
१८ भदौ, सर्लाही । सर्लाही ईश्वरपुर नगरपालिकाका नेकपा इञ्चार्ज योगनारायण धामीले मलंगवाका श्यामकृष्ण साह ‘परदेशी’सँग २ लाख ७० हजार ऋण लिए ।
त्यसवापत धामीले साविकको बलबा सोकनाहा गाविस वडा नम्बर २ ‘ख’ कित्ता नम्बर २२५ को घरसहित २ कठ्ठा ५ धुर जग्गा परदेशीकी छोरी ईलाको नाममा पास गरिदिए ।
पछि परदेशीले ईलाको नाममा आएको जग्गा आफ्नी पत्नी मञ्जुको नाममा नामसारी गराए । परदेशीले धामीको जग्गामात्र हात पारेनन्, एक–एक करोडको एउटा र ३१ लाख २० हजारको अर्काे एक गरी तीन वटा छुट्टाछुट्टै तमसुकसमेत बनाए ।
परदेशी पक्राउ परेपछि अनलाइनखबरको सम्पर्कमा आएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ईश्वरपुर नगरपालिका इञ्चार्ज धामी भन्छन्, ‘२०७२ सालमा बुवाको उपचार गराउन भन्दै परदेशीसँग २ लाख ७० हजार ऋण लिएको थिएँ, तर उनले जालसाजी गरेर मेरो घर र जग्गा हडपेका छन् ।’
यो दृष्टान्तले थाहा हुन्छ, परदेशीको ऋणको पासोमा सर्लाहीका सर्वसाधारण जनतामात्र होइन, नेतासमेत परेका छन् । नेकपाभित्रै परदेशीलाई कारबाही गराउने र जोगाउने दाउ चलिरहेको बेला नेकपाकै नेता पनि पीडित बनेको तथ्य बाहिर आएको हो ।
ऋण दिएकोभन्दा चार–पाँच गुणाबढी रकम असुल्ने र असुलिसकेपछि पनि मुद्दा हालेर जेलसम्म पुर्याउने सर्लाही मलंगवाका श्यामकृष्ण साह ‘परदेशी’ हाल पक्राउ परेका छन् ।
तर, उनलाई जोगाउन नेकपाका नेताहरु नै लागेको चर्चा नेकपा वृत्तमा चलिरहेको छ ।
प्रचण्डको आश्वासन र नेकपा कार्यकर्ताको भूमिका
न्याय दिलाइदिन माग गर्दै परदेशीबाट पीडित ऋणीहरुले केही हप्तासम्म काठमाडौंको माइतीघरमा भेला भएर प्रदर्शन गरे ।
पर्चा र पम्पलेट छरे । गृहमन्त्री रामबहादुर थापालाई समेत भेटेर आफ्ना समस्या सुनाए । तर कतैबाट सुनुवाइ नभएपछि उनीहरु भदौ १३ गते नेकपा अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पुगेर समस्याको पोको फुकाए ।
उनीहरुलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तीन–चार सय वर्ष अगाडि यस्तो हुन्थ्यो भनेर किताबमा पढिन्थ्यो । अहिले पनि त्यस्तै अन्याय, शोषण, अत्याचार तपाईंहरुले भोग्नु भएको रहेछ । हामी गृहमन्त्रालय, वकिल, महान्यायाधीवक्ता सबै बसेर यो जालसाजी र अत्याचारबाट कसरी मुक्त गराउने भन्नेबारेमा सामूहिक रुपले कुरा गर्छौं र यसको हल हरहालतमा निकाल्छौं ।’
प्रचण्डले यस्तो आश्वासन दिएको दुई दिनपछि परदेशी पक्राउ परे ।
तर, मिटरब्याजी परदेशीलाई पक्राउ गराउनेदेखि उनलाई जोगाउने दोहोरो भूमिका सत्तारुढ नेकपाकै नेता–कार्यकर्ताहरुले गरेका खुलासा भएको छ ।
परदेशीले ऋणीहरुलाई अत्यधिक मानसिक तनाव दिएपछि गत माघमा पीडित महिलाहरुको समूहले परदेशीका छोरालाई नियन्त्रणमा लिएपछि नेकपा केन्द्रीय सदस्य रेवती पन्तले सहमति गराउँदै उनका छोरा उम्काएका थिए । त्यसबेला परदेशीले लिएको ऋणको दोब्बर रकम तिरिदिए मुद्दा फिर्ता लिने सहमति उनले गराएका थिए । तर यो कार्यान्वयन नभएपछि पन्तले परदेशीलाई उम्काउन खोजेको देखिएको पीडितहरुको भनाइ छ ।
नेकपाका प्रदेश कमिटी सदस्य कमल बुढाथोकी पनि पार्टीका केही नेता परदेशीलाई बचाउनेतिर लागेको बताउँछन् । तर यसले केही फरक नपार्ने उनको भनाइ छ । ‘परदेशीकै पक्ष लिने थोरै मात्र छन्, यसले कुनै फरक पार्दैन,’ बुढाथोकी भन्छन् ।
नेकपाका सर्लाही जिल्ला इञ्चार्ज दाताराम वाग्ले पार्टीका साथीहरुले विगतमा गराएको सहमति समस्या समाधानकै निम्ति भएको बताउँछन् । ‘अहिलेको अवस्थामा कोही पनि उनको पक्षमा जान सक्दैनन्,’ वाग्लेले अनलाइनखबरसँग भने, ‘पीडितहरुलाई न्याय दिलाउन पार्टी केन्द्रीय कमिटीबाटै निर्णय भएकाले यो निर्णयविरुद्ध जाने जोकोहीलाई पनि कारबाही हुन्छ ।’
प्रतिक्रिया 4