने प्रसारण लाइनले आफूहरुको स्वास्थ्यमा असर पार्ने भन्दै गिधिनियाका बासिन्दाले त्यसलाई सार्न माग गर्दै अवरोध पुर्‍याउँदै आएका छन् ।

‘दुहबीबाट कटहरीसम्म प्रसारणलाइनको काम सम्पन्न भए कटहरीका उद्योग र विराटनगरका सर्वसाधारणले भोग्दै आएको समस्या हट्थ्यो,’ घिमिरे भन्छन्, ‘विद्युतको समस्याले कटहरीका उद्योग चलेनन्, विराटनगरमा त पंखासमेत घुम्दैन ।’

गिधनियामा देखिएको समस्या समाधानका लागि पहल गर्न विराटनगरको निजी क्षेत्रले सरकारलाई घचघच्याइ रहेको छ । उद्योगको लाइफ लाइन नै विद्युत भएकाले आपूर्ती कम हुँदा समस्यामा परेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा बताउँछन् । ‘विद्युत उद्योगधन्दाको अक्सिजन हो,’ मुन्दडा भन्छन्, ‘तर अहिले सप्लाई नहुँदा संकट उत्पन्न भएको छ ।’ उनी समस्या समाधानका लागि स्थानीय प्रदेश र संघीय सरकारमा निरन्तर दबाव दिइरहेको बताउँछन् ।

विद्युत प्राधिकरणले दुहबी ग्रिडदेखि कटहरी ग्रिडसम्म हाइटेन्सन (३३केभी) लाइन विस्तारका लागि पोल गाडे पनि ग्रामथान गाउँपालिका-५ को गिधनिया बस्तीका स्थानीयको अवरोधका कारण अघि बढेको छैन । दुहबी कटहरी खण्डमा १३ किलोमिटर क्षेत्रमा काम सकिएपनि तीन किलोमिटर क्षेत्रमा अवरोध छ । अवरोधका विद्युत पर्याप्त नहुँदा कटहरीदेखि रंगेलीसम्मका एकसय उद्योग र सर्वसाधारण समस्यामा छन् ।

प्रसारणलाइनमा अवरोध गरिरहेका गिधनियाका बासिन्दा आफैंले पनि लो भोल्टेजको समस्या भोगीरहेका छन् । तर संघर्ष समितिका अध्यक्ष भक्कुलाल विश्वास देशभर यस्तै समस्या रहेकाले आफूहरुलाई नौलो नलाग्ने बताउँछन् ।

सीडीओ भन्छन् – पटक पटक पहल गरे

यही प्रसारणलाइनको विवादका विषयमा संघीय संसदको सार्वजनिक लेखा समितिमा संसाद अमनलाल मोदी र विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङबीच जुहारी नै चल्यो । संसदीय समितिमा छानविनको माग उठाएपछि मोदीको तीव्र आलोचना भयो ।

मोदी र घिसिङ जुहारीका कारण चर्चामा आएको गिधनिया क्षेत्रको समस्या समाधान गर्न मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले पनि प्रयास गरे । तर पटक-पटक छलफल गर्दा पनि समस्याको निकास निकाल्न नसकेको केसी बताउँछन् । ‘तार टाँग्नेबाहेक अन्य काम सकिएको छ,’ केसी भन्छन्, ‘स्थानीयका कारण करिब तीन किलोमिटर क्षेत्रमा तार टाँग्न पाइएन ।’

समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधिहरुसहित छलफल गर्दा निकास ननिस्किएको उनले बताए ।

अमनलाललाई चेतावनी- यस्तो कुरा लिएर नआउनुस्

विद्युत प्रसारण लाइनमा देखिएको समस्या समाधानका लागि मोरङ क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले संघर्ष समितिका अध्यक्षसँग अवरोध हटाउन आग्रह गरेका थिए । तर उनको आग्रह संघर्ष समितिका अध्यक्ष भक्कुलाल विश्वासले नमान्ने बताएका छन् ।

केही दिनअघि गिधनियाका थारु समुदायले आयोजना गरेको कार्यक्रममा पुगेका मोदीले स्थानीयलाई सम्झाउने प्रयास गरेका थिए । ‘अमनलालले मलाई प्रसारण लाइनका विषयमा अवरोध नगर्न भन्नु भएको थियो,’ विश्वासले भने, ‘यो मेरोमात्र समस्या होइन, गाउँकै हो, अब यस्तो कुरा लिएर नआउनुस् भनेको छु ।’

स्थानीयबासीको स्वास्थ्यमा असर पर्ने भएकाले प्रसारणलाइन अन्तैबाट लैजान भनिएको अध्यक्ष विश्वास बताउँछन् । बिजुलीको पोल गाड्दा पनि हामीलाई झुक्याएर राखियो,’ उनले थपे, ‘तर गुगल सर्च गरेर हेर्दा धेरै असर पर्ने थाहा पाएर यसलाई सार्न भनेका छौं ।’

सांसद र स्थानीय प्रशासनले निरन्तर दबाव दिइरहेको अवस्थामा सोमबार गिधनिया क्षेत्रका स्थानीयबासीहरु छलफलमा बसेका थिए । छलफलबाट कुनै हालतमा प्रसारणलाइन लैजान नदिने सहमति भएको अध्यक्ष विश्वासले बताए । ‘छलफलले मर्न तयार हुने, तर तार टाँग्न नदिने निर्णय गरेको छ,’ उनले भने, ‘हाम्रो एउटै विकल्प छ यहाँबाट हटाउनुहोस् ।’

नांगो तार टाँग्न अवरोध गरेपछि स्थानीयसँग तारलाई बेरेर वा अण्डरग्राउण्ड गरेर लैजाने विकल्पमा पनि छलफल भएको थियो । तर सोमबारको बैठकले यी दुवै विकल्प नमान्ने निर्णय गरेको विश्वासले बताए ।

स्वास्थ्यमा असर पर्ने चिन्ता

विद्युत प्रसारण लाइन क्षेत्रमा पर्ने गिधनियाका स्थानीयबासी ३३ केभी प्रसारण लाइनले स्वास्थ्यमा नकारात्मक असर पर्ने बताउँछन् । तारबाट निस्कने विकीरणले मानिस र गाई बस्तुको गर्भपतन गराउने उनीहरुको भनाइ छ । उद्योग संगठन मोरङका अध्यक्ष घिमिरे बताउँछन् । ‘उहाँहरुमा स्वास्थ्यमा असर गर्छ भन्ने भ्रम छ, त्यो भ्रम हटाउन सबै क्षेत्रले प्रयास गर्नुपर्छ ।’

एडिबीको सहयोगमा निर्माण भइरहेको उक्त प्रसारण लाइन निर्माण भएर कटहरी-१ महेशपुर खोरियामा रहेको सबस्टेसनमा चार्ज हुन सके विराटनगरमा देखिएको लो-भोल्टेजको समस्या समाधान हुने र कटहरी क्षेत्रका उद्योगलाई पनि राहत पुग्ने विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजीव सिंह बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment