Comments Add Comment

‘उदार तानाशाह नखोजौं, सेनाको संख्या घटाऔं’

'सामाजिक सञ्जालले अहिले दक्षिणपन्थलाई सहयोग गरिरहेको छ'

अर्थतन्त्रका लागि जुन आधारशिला चाहिन्छ, त्यो हो – लोकतान्त्रिक स्थायित्व । समृद्धिको आधारशिला यही नै हो । तसर्थ स्थायित्व मात्र हैन, लोकतान्त्रिक स्थायित्व भन्नुपर्छ ।

कस्तो खालको समृद्धि भन्दाखेरि मुख्यतः भौतिक जीवनस्तर उकास्ने योजना नै हुनुपर्छ । आध्यात्मिक, धर्म-कर्म, सुख शान्तिका कुराहरू, व्यक्ति आफूले सम्हाल्ने कुरा हो । तर, राज्य र समाज हाँक्ने मानिसहरूको दायित्व भनेको समाजका आम मानिसको भौतिक समृद्धिको स्तर उचाल्ने हो ।

ऐतिहासिक कालदेखि नै यो भौतिक समृद्धि सहित राम्रो जीवनयापन गर्न सक्ने क्षमता हाम्रो मुलुकमा छ । अन्य धेरै मुलुकहरू त्यस्ता छन् जहाँ समृद्धिका लागि चाहिने स्रोत छैनन् । नेपालमा स्रोत छ ।

तर, किन त दुई शताब्दी भन्दा बढी भइसक्यो, नेपालका नागरिकहरू विदेशिन बाध्य छन् ? उहिले लाहुर जान्थे । लाहुर मात्र होइन, त्यहाँभन्दा पर बजिरस्तानको लडाइँमा मर्थे । पठानहरूसँग लड्दाखेरि महाराज रञ्जित सिंहका लागि उत्तरी पञ्जाबमा मर्ने पनि नेपाली थिए, बलभद्र लगायत । अहिले पनि जम्मू-कश्मीरको युद्ध मैदानमा मर्नुपर्ने पनि नेपाली नै छन् । किन ?

सामाजिक सञ्जालले उछालेका कुरा दिनानुदिन पानीको फोका जस्तो फुटिरहेछन्, फुटिरहेछन् । मानिसहरूको मस्तिष्कलाई अल्झाइरहेछ । तर, कुनै एउटा प्राप्तितर्फ वा गन्तव्यतिर लगिरहेको छैन । यो के हो, कस्तो हो ? यो सबैतिरको कुरा पढेर हामीले नेपाली समाजलाई सुसूचित गर्नुपर्छ

किन नेपालीहरूले खाडी पुग्नुपर्ने ? भारतको कुनाकाप्चा किन पुग्नुपर्ने ? मलेशिया किन ताक्नुपर्ने ? जबकि हामीकहाँ समृद्धिको सम्भावना पर्याप्त छ ।
अब म समृद्धि कसरी हासिल गर्ने भन्नेमा जान्छु । यसका लागि केही प्रारम्भिक नोट प्रस्तुत गर्छु ।

प्रारम्भिक नोट-

१- नेपाली राजनीतिज्ञमाथि अत्यधिक गाली बर्साउने रुचि ममा छैन । किनभने यो त सजिलो लोकरिझ्याइँको बाटो मात्रै हो । राजनीतिज्ञ माथि टिप्पणी गर्नुअघि बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा काठमाडौंका बौद्धिक बारे के लेखेका थिए, त्यो पढे पुग्छ । राजनीतिज्ञ माथि निगरानी नपुगेको कारण के रहेछ भन्ने कुरा त्यहाँबाट प्रष्ट हुन्छ ।

२- आजकल सामाजिक सञ्जालले विचार निर्माणको धेरै स्थान सम्पादकबाट ओगटेको छ । यो क्षणिक कुरा हो जस्तो लाग्छ मलाई । शायद संसारभरि नै सामाजिक सञ्जालले हामीलाई के गर्ने, कता हेर्ने, केमा हाँस्ने, केमा रिसाउने भनेर एउटा खालको क्राउड सोर्सिङबाट काम गरिरहेछ । त्यो न हिलरी क्लिन्टनले बुझेकी छिन्, न हामीले नै राम्रोसँग बुझेका छौं । यो एकदमै नयाँ परिपाटी हो, र ‘प्रोटोकोल’ बनिसकेको छैन ।

राजनीतिक विश्लेषण गर्नेले सामाजिक सञ्जालले राजनीतिमा पारेको असर बुझ्नु पर्‍यो । सामाजिक सञ्जालले उछालेका कुरा दिनानुदिन पानीको फोका जस्तो फुटिरहेछन्, फुटिरहेछन् । मानिसहरूको मस्तिष्कलाई अल्झाइरहेछ । तर, कुनै एउटा प्राप्तितर्फ वा गन्तव्यतिर लगिरहेको छैन । यो के हो, कस्तो हो ? यो सबैतिरको कुरा पढेर हामीले नेपाली समाजलाई सुसूचित गर्नुपर्छ ।

दक्षिणएशियामा होस् या अन्य देशमा, पूर्ण रूपमा नकारात्मक पनि छैन सामाजिक सञ्जालको असर । सामाजिक सञ्जालबाट राजनीतिमा दक्षिणपन्थलाई अलि बढी सहयोग भएको देख्छु म । सेन्ट्रिस्ट या लेफ्ट सेन्ट्रिकलाई सामाजिक सञ्जालले सघाएको छैन । किनकि नेपाली राजनीतिमा पनि यस्तै नहोस् ।
यी सबै कुराहरू लोकतान्त्रिक स्थायित्वको सन्दर्भमा नै म भन्दैछु ।

३- मेरो विचारमा वास्तविक सामाजिक-राजनीतिक रूपान्तरणको मूल फुटेको २०४६ सालमा हो । २०४६ सालपछिको द्वन्द्वकालमा माओवादीले यो पनि मैले गरें, ऊ पनि मैले गरें भनिरहँदा हाम्रो दिमाग खल्बलिएर आफ्नै इतिहासलाई सही मूल्यांकन नगरेको हो ।

नेपाललाई खुला समाजमा लगेको २०४६ सालको जनआन्दोलनले हो । र, २०४७ सालको संविधान । हामी अहिले जति बोलिराखेका छौं, त्यही २०४७ सालको संविधानका कारण हो । लोकतान्त्रिक स्थायित्व अन्तर्गतको ‘लोकतान्त्रिक’ शब्दको ग्यारेन्टी गर्ने काम २०४७ सालको संविधानले गरेको हो ।

४- यो मुलुकलाई १० वर्ष द्वन्द्वकाल र १० वर्ष संक्रमणकालले ठूलो घात गर्‍यो । विदेशीले भनिदिए कि माओवादीहरू राजाको खिलाफमा लडेका, अनि हामीले पनि हो कि त भन्ने ठान्यौं । तर, त्यो भनिने ‘जनयुद्ध’ लोकतान्त्रिक राज्यको खिलाफमा थियो । हामीले यो पनि बुझ्नुपर्‍यो कि जति-जति प्रगति आयो भनेर हामी सोच्छौं, वास्तवमा मेरो निजी बुझाइमा २० वर्षको अन्तरालमा १५ वर्ष घाटा भएको छ ।

उदार तानाशाहको खोजी हामी छाडिदिऔं । समाज त्यो बाटोमा हिंडे त हुन्थ्यो नि भन्ने कुरा नगरौं । यदि कतै उदार तानाशाहको सम्भावना छ भनेदेखि त्यो वंशानुगत राजतन्त्रमा हुनुपर्ने थियो, तर त्यो पनि यहाँ काम लागेन

हाम्रो सामाजिक र आर्थिक अग्रगमनमा बाल योद्धा, अर्थतन्त्रको ह्रास, गाउँघरमा बेचैन, राज्य कठोर हुनु, सेनाको आत्मबल हृवात्तै बढेर जानु यावत् कुराहरूले गर्दाखेरि हाम्रो लोकतान्त्रिक स्थायित्वलाई खल्बल्याएको छ, युद्धकालले । भोलिका दिनमा मुलुक र समाज बदल्न हामीले भर्खरकै विगत सम्झिनुपर्ने छ ।

५- उदार तानाशाहको खोजी हामी छाडिदिऔं । समाज त्यो बाटोमा हिंडे त हुन्थ्यो नि भन्ने कुरा नगरौं । यदि कतै उदार तानाशाहको सम्भावना छ भनेदेखि त्यो वंशानुगत राजतन्त्रमा हुनुपर्ने थियो, तर त्यो पनि यहाँ काम लागेन । वंशानुगत राजतन्त्र भन्नाले भूटानको जस्तो ब्रिटिश थपना गरिदिएको दुई/तीन वंश अगाडिको राजसंस्था हैन, हाम्रो त नेपालको स्थापनाकालदेखिको स्थापित राजसंस्था थियो । यस्तो ‘वंशानुगत राजतन्त्र’ ले पनि पंचायतकालको तीन दशकमा समृद्धि दिलाउन सकेन भने ‘उदार तानाशाह’ को कुरै नगरौं ।

नेपाल मुलुक सानो होइन, विश्वका २०० देशहरूमध्ये हामी ४७औं मुलुकमा पर्छौं जनसंख्याको आधारमा । दिमागमा राखौं, हाम्रो जस्तो ‘कम्प्लेक्स’ मुलुक, जहाँ जर्जर समस्याहरू छन्, यस्तो देशलाई सम्हाल्न कुनै पनि उदार तानाशाहले सक्दैन मात्र प्रतिनिधिमूलक लोकतन्त्रले सक्छ ।

हाम्रो राजनीतिक यात्रालाई बिथोल्ने गरिकन कुनै विचार निर्माणकर्ताले उदार तानाशाहको माग गर्छ भने त्यो नेपालका लागि फलिफाप हुने माग होइन । हाम्रो सामाजिक बनोट, हाम्रो विविधता र हाम्रो विशेष इतिहासले गर्दाखेरि त्यो बाटो नलिनु नै श्रेयस्कर । यतातिर त छिर्नु पनि हुँदैन भन्ने मेरो भनाइ छ ।

६- नेपालसँग ‘सफ्ट पावर’ छ । कहिलेकाहीं अलिकति चिन्ता लाग्छ, नेपालमा के पो हुन आँट्यो, बिग्रन आँट्यो भनेर । यसरी चिन्ता लाग्नुको कारण के हो भने नेपालसँग भएको सˆट पावर आफूले पनि नबुझ्नु र परिचालन पनि गर्न नसक्नु हो ।

७- हरेक नौ-नौ महिनातिर हामीलाई अवस्थित सरकार गइदिए पनि हुन्थ्यो भनेर उकुस-मुकुस हुन्छ । किनभने १० वर्षयताको संक्रमणकालमा सरकार यो अवधिमा फेरिने अवस्था हाम्रो जेनेटिक प्रोग्रामिङ नै भइसक्यो । हामीले गर्नुपर्ने त सरकारको निगरानी राख्ने, आलोचना गर्ने, अर्को निर्वाचनका लागि तयारी गर्ने । निर्वाचन निष्पक्ष र लोकतान्त्रिक बनाउनेतिर ध्यान दिने । तर, हामीलाई ९ महिनामै उकुसमुकुस भइहाल्छ ।

अंग्रेजीमा ‘सेभेन इयर इच’ भन्ने चलचित्र छ । नेपालमा चाहिं ‘नाइन मन्थ इच’ ! ९ महीना पुगेपछि चिलाउन थाल्छ ! यो हाम्रो बानी नै भइसक्यो । यो वर्तमान सरकारको प्रतिरक्षा गरेको नठान्नुहोला, यो इच (चिलाइ) बाट हामी मुक्त हुनुपर्छ ।

तुलनात्मक रूपमा ठीक छौं, खुला समाज ठीक छ

नेपालको वर्तमान अवस्थालाई हामीले तुलनात्मक हिसाबले हेर्नुपर्छ । लोकरिझ्याइँको बाढीमा बगेर सबै बिग्रेको देख्नु पनि हुँदैन, किनकि सबै बिग्रेको छैन । तर, अरू मुलुकलाई हेरेर हामी त्यहाँ त पुगिसकेका छैनौं, त्यहाँसम्म जानुहुँदैन भनेर हेर्नुपर्छ ।

उदाहरणका लागि, आजका दिन संयुक्त राज्य अमेरिकामा ट्रम्प छन्, बेलायतमा बोरिस, भारतमा नरेन्द्र दामोदरदास । तपाईं उहाँहरूको राजनीतिक लगाव र लोकतन्त्रप्रतिको लगाव आफैं मूल्यांकन गर्नुहोस् । र, नेपालमा हामी अहिले कहाँ छौं एकजना नेता हैन, नेतागण, विशेषगरी, माओवादी नेतागण बाहेकका हाम्रा नेतागणको अरू देशको अनुपातमा मूल्यांकन गरौं । खुला समाजमा अवतरण भइसक्दा पनि माओवादी नेताहरूलाई रूपान्तरणका लागि समय अझै पनि दिनुपर्ने अवस्था देखेको छु ।

यो पनि पढ्नुहोस ‘सरकार बनेको हरेक ९ महिनामा चिलाउन थाल्छ’

अब दक्षिणएशियाली छिमेकका मुलुक हेरौं । हामीले लोकतन्त्रको प्रतिरक्षाको बेला जहिले पनि भारततिर हेर्‍यौं, तर भारतमा लोकतन्त्रको अवस्था भयावह बन्दै गएको छ । पाकिस्तानको त कुरै नगरौं ।

बंगलादेशलाई हेरौं । भारतको मिडियाले बंगलादेशमा कति खतरा छ नबताएको हुनाले र हामीले बंगलादेशको पत्रिका नपढ्नाले त्यो त बन्द समाज भइसक्यो, हामीलाई पत्तै छैन । तर, बंगलादेशमा कुनै पनि बेला ठूलो अशान्ति हुनसक्ने सम्भावना छ । किनभने, भारतले पोसेर सरकारलाई राखेको छ, एकतन्त्रीय शासन लगाउनलाई शेख हसिनालाई छुट दिएको छ । शेख हसिना अहिले बाघमाथि चढिरहेकी छिन्, उत्रिंदा आˆनै ज्यान जाला भन्ने डर । उत्रिन सक्दिनन् र झन्झन् कठोर बन्दै छिन् ।

यस परिप्रेक्ष्यमा हामी नेपाललाई खुला समाज राखिराखौं, नेपाल अरूका लागि उदाहरण हुन्छ । नेपाललाई खुला समाज राख्नु भनेको आफ्नै समृद्धिको बाटो हो तर नेपाललाई खुला समाजका रूपमा राख्यौं भने अरूका लागि पनि आशको दीप हुनेछ । त्यसैले हाम्रो जिम्मेवारी – देशको समृद्धिका लागि हाम्रो लोकतन्त्रलाई बचाइराख्नुपर्छ ।

तसर्थ तुलनात्मक रूपमा हामी ठीक छौं । हाम्रा लागि यो २०४६ देखिको खुला समाज सही छ । र यसैले नेपालको समृद्धि सुनिश्चित गर्छ । र, खुला समाजको सन्दर्भमा अरू देशहरूका लागि पनि नेपाल एउटा उदाहरण बनिसकेको छ ।

समृद्धिको सम्भाव्य : इतिहास, भूगोल र सार्वभौमिकता

इतिहास र भूगोल दुवैले नेपाललाई अत्यन्त राम्रो सम्भावना दिलाएको छ । इतिहासको कुरा गर्दाखेरि दक्षिणएशियामा सार्वभौम मुलुक बन्नु र रहनु हाम्रो सौभाग्य हो, इतिहासले दिएको सौगात ।

इतिहासलाई हामीले समृद्धिका लागि प्रयोग गर्नुपर्छ, यो गर्न सकिरहेका छैनौं । १०, २०, ४० वर्ष यता ज-जसले यो मुलुक हाँके, उनीहरूमाथि पनि यसको जवाफदेही थोपरिन्छ । किनभने, नेपाल समृद्धितर्फको यात्रा भनेको २००७ सालपछिको अवधि हेर्ने हो । पञ्चायतकालले समृद्धि दिलाउनै सकेन । २०४६ सालपछिका सरकारले पनि के गर्न सके भन्ने हामीले हेर्नुपर्छ ।

इतिहासकालले हामीलाई एउटा भूगोल दियो, भूगोललाई सार्वभौम बनाइदियो । सार्वभौम भूगोल भनेको हामीले आफ्नो निर्णय लिने, र भएका गल्ती आफैं सच्याउन पाउने अवस्था हो । नेपालमा हामी गल्ती गरेर गल्ती सच्याउन पाउँछौं । रूपान्तरणको सम्भावना हाम्रो हातमा छ भन्ने विश्वास यहाँका जनतामा छ । यहाँ राज्यको ‘एजेन्सी’ छ, नेपाली जनमानसमा पनि ‘एजेन्सी’ छ क्रियाशील बन्ने आँट र अवस्था ।

उदाहरणका लागि, नेपाली जनताले दुइटा सफलता हासिल गरे । २०४६ सालमा निरंकुश राजतन्त्र नेपाली जनताले नै ढालेको हो, जसमा राजनीतिक पार्टीहरूले नेपाली जनताको प्रतिनिधित्व गरे । यसको अर्थ, घरेलु राजनीतिलाई नेपाली जनताले मार्गनिर्देश गर्न सक्दारहेछन् । आगामी दिनमा राजनीतिको रेल लोकतान्त्रिक लिकभन्दा बाहिर गयो भने नेपाली जनता फेरि जाग्नेछन् । यो शंका या चिन्ताको विषय नै होइन ।

त्यसैगरी नाकाबन्दीको समयमा नेपाली जनताले आफ्नो अन्तर्राष्ट्रिय ‘एजेन्सी’ पनि प्रष्ट पारे । जसरी पाँच महीनासम्म भारतले लगाएको नाकाबन्दीको सामना गरे, यो नेपाली जनताको जीत थियो । त्यसैले मैले के देखेको छु भने नेपाल आम नागरिकको घरेलु र बाहृय राजनीति दुवैमा प्रभावकारी भूमिका बन्न पुगेको छ । यस्तो अवस्था विश्वमा थोरै देशहरूमा पाइन्छ । यसरी जनताको आत्मबलले नेपाललाई समृद्धिको बाटोतर्फ जान लोकतान्त्रिक मूल्यहरूको रक्षा हुन्छ भन्न आधार दिन्छ ।
आज पनि हामीले यदि नेत्रविक्रम चन्द क्रियाकलापलाई बौद्धिक हिसाबले च्यालेञ्ज दिएनौं भने हामी फेरि त्यही ठाउँमा पुग्छौं जहाँबाट आफूलाई उठायौं । समृद्धिका लागि सशस्त्र विद्रोहको खिलाफमा हाम्रो सैद्धान्तिक अडान चाहिन्छ ।

भूगोलको कुरा गर्दा हामीसँग जुन खालको हिमाल र तराईसम्म छ, यसलाई हामीलाई हाइड्रोपावर, पर्यटन र अनेकन् सेवा उद्योगको हिसाबले सम्भावना दिन्छ । हामी डेढ-दुई वर्षभित्र ठूलो परिवर्तनको सँघारमा उभिएका छौं । अहिलेसम्म हामी भारतबाट आयात गरेको बिजुली बाल्दैछौं, तर छिट्टै त्यो बिजुली आयात गर्नुपर्दैन । यसका लागि यताका तीन/चार वटा सरकारलाई धन्यवाद दिए हुन्छ । यसले हाम्रो अर्थतन्त्रमा परिवर्तन आउँछ, डिजल आयात रोकिन्छ, हामी क्लिन इनर्जीतर्फ जान्छौं ।
प्राकृतिक हिसाबले हेर्दा हामी भाग्यमानी छौं । खुला समाजद्वारा समृद्धितर्फ लाग्यौं भने कोस्टारिका जस्तो उदाहरणीय मुलुक बन्नेछ नेपाल ।

नाकाबन्दीपछि उत्तरतर्फ हाम्रो जुन ‘ओपनिङ’ भयो, यसबाट हामीले के बुझौं भन्दाखेरि जब बेलायतीहरूले ल्हासामा हमला गरे, त्यसपछि मात्र नेपालको उत्तरतर्फको सम्बन्ध टुटेको हो । त्यसैले यो नयाँ कुरा हैन, इतिहासलाई हामीले पुनः ब्युँझाएको हो । हाम्रो भूगोल भनेको हाम्रो हिमाल, डाँडाकाँडा, उपत्यका र समथर मात्र होइन, हामी कहाँ छौं भन्ने पनि हो – हाम्रो भारत र चीनबीचको ‘प्लेसमेन्ट’ जसले हाम्रो समृद्धिको यात्रालाई सघाउनेछ ।

समृद्धिको प्राप्ति

हामीले यदि नेत्रविक्रम चन्दका क्रियाकलापलाई बौद्धिक च्यालेञ्ज दिएनौं भने हामी फेरि त्यही ठाउँमा पुग्छौं । समृद्धिका लागि सशस्त्र विद्रोहको खिलाफमा हाम्रो सैद्धान्तिक अडान चाहिन्छ

हामीले समृद्धि कसरी हासिल गर्ने ? मैले पहिले नै भनें स्थायी लोकतन्त्र । लोकतान्त्रिक स्थायित्वका लागि हामीलाई के चाहियो ?

१ – हामीलाई चाहियो सुशासन । वर्तमान सरकारको १८ महीना भइसक्दा सुशासनको अनुभूति दिन सकिरहेको छैन । यसका धेरै कारण होलान् । कतिपय कुरामा हामीले हेर्‍यौ भने या त लापरबाही हो या त नियतको समस्या देखिन्छ, विधेयकहरूको सन्दर्भलाई लिन सकिन्छ – मानवअधिकार आयोग सम्बन्धी विधेयक, मिडिया सम्बन्धी विधेयक या भनौं गुठी विधेयक । लोकतान्त्रिक स्थायित्वको कुरा गर्दा अहिलेकै सरकारले तीन वर्ष बढी जानु नै छ, यसले सुशासनतर्फ तत्कालै ध्यान दिनुपर्‍यो ।

२ – सुशासन अब संघीय सरकारले मात्रै सक्ने कुरा रहेन । किनभने हाम्रो संविधानको संघीय संरचना राज्य सञ्चालन अनुसार तीन तह अथवा तीन भुवन -त्रिभुवन- मा बाँडिएको छ स्थानीय, प्रान्तीय र संघीय । अहिले हामीले बाटो बिराउनुको कारण एकहदसम्म राज्य पुनर्संरचनाबारे कन्ˆयुजन पनि हो । संविधानको मर्म अनुसार धेरै कुरा हुनसकेको छैन र संविधान पूर्णतः बुझ्न पनि बाँकी छ । तसर्थ आउँदा वर्षहरूमा हामीले संविधान पढिकन अगाडि गयौं भने र संघीय, प्रान्तीय र स्थानीयमा ध्यान दियौं भने सुशासन प्राप्तिको सम्भावना बढ्नेवाला छ ।

३ – सक्षम प्रतिपक्षी विना राजनीतिक स्थायित्व आउँदैन । नेपाली कांग्रेस सक्षम प्रतिपक्षी हुन नसकेको कुरा अहिलेको ‘रियालिटी’ हो । यहाँ समस्या छ ।

४- सत्तारुढ पार्टीभित्रको पूर्व एमाले र पूर्व माओवादी बीचको रस्साकस्सीले मुलुकको भविष्य कता जान्छ भन्ने निर्धारण गर्छ, र यो चिन्ताको विषय भएको छ । दलभित्र ‘जबज’ माथि जुन बहस भइरहेको छ, त्यो नेकपाभित्रको सरोकारको मात्रै कुरा होइन । यो त आम जनताको सरोकारको विषय हो । किनभने, ‘जबज’ माथिको बहसले नेपालको सबभन्दा ठूलो पार्टी लोकतान्त्रिक हुन्छ कि हुँदैन भन्ने कुरा निर्धारण गर्दछ । यदि त्यो दल लोकतान्त्रिक रहेन भने समृद्धिको यात्रा स्वतः खतरामा पर्छ ।

५- शान्ति प्रक्रिया । हामीले शान्ति प्रक्रियालाई राजनीतिक लोकतान्त्रिक स्थायित्वसँग जोड्नैपर्छ । किनभने, द्वन्द्वकालको ज्यादती, बलात्कार, गैर न्यायिक हत्या, बेपत्ता, अपहरण, बाल योद्धा भर्ती इत्यादि सबैको जवाफदेहिता खोजिएन भने भोलि यो बल्झिनेवाला छ । राजनीतिक स्थायित्व सम्भव हुँदैन ।

कसैले समृद्धिको कुरा गर्दा शान्ति प्रक्रिया कहाँबाट आयो, भन्न सक्छ । तर, आउँछ । पक्कै आउँछ । शान्ति प्रक्रिया भन्नोस् या संक्रमणकालीन न्याय भन्नोस्, यसको सही अवतरणसँग समृद्धिको यात्रा गाँसिएको छ ।

६- बाहृय हस्तक्षेप । यसमा हामी एकदमै चनाखो हुनुपर्छ । हाम्रो लोकतन्त्र र यसको स्थायित्व, जसले हामीलाई समृद्धि दिलाउँछ, गत दुई दशक जस्तै बाहृय हस्तक्षेप भयो भने हामी त्यहाँ कहिल्यै पनि पुग्न सक्दैनौं ।

एउटा मात्र उदाहरण दिने हो भने नेपालको सबैभन्दा ठूलो भ्रष्टाचारको नाइकेलाई ल्याएर नेताहरूले अख्तियारको प्रमुख बनाए । यस्तो काम कसरी किन गर्नुभयो भन्दा राष्ट्रपतिदेखि लिएर सबै नेताहरूको मुखमा जवाफ के छ ? बाध्यता । किन फलानोलाई अख्तियार प्रमुख बनाउनुभयो ? बाध्यता । बेलुकासम्म त गर्दिनँ भन्नुहुन्थ्यो, बिहान ८ बजे किन शपथ खुवाउनुभयो ? बाध्यता । मलाई लाग्छ, यो ‘बाध्यता’ शब्दलाई नै नेपाली शब्दकोशबाट मेटाउनुपर्छ ।

७ – हामी सशस्त्र विद्रोहको विरोधमै बस्नुपर्छ । दुई दशकअघि काठमाडौंको एउटा जमात जसलाई म ‘उग्र-प्रगतिशील’ भन्न रुचाउँछु – प्रगतिशील त तपाईं-हामी हौं – उग्र-प्रगतिशीलहरूले भन्ने गरेको कुरा थियो कि माओवादीको उठान त गरीबीको उपज हो । यस्तो हल्काफुल्का कुरा गरेर र माओवादीको जन्मका विभिन्न पाटाहरू अनदेखा गर्दा माओवादी दिनप्रतिदिन बलियो हुँदै गयो ।

आज हामीले यदि नेत्रविक्रम चन्दका क्रियाकलापलाई बौद्धिक च्यालेञ्ज दिएनौं भने हामी फेरि त्यही ठाउँमा पुग्छौं । समृद्धिका लागि सशस्त्र विद्रोहको खिलाफमा हाम्रो सैद्धान्तिक अडान चाहिन्छ ।

हाम्रो संविधानले समावेशितालाई अग्रस्थानमा राखेको छ । तर, यसमा हाम्रो ध्यान गइरहेको छैन । समावेशिता कार्यान्वयन भइरहेको छैन । समावेशी राज्य संविधानको मूल मर्मभित्र पर्छ । समतामूलक समाज हाम्रो संविधानको मर्म हो

८ – सेना । नेपाल सेनालाई परे अनुसार सैनिक कार्यमा लगाउनुपर्छ । अहिले नेपाल आर्मी जसरी विस्तारै सिभिलियनले गर्नुपर्ने कार्यमा लागिरहेको छ यो लोकतन्त्रका लागि खतरापूर्ण छ । यसमा वर्तमान सरकार र वर्तमान प्रतिपक्षले केही बोलिराखेको मैले सुनेको छैन । तसर्थ धारणा हामीले नै बनाउनुपर्नेछ, व्यापार र सिभिलियन कार्यमा सेनालाई लगाउने होइन ।

नेपाल सेनालाई सक्षम, मोर्डन आर्मी बनाउनुपर्छ, साथै यसको संख्या घटाउनु र खर्च कटाउनुपर्छ । एक लाख बढीको सेना नेपाललाई चाहिंदैन । यसको मतलब सेनालाई कमजोर बनाउने हैन, अझ चुस्त बनाउने हो । त्यसपछि सेना, सेना रहन्छ, आधुनिक अस्त्र सहितको सक्षम सेना बन्छ ।

९ – समावेशिता । हाम्रो संविधानले समावेशितालाई अग्रस्थानमा राखेको छ । तर, यसमा हाम्रो ध्यान गइरहेको छैन । समावेशिता कार्यान्वयन भइरहेको छैन । समावेशी राज्य संविधानको मूल मर्मभित्र पर्छ । समतामूलक समाज हाम्रो संविधानको मर्म हो ।

१० – वातावरण । नेपालमा वातावरणतर्फ ध्यान दिनु भनेको एउटा कन्सल्टेन्सी वा एनजिओको काम जस्तो मात्र भइरहेको छ । जबकि वातावरणको आन्दोलन भनेको गाउँघरदेखि उपत्यकाका बौद्धिकहरूसम्मले बोक्नुपर्ने अभियान हो ।

बीस वर्षसम्म गुम्सिएर बसेकाले पूर्वाधार नबनेको कारण देशमा यत्रोविधि जताततै संरचना बन्दैछन्, डोजर चल्दैछन्, भवन बन्दैछन् । यस क्रममा हाम्रो प्राकृतिक सम्पदा मासिंदैछ र बोल्न हामी अन्कनाइरहेछौं । कस्तो अवस्था छ भने निजगढको ‘नि’ भन्नासाथ गाली खानुपर्ने अवस्था छ, मानौं खोल्नै नपर्ने मुख खोलिस् । तर, आफ्नो भविष्य र समृद्धि नेपालको वातावरण संरक्षणसँग गाँसिएको छ भन्ने हामीले बुझ्नुपर्छ ।

११. पब्लिक हेल्थ, पब्लिक एजुकेशन र पब्लिक ट्रान्सपोर्टेसन । सार्वजनिक स्वास्थ्य, सार्वजनिक शिक्षा र सार्वजनिक यातायात समृद्धिका सूचक हुन् । पब्लिक हेल्थको कुरा गर्ने हो भने हामी कस्तो हावा खाइरहेका छौं, योभन्दा बढी कुरा नगरौं । जनतामाझ किन यति धेरै क्यान्सर पीडित छन् । पब्लिक एजुकेशनको कुरा गर्ने हो भने हामीले विदेशीले भने अनुसार शिक्षा प्रणाली बनाएका छौं । स्कूले शिक्षा घोकन्ते विद्यामा आधारित छ । ‘अर्ली चाइल्डहुड एजुकेशन’ मा यत्रो लापरबाही छ कि बच्चाको ब्रेनको साइज पनि ठूलो हुन पाउँदैन र त्यो विचरा बच्चाले पछि केही पनि सिक्न सक्दैन । हामी बाल शिक्षाको सन्दर्भमा ठूलो क्राइसिसमा छौं । स्वस्थ र सक्षम नागरिकै हुँदैन भने समृद्धि कहाँबाट आउँछ ? सार्वजनिक यातायातको बेथितिले दिनहुँ लाखौं नागरिकले अकल्पनीय पीडा व्यहोरिरहेछन् ।

१२. विदेशिएका नेपाली कामदार फिर्ता ल्याऔं । मेरो ध्यान यतिबेला कहाँ गएको छ भने, नेपाल बाहिर कम्तीमा पनि ५० लाख नेपाली दुःख गरिरहेका छन् – छोराछोरीलाई बोर्डिङमा पढाऔंला, घरमा केही ल्याउँला भनेर । यत्रो ठूलो विदेशिएको नेपाली नागरिकको जमातले हाम्रो अर्थतन्त्रलाई टेको दिएको छ । समृद्ध नेपाल अरू कसैको लागि नभई रोजगारीका लागि विदेशिएका नेपाली नागरिक र उनका परिवारका लागि चाहिएको छ, दिलाउनु परेको छ ।
समृद्धिका लागि जुन माइलस्टोन चाहिन्छ, त्यो हो २०० वर्षदेखि विदेशिने कामदारको क्रम रोक्नु ।

जो ग्रीनकार्डका लागि पश्चिमा मुलुक गए, अष्ट्रेलिया गए, युरोप गए, त्यतातिर उनीहरूलाई हाम्रो माया र क्रियाशीलताको आवश्यकता छैन । हाम्रो ध्यान र माया कता केन्द्रित हुनुपर्‍यो भने खाडी, मलेशिया र भारतमा रहेका नेपाली नागरिक, जसले राज्यसँग आश नगरी रोजीरोटीका लागि बिरानो देश पसेका छन् ।

हाम्रो समृद्धिको सपनाको एउटा कोसेढुंगो के लगाऔं भने विदेशिएका नेपाली कामदार फिर्ता हुने अवस्था नेपालभित्र सिर्जना गरौं, ‘डिग्निटी’ सहितको रोजगारी सिर्जना गरेर ।

संविधानवाद : लोकतान्त्रिक समाजवाद

अन्त्यमा, समृद्धिको लागि चाहिने लोकतान्त्रिक स्थायित्वकोे मुख्य मान्यता र तत्व हो – संविधानवाद । हाम्रो संविधानको मर्म, धारणा, दर्शन र आधारभूत सिद्धान्तको अनुशरण बाहेक अरू कुनै बाटो छैन । अरू बाटो खोज्नेवित्तिकै हामी बरालिन्छौं । त्यतिबेला विभिन्न खालका भित्री र बाहिरी अवसरवादीहरू छिरिहाल्ने छन् । धेरै दुःखका साथ सन्तुलनमा ल्याएको नेपालको राजनीतिक यात्रा बिथोलिन्छ र हाम्रो समृद्धिको सपना अरू दुई दशक पछाडि धकेलिन्छ ।

हाम्रो अठोट हुनुपर्छ समृद्धिको लागि लोकतान्त्रिक स्थायित्व चाहिन्छ । त्यो लोकतान्त्रिक स्थायित्वको खाका यस संविधान बाहिर गए सम्भव छैन ।

संविधानका अस्पष्ट वाक्यांश या बाझिएका र सुधार गर्नुपर्ने पाटाहरू बाहेक यसको जुन संरचना छ – धर्मनिरपेक्षता, संघीयता, समावेशिता र गणतन्त्र – यसलाई माथि-तल गर्न थाल्यौं भनेदेखि तपाईं बुझ्नोस्, नेपालमा के-के हुन्छ, के-के हुन्छ ।

तर, एउटा ठूलो दलको महामन्त्रीले समेत संविधानको आधारभूत मान्यता र शब्दावलीको खिलाफमा बोलेका छन् । यो मान्य छैन । यसरी कतिपय नेताहरूले त आफैंले सही गरेको संविधानको अपनत्व लिनबाट चुकेका छन् ! यो संविधान, संविधानवाद र नागरिकको अपहेलना हो । तपाईं हामीले यसको अपनत्व लिऔं, संविधानको खुला खुला प्रतिरक्षा गरौं ।

र, यो संविधानमा ‘समाजवादोन्मुख’ भन्ने शब्द प्रयोग जुन छ, यसको परिभाषा हामीले यति मात्रै गर्‍यौं भने हामी समृद्धिको यात्रामा अगाडि बढ्छौं- संविधानमा लेखिएको ‘समाजवादोन्मुख’ भनेको संविधान अन्तर्गत लोकतान्त्रिक समाजवाद हो ।

(साझा पार्टीले शनिबार ललितपुरको स्टाफ कलेजमा आयोजना गरेको ‘साझा नीति बहस शृंखला १’ मा प्रमुख वक्ताका रूपमा पत्रकार दीक्षितले व्यक्त गरेको विचारको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment