Comments Add Comment

तरकारी खेतीबाट गुल्मीका विनोद कुँवर मासिक ७० हजार कमाउँदै

१५ भदौ, गुल्मी । रोजगारीको लागि युवा जनशक्ति विदेशीने क्रम बढी रहेका बेला गुल्मीका एक युवाले भने तरकारी खेतीबाट राम्रै आम्दानी गर्दै आइरहेका छन् । स्थानीय स्तरमा उत्पादित तरकारीले बजार भाउ राम्रो पाउन थालेपछि उनले तरकारी खेतीको समेत विस्तार गरेका छन् ।

रेसुङ्गा नगरपालिका–१० सिमीचौर मोहराईका बिनोद कुँवरले परम्परागत खेती छाडेर तरकारी खेती गर्न थालेपछि राम्रो आम्दानी गर्न थालेका हुन् । मेहनत र जाँगर भए स्वदेशमै राम्रो आम्दानी गर्न सकिने उनले बताए ।

उनले सञ्चालन गरेको कृषि फार्म उदाहरणीय बनेकै कारण विभिन्न स्थानबाट मानिसहरु अवलोकनका लागि आउने गरेका छन् । गाउँमा धेरै खेती योग्य जमिन त्यसै बाँझो बसिरहेको समयमा उनले भने बाँझो जमिनको सदुपयोग गरेका छन् । कुँवर १३ वर्षदेखि व्यवसायीक तरकारी खेतीमा आवद्ध रहेका छन् । कोदो, मकै लगायतका अन्न उत्पादन हुने जमिनमा उनले काउली, बन्दा लगायतका तरकारी उत्पादन गर्दै आइरहेका छन् ।

एक रोपनी जमिनबाट तरकारी उत्पादन गर्न सुरु गरेका कुँवरले अहिले ३० रोपनी जमिनमा तरकारी उत्पादन गर्दै आइरहेका छन् । ३० रोपनी जमिनमा उनले टमाटर, अकबरे खुर्सानी, सिम्लामृच, तितेकरेला, लौका, बोडी, बन्दा गोेभी, फूल गोभी, मूला, भेन्टा, अदुवा लगायतका मौसमी र बेमौसमी तरकारी लगाएका छन् ।

कुँवरले तरकारी खेतीसँगै माछा, टर्कीचरा, लोकल र बोइलर कुखुरा र बाख्रा समेत पालेका छन् । सामान्य रुपमा कृषि पेशमा लागेका कुँवरले राम्रै आम्दानी गर्न थालेपछि अहिले आफ्नो व्यवसायलाई पनि विस्तार गर्दै लगेको उनले बताए ।

उनले जमिन भाडामा लिएर तरकारी खेती सञ्चालन गर्दै आइरहेका छन् । तरकारी उत्पादन गर्न सिँचाईको अभाव रहेपनि उत्पादित तरकारीको बजार भने अभाव नरहेको उनले बताए । उनले उत्पादन गरेका तरकारी तम्घास बजारसँगै बुटवल भैरहवासम्मा पुग्ने गरेको छ । ४५ लाख रुपैयाँ भन्दाबढी लगानी गरेर सञ्चालन गरेको उनको कृषि फर्ममा अहिले ३ जनाले दैनिक ज्याला दारीमा काम गर्दै आइरहेका छन् ।

बिहान उठेदेखि नै तरकारीबारीमा कुँवर दम्पती व्यस्त हुने गर्छन् । उनीहरुले उत्पादन गरेको तरकारीको वार्षिक ३० लाख रुपैयाँ भन्दा बढीको कारोवार हुने गरेको कुँवरले बताए । जसबाट मासिक ७० हजार रुपैयाँ भन्दाबढी आम्दानी हुने गरेको उनले बताए ।

टनेल बनाएर तरकारी उत्पादन गर्दै आएका कुँवरले पछिल्लो समय नयाँ प्रबिधिको पनि प्रयोग गर्न थालेका छन् । उनले मल्चीङ्ग प्रबिधिबाट तरकारी खेती सुरु गरेपछि धेरै राहत मिलेको उनले बताए ।

कुँवरले अहिलेसम्म तरकारी खेतीका लागि कुनै पनि तालिम लिएका छैनन् । खेती गर्दै जाँदाको अनुभवले आफूलाई तरकारी खेती गर्न सिकाएको अनुभव उनको छ । उनको तरकारी खेती अवलोकन गर्न आउने प्राविधिकहरुले तरकारी खेतीबारे दिएको सुझावलाई व्यवहारमा उतार्दै लैजाँदा तरकारी उत्पादनमा सहज भएको कुँवरले बताए ।

अनुभवले नै सिक्दै आएका कुँवरले हाइटेक टनेलहरु र बजारीकरणको लागि गाडीको आबश्यक रहेको बताए । कृषकको समस्या पहिचान गरेर सरकारले कृषकलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनु पर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment