+
+
Shares

एनआरएनएमा रस्साकसी : कसको कुन पदमा दाबी ?

विधान छलेर गोप्य प्यानल, कम्युनिष्ट र कांग्रेसको साथ खोजिँदै

वसन्त रानाभाट वसन्त रानाभाट
२०७६ भदौ २२ गते १३:०७

२२ भदौ, बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यबीच चुनावी भिडन्त हुने लगभग निश्चित भएको छ । चुनावी प्रचार-प्रसार र भेटवार्तामा दुबै उपाध्यक्षले तीव्रता दिएसँग अब सहमतिको सम्भावना न्यून बनेको छ ।

दुई-दुई पटक उपाध्यक्षमा रहेर काम गरेका पन्त चुनावी मैदानबाट नहट्ने निश्चित नै थियो । अर्का उपाध्यक्ष आचार्यको उम्मेदवारीलाई सुरुवातमा हल्लाका रुपमा मात्र लिइएको थियो । तर, आचार्यले चुनावी मैदानबाट कुनै पनि हालतमा पछि नहट्ने दृढता देखाएपछि अहिले निर्वाचनको माहौल तातिएको छ ।

गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन आगामी असोज २८ देखि कात्तिक १ सम्म काठमाडौंमा हुँदैछ ।

आचार्यले अध्यक्षमा प्रतिस्पर्धा गर्ने विषयलाई अध्यक्षका दाबेदार मानिएका कुमार पन्तले पनि स्वीकार गरेका छन् । पन्तले अनलाइनखबरसँग भने, ‘उहाँ अहिले नै मैदानमा नआएको भए हुन्थ्यो, तर लोकतान्त्रिक पद्दतिलाई हामीले स्वीकार गर्नैपर्छ ।’

दुबैजना अध्यक्षमा लड्ने हेक्का पाएपछि अन्य मुख्य पदका आकांक्षी उम्मेदवारहरु पनि आफू कुन समूहतर्फ लाग्ने भन्नेबारे विस्तारै खुल्न थालेका छन् ।

अन्तर्राष्ट्रिय महाधिवेशनमा मुख्य पदहरुमा दाबी गरेका १० भन्दा बढी उम्मेदवारहरुसँग अनलाइनखबरले गरेको कुराकानीको आधारमा उनीहरुको रोजाइ पन्त समूह रहेको छ । यसअघिका चुनावमा पराजित भएका उम्मेदवारहरुले पनि पन्तको टीमभित्र रहन कसरत गरेका छन् । उता, आचार्य समूहबाट चुनाव लड्ने उम्मेदवारहरु पनि विस्तारै खुल्न थालेका छन् ।

विधान छलेर गोप्य प्यानल

एनआरएनमा प्यानल नै बनाएर चुनाव लड्न विधानले बन्देज लगाएको छ । तर, विधानको आँखा छलेर राष्ट्रिय समन्वय परिषदको अधिवेशन हुँदै अन्तर्राष्ट्रिय समन्वय परिषदसम्म आन्तरिकरुपमा प्यानल तयार पार्ने एनआरएनमा चलीआएकै परम्परा हो । यस्तो आन्तरिक तयारीलाई भने विधानको आँखा छल्ने विकल्पका रुपमा हेरिँदै आएको छ ।

यसपटक पनि गोप्य प्यानलको प्रारम्भिक खाका दुवै समूहले कोरिसकेका छन् । त्यस्तो प्यानल तयार गर्दा मुख्य रुपमा चारवटा पक्षलाई ध्यान दिने गरेको मुख्य पदका आकांक्षी उम्मेदवारहरु बताउँछन् ।

१) पूर्वअध्यक्षहरुलाई नजिक लिएर सुझावसहित उनीहरु निकट उम्मेदवारहरुलाई समेट्ने

२) पूर्वअध्यक्षहरुले खुलेर साथ नदिएको खण्डमा दोस्रो विकल्प रोज्ने । आफूनिकट राजनीतिक दलका नेताहरुसँगको भेटघाट तथा दलका प्रवासी संगठनहरुलाई मुख्य आधार बनाउने

३) एक र दुईको विकल्प रोजाइपछि क्षेत्रगत रुपमा समेट्ने गरी उम्मेदवारहरु खोज्ने

४) तीनवटै विकल्प प्रयोग गरेपछि पेशा, समूह, जाति जनजातिलाई समेटेर समावेशी टिमका रुपमा प्रचार गर्ने ।

हाल पन्त समूह पहिलो विकल्पबाट र आचार्य समूह दोस्रोबाट प्रेरित देखिन्छ । तर, दुबैले आफ्नो समूहलाई पूर्णता दिन तेस्रो र चौथो विकल्पमा पनि ध्यान केन्द्रित गर्दै विश्व भ्रमण गरिरहेका छन् ।

पन्त नेकपानिकट र आचार्य कांग्रेस निकट ठानिए पनि एउटै समूहमा पनि फरक-फरक राजनीतिक विचार बोकेका उम्मेदवारहरु पनि देखिएका छन् ।

पूर्वअध्यक्षहरुको समर्थन कसलाई ?

दुवै उम्मेदवारहरुले अग्रजहरुको सल्लाहले नै आफू अघि बढेको दाबी गर्दै आएका छन् । पन्तलाई संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र पूर्वअध्यक्ष जीवा लामिछानेले समर्थन रहेको पन्तनिकट सूत्रको दाबी छ । पूर्वअध्यक्ष लामिछाने र आचार्यबीच भने एनआरएनए अभियानमा त्यति गहिरो सम्बन्ध भने ठानिँदैन ।

खासगरी अहिलेको निर्वाचनमा पूर्वअध्यक्ष शेष घले र उनी निकटको टिमको भूमिकाले महत्वपूर्ण प्रभाव पार्ने ठानिएको छ । रोममा सम्पन्न युरोपियन बैठकमा घलेले आफूहरुलाई समर्थन गर्ने वचन दिएको पन्त निकट सूत्रको दाबी छ । सोनाम लामा (अमेरिका) त्रिलोक गुरुङ (एसिया प्यासिफिक), जानकी गुरुङ (युरोप) र एसी शेर्पा (अमेरिका)लाई पन्त टिममा राख्ने कुराकानी भएको उनीहरुको दाबी छ ।

तीनजनाको कुरा मिलिसकेको, तर बेल्जियम निबासी गुरुङले महासचिवमा ईच्छा ब्यक्त गर्नाले अप्ठ्यारो परेको पन्त निकटवर्ती बताउँछन् । पन्त समुहबाट नै बेलायतका डा. हेमराज शर्मा महासचिव पदका उम्मेदवार हुन् । महिला उपाध्यक्षमा गुरुङलाई प्रस्ताव गरे पनि फाइनल भइनसकेको उनीहरुको भनाइ छ ।

उता, बर्तमान महासचिव डा. बद्री केसी र कोषाध्यक्ष हिक्मत थापाले पनि पन्त समूहबाट नै उपाध्यक्ष पदमा उम्मेदवारी दिने यसअघि नै पक्का भएको स्रोतको दाबी छ । सोही समूहबाट सचिवमा गौरीराज जोशी (अमेरिका), आरके शर्मा (मध्यपूर्व ), शिवकुमार बरुवाल (युरोप) को नाम चर्चामा छ । कोषाध्यक्षमा जापानका महेशकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा अमेरिकाबाट एसी शेर्पाले पन्त समूहलाई रोजेको बताइन्छ ।

लामा र गुरुङ पन्त समूहबाट उपाध्यक्ष पदमा चुनाव लड्ने दाबी गरिरहँदा आचार्य निकट सूत्रले भने त्यसको खण्डन गरेको छ । बेल्जियम निवासी गुरुङ आफ्नै टिममा रहेको बताउँदै पूर्वअध्यक्ष घलेको समर्थन आफूलाई रहेको दाबी आचार्य निकट समूहले गरेको छ ।

आचार्य समूहका लागि महासचिवमा पद निकै कठिन बनेको छ । जानकी गुरुङ (युरोप), केशव पौडेल (अमेरिका) र डीबी क्षेत्री (मध्यपूर्व) तीन जनाकै दाबी महासचिवमा छ ।

जापान रहेका बेला आचार्यलाई तपाईको टिममा को-को छन् भन्ने अनलाइनखबरको प्रश्नमा उनले प्यानल बनाएर चुनाव नलड्ने बताए । उनले भने, ‘यसलाई ख्याल गर्नुहोला, यो कुल आचार्यको प्यानल होइन । तर, सर्वमान्य गैरआवासीय नेपालीहरुको टिम बनाएर अगाडि बढ्छौं । केही समय प्रतिक्षा गर्दिनुहोला । सबै प्रष्ट नै हुनेछ ।’

आचार्यले मन केसी, त्रिलोक गुरुङ, जानकी गुरुङ, केशव पौडेल, डीबी क्षेत्री, किरण थापा, नरेन्ऽ भाटलगायतका आकांक्षी उम्मेदवारहरुसँग आफूले छलफल गर्दै अगाडि बढिसकेको बताए ।

यता एनआरएनएका वर्तमान अध्यक्ष भवन भट्टले पनि पूर्वसहमति अनुसार आफूलाई समर्थन गर्ने पन्त समूहको दाबी छ । तर, भट्टले भने अध्यक्ष बाहेकका उम्मेदवारहरुलाई मात्र आफूले खुलेर सहयोग र समर्थन गर्ने बताउँदै आएको उनी निकट सूत्रले जनाएको छ ।

किन आचार्य पछि हटेनन् ?

यसअघि भवन भट्ट र कुमार पन्तले दुई/दुई पटक उपाध्यक्ष पद दोहोर्‍याएका थिए । त्यसैले पनि अहिलेका उपाध्यक्ष कुल आचार्यले अन्तिम समयमा पुनः उपाध्यक्ष दोहोर्‍याउन सक्ने धेरैको अनुमान थियो । तर, आचार्य अध्यक्षको दौडबाट पछि हट्ने सम्भावना देखिँदैन ।

आचार्य आफूलाई कहिल्यै पनि सहमतिका लागि गम्भीर प्रस्ताव नआएको बताउँछन् । अर्कोपटक आचार्यलाई अध्यक्ष छाड्ने त कुरै नगराैं, यसपटक नै उपाध्यक्षमा पनि हराउने र सन् २०२१ को चुनावी बाटोसमेत बन्द गरिदिने योजना थाहा पाएपछि आचार्य चुनावमा होमिएको उनी निकट सूत्र बताउँछ ।

अर्कोतर्फ आचार्यले चुनाव नलडे प्रजातन्त्रवादी उम्मेदवार उठाउने चेतावनी डेनमार्कको कांग्रेस भेलाले दिएपछि आचार्य मुख्यरुपमा चुनावमा होमिएको बताइन्छ ।

उता पेरिसमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका पन्तलाई पनि दुईतिहाइ सरकारले पूर्ण समर्थन दिएको बताइन्छ ।

अब दुवै पक्षबीच सहमतिको सम्भावना करिब-करिब सकिएको छ । काठमाडौँमा चुनाबी प्रक्रियाबाटै नयाँ नेतृत्व चुनिने दुवै प्रत्यासी निकट उम्मेदवारहरु बताउँछन् ।

चुनावी मुद्दा

एनआरएन युकेको नवौं अधिवेशनलाई शनिबार सम्बोधन गर्दै कुमार पन्तले आफ्नो प्रमुख मुद्दा ‘भिजन ट्वान्टी-ट्वान्टी एण्ड वियोन्ड’ रहेको बताए । भिजन ट्वान्टी-ट्वान्टी एण्ड वियोन्ड पूर्वअध्यक्ष शेष घलेले अघि सारेको एनआरएनको भावी कार्यदिशा हो । यसमा एनआरएनले के-के गर्ने भन्ने नीति तथा कार्यक्रम उल्लेख छन् ।

आठौं विश्व सम्मेलनबाट पारित भएको भए पनि यो कार्यदिशालाई अध्यक्ष भट्ट नेतृत्वको कार्यसमितिले ठोस रुप दिन सकेन । तत्कालीन अध्यक्ष घलेले अबको १० वा २० वर्षमा संस्था कस्तो बनाउने भन्ने योजना बनाउन सकेनौं, त्यही अनुसारको सिस्टम बनाउन सकेनौं र संस्था केही सीमित व्यक्तिको वरिपरि घुमिरहने अवस्था रह्यो भन्दै दुई वर्षअघि नै भिजन ट्वान्टी-ट्वान्टीको धारणा अघि सारेका थिए ।

पन्तले भिजन ट्वान्टी-ट्वान्टीमा सबै विषय समेटिएको भन्दै त्यसैलाई कार्यान्वयन गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

अर्का प्रत्यासी आचार्यले खाडी, मलेसियालगायतका मुलुकहरुमा कार्यरत नेपालीहरुको जीवन रक्षा तथा वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउने, संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकता विधेयकलाई हाम्रो चाहना अनुसार पारित गराउन ठोस भूमिका निर्वाह गर्ने र संसारभरि फैलिएका नेपालीहरुको सीप, क्षमता, आर्थिक तथा बौद्धिक लगानी स्वदेश भित्र्याउने आफ्नो एजेण्डा रहेको बताउँदै आएका छन् ।

अध्यक्षका दुबै उम्मेदवारले घोषणासभाको आयोजना गरेर आˆना प्रतिवद्वता छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।

मुख्य पदमा क-कसको दाबी ?

अन्तर्राष्ट्रिय महाधिवेशनमा खुल्लातर्फ ४ उपाध्यक्ष पदका लागि हालसम्म १० जना उम्मेदवारहरुले दाबी गरेका छन् । युरोपबाट डा. बद्री केसी, अर्जुनकुमार श्रेष्ठ र थर्क सेन अमेरिकाबाट सोनाम लामा र रबिना थापा र अफ्रिकाबाट हिक्मत थापाले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । यस्तै ओसेनियाबाट धर्मराज अधिकारी र मन क्षेत्री, एसिया प्यासिफिकबाट त्रिलोक गुरुङ, किरणबिक्रम थापा र मध्यपूर्वबाट नरेन्ऽ भाटले उपाध्यक्षमा दाबी गरेका छन् ।

महिला उपाध्यक्षमा ओसेनियाबाट रञ्जु वाग्ले थापाले उम्मेदवारी दिने बताएकी छिन् । वर्तमान उपाध्यक्ष सपीला राजभण्डारी र महिला संयोजक रजनी प्रधानले आफ्नो उम्मेदवारीबारे हालसम्म बोलेका छैनन् । तर, राजभण्डारीले पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने सम्भावना रहेको उनका निकटस्थहरु बताउँछन् ।

महासचिव पदका आकांक्षी अहिलेसम्म ४ जना देखिएका छन् । युरोपबाट डा. हेमराज शर्मा र जानकी गुरुङ, अमेरिकाबाट डा. केशव पौडेल र मध्यपूर्बबाट डीबी क्षेत्रीले महासचिवमा दाबी गरेका छन् ।

सचिवमा गौरीराज जोशी (अमेरिका), आरके शर्मा (मध्यपूर्व ) र युरोपबाट शिवकुमार बरुवाल र बिनय अधिकारीले उम्मेदवारी दिने बताएका छन् ।

यस्तै कोषाध्यक्ष पदका लागि एसिया प्यासिफिकबाट महेशकुमार श्रेष्ठ, सुदन थापा र युरोपबाट सोम सापकोटाले दाबी गरेका छन् ।

सहकोषाध्यक्षमा युरोपबाट गोबिन्द गौतम, लोक दाहाल र अमेरिकाबाट एसी शेर्पाले उम्मेदवारी दिने बताएका छन् ।

महिला संयोजकमा युरोपबाट संगीता मरहट्टा, एसिया प्यासिफिकबाट जुनु गुरुङ र अमेरिका क्षेत्रबाट प्रमिला बस्नेतले उम्मेदवारी दिने जनाएका छन् ।

युवा संयोजकमा भने गत अधिवेशनमा झिनो मतले पराजित ओसेनियाका स्वतन्त्रप्रताप शाह र मध्यपूर्वबाट सुदीप कार्कीको चर्चा छ । तर, अधिवेशन नजिकै गर्दा विभिन्न पदका लागि उम्मेदवारहरुको संख्या स्वाभाविकरुपले बढ्दै जाने देखिन्छ ।

तेस्रो समूहको सम्भावना छ ?

‘गैरआवासीय नेपाली संघमा सन् २०१३ देखि २०१७ को कार्यकालमा १ अर्बभन्दा धेरै स्रोत बिकास भएको थियो । ५० करोड भन्दा धेरै रकम संघको खातामा थियो । तर २०१७/२०१९ को कार्यकालमा आउँदा भने त्यो घटेर नेगेटिभ ब्यालेन्स भयो भन्ने सुनेको छु,’ सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै अमेरिकाबाट एसी शेर्पाले सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तै शेष घले निकट ठानिएका उपाध्यक्षका अर्का उम्मेदवार सोनाम लामाले पनि संघको खाता रित्तिएकोमा चिन्ता प्रकट गरे । अनलाइनखबरसँग कुराकानी गर्दै उनले भने, ‘दुई वर्षको यो कार्यकालमा ठूलो रकम रित्तिएको छ । यसमा शेष दाइ पनि चिन्तित हुनुहुन्छ । हामी अन्तर्राष्ट्रिय महाधिवेशनमा यसबारे आवाज उठाउँछौं । यसमा अध्यक्ष भट्टजी हुन् वा दुई उपाध्यक्ष पन्त र आचार्य, सबै जिम्मेवार हुनुपर्छ ।’

लामाले गत रोम बैठकबारे खुलासा गर्दै भने, ‘पन्तजीले दुई-दुई पटक उपाध्यक्ष र महासचिव भइ काम गर्नुभएको हो, संस्थागत बढी अनुभव भएकाले पनि मलाई उहाँसँग जोडिएर काम गर्न मन लागेको हो ।’

तर, पन्त कम्युनिष्ट र आचार्य कांग्रेस भनेर चिनिनु समग्र गैरआवासीय नेपाली संघकै लागि नोक्सान रहेको पनि लामा बताउँछन् । उनी भन्छन्, ‘हामी संस्थाको हित चाहान्छौं । स्वतन्त्र रुपमा चुनाव लड्छौं । संस्थाको अवस्था दिन-प्रतिदिन चिन्ताजनक छ, यसलाई मिलेर उकास्नुपर्छ ।’

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?