+
+

वैवाहिक जीवनमा मित्रता हावी हुन थालेपछि

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १ गते १२:२०

मिना एक कामकाजी महिला हुन् । हप्ताको छ दिन उनको दैनिकी यन्त्रवत रहन्छ । धपेडी एवं व्यस्ततामा बित्छ । घर र अफिसको काममा उनी यति धेरै व्यस्त हुन्छिन्, उनलाई अन्य कुनै कुराको बारेमा सोच्न समय नै हुँदैन ।

हप्ताका छ नै दिन वीकेन्ड (शुक्रवार साँझदेखि शनिवार साँझसम्म) मा के गर्ने कुराले मात्र पनि उनी आफ्नो सम्पूर्ण थकान बिर्सिन्छिन् । मिनाले आफ्ना पछिल्ला दुई वटा सप्ताहन्त आफ्नो श्रीमान् भूषणका नातेदारसंग बिताएकी थिइन् । र, यो सप्ताहन्तमा उनले आफ्ना अफिसका साथीहरुसंग बिताउने योजना बनाएकी थिइन् । जब उनले आफ्नो योजना श्रीमान्लाई सुनाइन्, उनको सोचाइ विपरित श्रीमान्ले उनका सम्पूर्ण योजना भताभुङ्ग पारिदिए ।

त्यसको ठिक विपरित मिनाका श्रीमान् भने आफ्ना बाल्यकालका साथीहरुसंग समय-समयमा मिनालाई एक्लै छाडेर वीकेन्ड मनाउन जान्थ्ये । त्यस कुरामा मिनाले आपत्ती जनाइन् भने उनी तिमीसंग त म सधैं रहन्छु तर साथीहरुसंग कहिलेकाहीँ बस्ने त हो नि भनेर एकै किसिमको जवाफ दिन्थे ।

भूषणका अधिकांश साथीहरु अविवाहित थिए । उनीहरुको सप्ताहन्त ब्याचलर्स पार्टी जस्तो हुन्थ्यो ।  साथीहरुसंगको रमाइलोका कारण भूषण आफ्नी श्रीमतीसंग पनि वीदाको समय संगै बिताउनु पर्छ भन्ने कुरा बिर्सिन्थे ।

प्रायः दम्पतिहरुको बीचमा यस्ता समस्याहरु आइरहेका हुन्छन् । श्रीमान्-श्रीमतीहरुले आफ्नो अमूल्य समयको ठुलो भाग आफ्नो साथीहरुमा खर्चिने गर्छन् । केही महिलाहरु पनि आफ्नो साथी-संगिनीसंग रमाउने क्रममा आफ्नो घरपरिवारलाई नै वेवास्ता गर्न थाल्छन् । कहिलेकाहीँ साथीभाईसंग रमाउनु, समय बिताउनु राम्रै कुरा हो, तर त्यही रमाइलोले जब दाम्पत्य जीवनमा नकारात्मक असर पर्न थाल्छ, तब धेरै किसिमका समस्याहरु उत्पन्न हुन थाल्छन् ।

साथीभाईको साथ सबैभन्दा प्यारो

मित्रता हाम्रो जीवनको महत्वपुर्ण अंग हो भन्ने कुरामा दुईमत छैन । प्रायः साथीहरु विवाह अगाडि नै बनिसकेका हुन्छन् । त्यसैले उनीहरुको भूमिका हाम्रो जीवनमा निश्चित र प्रभावशाली हुन्छ । हामी आफ्नो सुख, दुःख र हरेक कुराहरु उनीहरुसंग शेयर गर्छौ । यहाँसम्म कि हामी हाम्रो जीवनसाथीलाई बताउन अफ्ठ्यारो लाग्ने कुरा पनि साथीसंग सजिलै बताउने गर्छौं ।

साथीसंगको सम्बन्धमा कुनै किसिमको बन्धन अथवा बाध्यता हुँदैन,  तर जीवन साथीसंगको सम्बन्धमा नियम-कानून र कतव्र्यहरुले घेरिएको हुन्छ । मित्रताको आकाश विस्तृत हुन्छ, जहाँ हामी बेलगाम वालद जस्तै रमाउने गर्छौ । त्यस्तो रमाइलो सम्बन्धबाट टाढा हुने इच्छा कसैको हुँदैन ।

तर हरेक सम्बन्ध जस्तै मित्रताको पनि आफ्नै मर्यादा हुन्छ । मित्रतामा पनि एउटा सीमा हुन्छ, जसलाई पार गर्नु भनेको अन्य सम्बन्धमा पनि असर पुर्‍याउनु हो । तपाईको मित्रताप्रतिको बढि लगावका कारण तपाईको दाम्पत्य जीवनमा हलचल उत्पन्न हुनु हुँदैन ।

विशेष गरेर आजको व्यस्त र भागम भागको जीवनमा आफ्नो वीदाको समयलाई आफ्ना मित्रहरुमा समर्पण गर्नु भनेको आफ्नो जीवनसाथीको आवश्यकता र मायाको अपमान गर्नु बराबर हो । यदि तपाई आफ्नो व्यस्त दिनचर्यामा आफ्नो मूल्यवान समय आफ्नो मित्रसंग बिताउन चाहानु हुन्छ भने आफ्नो जीवनसाथीको अनुमति लिनु अति नै आवश्यक हुन्छ ।

मित्रताको सीमा

केही महिला तथा पुरुष आफ्नो बाल्यवस्थाको मित्रप्रति संवेदनशील हुन्छन् भने कोहि आफ्नो अफिसको साथीप्रति । कुनै महिला त आफ्नो मिल्ने साथीको फोन आयो भने मात्र पनि आफ्नो सबै काम बिर्सेर फोनमा लिप्त नै हुन्छन्, जसका कारण श्रीमान् र छोराछोरी भोकै स्कुल जानु पर्ने अवस्था आउन सक्छ ।

त्यस्तै कति पुरुषहरु आफ्नो अफिसियल भेटघाटमा यति व्यस्त हुन्छन्, उनीहरुले आफ्नो जीवनसाथी प्रतिको जिम्मवारी नै बिर्सन्छन् । यस बाहेक अफिसमा कामको क्रममा प्रायः व्यक्तिको विपरीत लिङ्गप्रतिको आकर्षण र मित्रताले त झन् अर्के वातावरण उत्पन्न गराउँछ ।

त्यसप्रकारको सम्बन्धले त झन् श्रीमान् र श्रीमतीबीचमा धेरै नै समस्या उत्पन्न गराउँछ । कहिलेकाहीँ राती ढिलासम्म पार्टी त कहिले अफिसियल टूर अनि कहिले कुबेला आउने फोन, एसएमएस, ईमेल र रातभरको च्याटिङ ।

त्यस प्रकारको मित्रतामा आफ्नो जीवनसाथीको गुनासो रहेको खण्डमा प्रायःको  हामी एउटा राम्रा साथी हौ, अरु केही होइन भन्ने जवाफ हुन्छ । तर तपाईंको यस्ता व्यवहारका कारण तपाईंहरु एक असल साथी मात्र हो भन्ने कुरा पचाउन तपाईको जीवनसाथीलाई सहज हुँदैन ।

मित्रता र दाम्पत्य जीवनको आफ्नै महत्व

मित्रतालाई कुनै कुरासंग पनि तुलना गर्न सकिदैन भन्ने कुरा सही हो, तर त्यही मित्रताले तपाईंको दाम्पत्य जीवनमा असर पुर्‍याउँछ अनि तपाईको दाम्पत्य जीवनमै हावी हुन्छ भने त्यस्तो मित्रता नोक्सानदायक हुन्छ ।

विवाह अगाडि हाम्रा राम्रा-नराम्रा सबै क्रियाकलापको जवाफदेही केवल हामी मात्र हुन्छौं । त्यसैले हामी आफ्नो मनमानी गर्न सक्छौ । तर विवाहपछि हाम्रो प्रत्येक गतिविधिको सीधा प्रभाव हाम्रो जीवनसाथीमा पर्छ । त्यसैले हाम्रा त्यस्ता सबै क्रियाकलाप र सम्बन्ध, जसले हाम्रो दाम्पत्य जीवनलाई प्रभावित पार्छ, त्यस्ता सम्बन्धलाई सीमित गर्नु नै बुद्धिमानी हुन्छ ।

धेरै श्रीमानहरुचाहेर पनि आफ्ना घनिष्ठ मित्रहरुलाई नाईं भन्न सक्दैनन् । जोइटिंग्रे भन्ने डरका कारण पनि उनीहरुको कुरा मान्नु पर्ने बाध्यता हुन्छ ।

त्यस्ता साथीहरुलाई यी श्रीमानहरुले जबाफ दिन जान्नु पर्छ । जसले आफुलाई श्रीमतीको गुलाम अथवा जोइटिंग्रे कुराहरुले जिस्काउने अथवा हाँसोको पात्र बनाउँछ, वास्तवमा उ नै आफ्नो श्रीमतीबाट पिडित हुन्छ । त्यसैले उसले दाम्पत्य जीवनको आवश्यकतालाई व्यवहारिक रुपमा अनुभव नै गरेको हुँदैन ।

समय अनुसार चल्न सक्नु

आवश्यक भन्दा धेरै मित्रतामा धेरै असमझदारीहरु हुन सक्छ । त्यस्तै तपाईंको मित्रतालाई तपाईको जीवनसाथीले खुल्ला मनले स्वीकार गर्छिन् भन्ने हुँदैन । त्यसैले आफ्नो जीवनसाथीलाई यस कुरामा अनावश्यक दबाव दिनु हुँदैन । त्यसले नराम्रो परिणाम पनि उत्पन्न गराउन सक्छ ।

-आफ्ना जीवनसाथीलाई बाल्यकालको साथीसंग घुलमिल हुनु नै पर्छ भन्ने दवाव नदिनुहोस् ।

-यदि तपाईंको साथी तपाईंको लागि अति नै महत्वपुर्ण  छ भने उनीहरुसंग भेट्ने अथवा रमाइलो गर्ने समय निर्धारण गर्नुहोस् ।

-दम्पतीले जसरी एक-अर्कालाई अपनाउनु भएको छ, त्यसैगरी एक-अर्काको साथीलाई पनि स्वीकार गर्नु अति नै बुद्धिमानी हुन्छ । यसले तपाईको साथी पनि खुशी हुन्छन् ।

-जीवनसाथीको साथीप्रति कुनै पूर्वाग्रह राख्नु हुँदैन । कुनै कारण विना उनीहरुलाई कराउनु भन्दा उनीहरुको इच्छाहरुमा ध्यान दिनु पर्छ ।

-आफ्नो घनिष्ठ मित्रलाई पनि आफ्नो सीमा नाघ्न दिनु हुँदैन । उसलाई आफ्नो दाम्पत्य जीवनमा आवश्यकता भन्दा बढि हस्तक्षेप गर्न दिनु हुँदैन ।

-अफिसका सहकर्मिहरुको पनि सीमा निर्धारण गर्नु पर्छ ।

-आफ्नो दाम्पत्यको निजी कुरा कहिले पनि साथीसंग बताउनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?