+
+

भिडियो रिपोर्ट- डेंगु प्राणघातक होइन भन्दा बिरामीले पत्याएनन्

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २७ गते ०:३०

२६ भदौ, काठमाडौं । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा पुग्दा बिहीबार सानोतिनो मेलाजस्तै थियो । डा. शेरबहादुर पुन डेंगुका आशंकित बिरामीले घेरिएका थिए । बाहिर थामिनसक्नु भीड थियो । अधिकांशको प्रश्न थियो- डाक्टर साब मलाई डेंगु भएको हो ? अब म बाँच्छु त ?

डेंगु आतंक यस्तो गरी मच्चिएको छ कि, सामान्य ज्वरो र जिउ दुख्ने विरामी पनि आत्तिँदै अस्पताल पुगिरहेका छन् ।  ‘असार महिनातिर सिरिञ्ज आतंकले जसरी आम मान्छेलाई आतंकित पारेको थियो, अहिले डेंगुको अवस्था ठीक त्यस्तै छ’ यसबीचमा सयौं बिरामीको परीक्षण गरेका डा.पुनले भने ‘च्वास्स कतै दुख्यो भने पनि मलाई सिरिञ्ज हान्यो भनेर आउने र अहिले डेंगु भयो भनेर आउने उस्तै छन् ।’

डेंगुको परीक्षण गर्ने केन्द्रीय ल्याब भएका कारण शुक्रराज ट्रपिकल अस्पतालमा सर्वसाधारणको भीड लाग्नु सामान्य हो । तर, काठमाडौंका निजी र महंगा अस्पतालमा पनि डेंगु प्रभावित तथा डेंगु आशंकित बिरामीको संख्या उल्लेख्य बढिरहेको छ ।

धुम्बाराहीस्थित हृयाम्पस अस्पतालमा ६ जना डेंगु प्रभावित विरामीलाई भर्ना गरेरै राखिएको छ । त्यहाँ दिनमा १५ देखि २० जना डेंगुको उपचारका लागि पुगेका छन् । डेंगु प्राणघातक रोग होइन, पानी पिएर आराम गर्दा ठीक हुन्छ भन्दाखेरि पनि बिरामीले नपत्याएको डाक्टरहरुको भनाइ छ ।

हृयाम्सका विशेषज्ञ डाक्टर अनुप सुवेदीलाई भेट्न जाँदा उनी पनि डेंगु आशंकित बिरामीको परीक्षणमा थिए । उनी डेंगु हुनासाथ ज्यान जाने होइन भन्दै विरामीलाई परामर्श दिइरहेका थिए ।

‘डेंगु प्राणघातक रोग होइन, महंगो खर्च गरेर ल्याब परीक्षण पनि नगरे हुन्छ भन्छौं तर, विरामीको मनले मान्ने कुरा भएन’ डा.सुवेदी भन्छन् ‘विश्व स्वास्थ्य संगठनले २० प्रतिशत डेंगुका बिरामीको मृत्यु हुने आंकलन गरे पनि डेंगुबाट मर्नेको संख्या १ प्रतिशतभन्दा तलै छ ।’

विशेषज्ञहरुले डेंगु पोजेटिभ देखिएका बिरामीलाई प्रशस्त पानी पिउन र घरमा आराम गरेर बस्न सुझाव दिने गरेका छन् । तर मान्छेको मन त हो, डेंगु प्राणघातक रोग हो भनेर फैलिएको आतंकले सबैलाई प्रभावित पार्ने नै भयो ।

यसै सन्दर्भमा अनलाइनखबरले तयार पारेको यो स्थलगत भिडियो रिपोर्ट- 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?