Comments Add Comment

वीरगञ्ज नाकामा सशस्त्र प्रहरीको हेल्प डेस्क

१ भदौ, वीरगञ्ज ।

के म तपाईलाई सहयोग गर्न सक्छु ? वीरगञ्ज नाका हुँदै भारतीय सीमावर्ती शहर रक्सौल जाँदै हुनुहुन्छ भने भन्सार क्षेत्रमा टोल फ्री तथा अन्य मोबाइल नम्बरसहितको ब्यानर देख्न सक्नुहुन्छ ।

वीरगञ्ज भन्सार कार्यालयको मुल गेटमा त्यो ब्यानर सशस्त्र प्रहरी बल नेपाल नं १४ गुल्म हेड क्वाटर पर्साले लगाएको हो ।

सशस्त्र प्रहरीले नजिकिँदै गरेको दशैं, तिहार, छठ पर्वलगायत अन्य चाडपर्वहरुलाई मध्यनजर गरी वीरगञ्ज नाकामा ‘हेल्प डेस्क’ (सहायता कक्ष) स्थापना गरेको छ ।

सीमावर्ती ईलाकामा हुन सक्ने चोरी, लुटपाट, ठगी, अबैध चोरी पैठारी हात हतियार, बिष्फोटक पदार्थ लागुऔषध ओसार पसार तथा अन्य अपराधजन्य क्रियाकलापलाई नियन्त्रण गर्न तथा सर्वसाधारण जनताको गुनासो सुनुवाई तथा आवश्यक सहयोगको लागि ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याईएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिए ।

‘बिषेश गरी चार्डपर्वको समयमा सीमा नाकाबाट मानिसहरुको आवतजावत बढी हुन्छ । त्यस बखत अपराधिक गतिबिधिमा संलग्न व्यक्तिहरु पनि क्रियाशील हुन सक्छन् ।

सर्वसाधारण मानिसहरु लुटिने, मालसामानहरु चोरी हुने, चेलीबेटी बेचबिखन जस्ता गतिबिधीहरु बढन सक्छ,’ उनले भने, ‘त्यसैले नेपालबाट भारततर्फ आवतजावत गर्ने व्यक्तिहरुलाई सुरक्षाको अनुभूति दिन तथा उनीहरुको समस्या तथा गुनासो सुनुवाईको लागि हेल्प डेस्क सञ्चालनमा ल्याएका छौं ।’

हेल्प डेष्कमा प्रहरी नायब निरीक्षकको कमाण्डमा ३ जनाको टोली खटाइको छ । ब्यानरमा सम्पर्कको लागि सशस्त्र प्रहरी बल नेपालको टोल फ्री नम्वर १११४, कार्यालयको सम्पर्क नम्वर ०५१५२०१०६, कार्यालय प्रमुखको सम्पर्क नम्वर ९८५१२७२२२३, ९८५१२७२२७३ नम्बर उल्लेख गरिएको छ ।

चाडबाडका लागि भारतीय काउण्टर पार्टस तथा अन्य सुरक्षा निकायहरुसँग समन्वय गरी शान्ती सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउने, चार्ड पर्वको समयमा कालो बजारी अबैध धन्दा बढी हुने हुदाँ त्यस्ता क्रियाकलाप नियन्त्रण तथा बजार अनुगमनमा खटिने व्यक्तिहरुलाई सहयोग गर्ने सशस्त्र प्रहरीले बताएको छ ।

यस्तै, चाड पर्वको समयमा आवतजावत गर्ने मानिसहरुको चाप बढी हुने हुदाँ अपराधिक व्यक्तिहरुको घुस पैठ बढी हुन सक्ने भएकोले सुरक्षा चुस्त दुरुस्त राख्न चेक जाँचमा कडाइ गर्ने, जुनियर अधिकृतको कमाण्डमा आवश्यक हात-हतियार अन्य सामानहरु, गाडीसहित एक सेक्सन टोली २४ सै घण्टा स्टेण्डबाई राख्न, सिनियर अधिकृतको कमाण्डमा आवश्यकता अनुसार एरिया डोमिनेशनको लागि पट्रोल खटाइने, मेला पर्व हुने स्थान, धार्मिक स्थलहरुमा २४ सै घण्टा टोली परिचालन गर्ने रणनीति सशस्त्र प्रहरीले लिएको छ ।

 बिषेश गरी चार्ड पर्वको समयमा सरकारी कार्यायलयहरु बन्द हुने हुदाँ अपराधिक मनोवृत्तिका व्यक्तिहरुबाट तोडफोड चोरी जस्ता अनैतिक कृयाकलाप हुने हुँदा गाडी मोबाइल तथा पैदल गस्ती खटाउने, बिषेश गरी चार्ड पर्वको मौका छोपि चोरी तस्करी, लागू औषध ओसार पसार, साना हातहतियार ओसार पसार हुन सक्ने भएकोले सीमा नाकामा बढी भन्दा बढी डिउटी परिचालन गर्ने र अपराधिक गतिबिधिमा संलग्न व्यक्तिहरुको पहिचान गरी त्यस्ता व्यक्तिहरुको निगरानी गर्ने सशस्त्र प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment