हालै सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामबाट परिचित एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरे । यो घटनाले सबैलाई निकै स्तब्ध बनायो । हजारौं होइन, लाखौं मानिसले उनको सामग्री हेर्थे, उनका भिडियोहरूमा प्रतिक्रिया जनाउँथे, र धेरैले उनलाई प्रभावशाली व्यक्तित्वका रूपमा हेर्थे ।
तर यो घटनाले फेरि एकपटक एउटा गम्भीर प्रश्न उठाएको छ, ‘के हामीले सामाजिक सञ्जालमा देखिने छविलाई नै वास्तविक व्यक्तित्व ठान्ने गल्ती गरिरहेका छौं ? हामी कसैलाई चिन्ने आधार के हो ? उसको चरित्र, व्यवहार र मूल्य कि उसको सामाजिक सञ्जालको लोकप्रियता ?’
सामाजिक सञ्जालमा उनी एक चिनिएको अनुहार थिए । उनका भिडियोहरू भाइरल हुन्थे, मानिसहरू उनलाई पछ्याउँथे, उनका भनाइहरू उद्धृत गर्थे । तर कुनै व्यक्तिको लोकप्रियता र उसको नैतिक चरित्रबीच सधैं समानता हुँदैन । सामाजिक सञ्जालले हामीलाई व्यक्तिको सम्पादित, सजाइएको र सार्वजनिक रूपमा प्रदर्शन गरिएको रूप देखाउँछ, उसको निजी जीवन, सम्बन्धप्रतिको व्यवहार, क्रोध नियन्त्रण गर्ने क्षमता वा मानवीय संवेदनशीलता भने देखाउँदैन ।
अझ रोचक कुरा के छ भने, अहिले घटनापछि धेरै मानिसहरूले उनका पुराना भिडियोहरू हेरेर भन्न थालेका छन्, ‘कतिपय संकेतहरू त पहिले पनि देखिन्थे ।’ उनका केही सामग्रीहरूमा आक्रामकता, अपमानजनक भाषा, अस्वस्थ सम्बन्धको सामान्यीकरण वा सामाजिक रूपमा गैरजिम्मेवार व्यवहारको झल्को देखिने गरेको भन्दै आलोचना हुने गर्थ्यो । तर त्यतिबेला ती विषयहरूलाई गम्भीर बहसको विषय बनाइएन । किनभने उनी लोकप्रिय थिए । उनका लाखौं भ्युज थिए । उनी ‘सेलिब्रिटी’ को रूपमा स्थापित भइसकेका थिए ।
आजको समाजमा फलोअरको संख्या नै सफलताको मापन बन्न थालेको छ । जसका धेरै फलोअर छन्, ऊ सफल । जसका भिडियो भाइरल छन्, ऊ प्रभावशाली । जसको नाम समाचारमा आउँछ, ऊ सम्मानित ।
लाखौँ मानिसले पछ्याएको व्यक्ति स्वतः सम्मानयोग्य, विश्वासयोग्य र आदर्श हुनुपर्छ भन्ने सोच विकसित हुँदै गएको छ । तर लोकप्रियता र नैतिकता एउटै कुरा होइनन् । कुनै व्यक्तिको भिडियो भाइरल हुनु, समाचारमा आउनु वा धेरै फलोअर हुनु उसको मानवीय गुण, नैतिक मूल्य र चरित्रको प्रमाण हुन सक्दैन ।
आज मानिसको मूल्याङ्कन उसको व्यवहारले होइन, उसको रिच र भ्युजले गरिन्छ । सामाजिक सञ्जालमा लाखौँ मानिसले पछ्याएका व्यक्तिलाई समाजले स्वतः सेलिब्रिटीको दर्जा दिन्छ । उसका शब्दहरूलाई सत्य, उसका व्यवहारलाई सामान्य र उसका कमजोरीहरूलाई ‘व्यक्तिगत कुरा’ भनेर पन्छाइन्छ । यही अन्धभक्तिको परिणाम हामीले बारम्बार भोगिरहेका छौं ।
विडम्बना के छ भने, हामी समाजका शिक्षक, सामाजिक अभियन्ता, वैज्ञानिक, चिकित्सक, अनुसन्धानकर्ता र वर्षौं समाजका लागि योगदान गर्ने व्यक्तिहरूलाई चिन्दैनौं । तर सामाजिक सञ्जालमा केही विवादास्पद भिडियो बनाएर चर्चामा आएका व्यक्तिहरूलाई सेलिब्रिटीको रूपमा पूजा गर्छौं । हाम्रो प्राथमिकता नै उल्टिएको छ ।
हामीले कहिल्यै सोधेनौं, ‘कुनै व्यक्ति प्रति कस्तो दृष्टिकोण राख्छ ? परिवारसँग उसको व्यवहार कस्तो छ ? ऊ रिस कसरी व्यवस्थापन गर्छ ? ऊ शक्ति र प्रभावको प्रयोग कसरी गर्छ ?’ बरु हामीले हेरेका कुरा थिएः कति भ्युज आयो, कति फलोअर बढे, कति भाइरल भयो ।
आजको डिजिटल युगमा लोकप्रियता किन्न सकिन्छ, निर्माण गर्न सकिन्छ र एल्गोरिदमले बढाउन सक्छ । तर चरित्र अभिनय गरेर लामो समय टिकाउन सकिँदैन । समाजले यो भिन्नता बुझ्न सकेन भने हामी बारम्बार त्यस्ता व्यक्तिहरूलाई आदर्श बनाउनेछौं जसले प्रसिद्धि त कमाएका हुन्छन्, तर सम्मान कमाउन आवश्यक मानवीय;’ गुणहरू भने विकास गरेका हुँदैनन् ।
सबैभन्दा चिन्ताजनक कुरा के हो भने, यस्तो संस्कृतिले युवापुस्तालाई गलत सन्देश दिइरहेको छ । उनीहरूले सिकिरहेका छन् कि सम्मान कमाउन चरित्र होइन, चर्चामा आउनुपर्छ । योगदान होइन, विवाद चाहिन्छ । ज्ञान होइन, लोकप्रियता चाहिन्छ । यस्तो समाजमा मूल्यहरू बिस्तारै हराउँदै जान्छन् र प्रदर्शनले वास्तविकतालाई विस्थापित गर्न थाल्छ ।
यो घटना केवल एउटा व्यक्तिको कथा होइन । यो हाम्रो सामूहिक मानसिकताको ऐना पनि हो । हामीले किन कुनै व्यक्तिलाई आदर्श मान्यौ ? किन उसका व्यवहारका सम्भावित चेतावनी संकेतहरूलाई मनोरञ्जन भनेर बेवास्ता गर्यौं ? किन फलोअरको संख्या देख्यौं तर चरित्र हेर्ने प्रयास गरेनौं ?
समाज परिपक्व तब हुन्छ जब उसले चर्चाभन्दा चरित्रलाई, लोकप्रियताभन्दा जिम्मेवारीलाई, र भाइरल सामग्रीभन्दा मानवीय मूल्यलाई महत्व दिन्छ । नत्र हामी फेरि पनि अर्को भाइरल अनुहारको पछाडि दौडिरहनेछौं, र अर्को दुःखद् घटनापछि मात्र प्रश्न सोध्न थाल्नेछौं ।
कुनै व्यक्तिलाई लाखौं मानिसले पछ्याउँदैमा ऊ आदर्श व्यक्ति भइहाल्दैन । सामाजिक सञ्जालको लोकप्रियता नैतिकताको प्रमाण होइन । र यो सत्य हामीले जति चाँडो स्वीकार्छौं, त्यति नै स्वस्थ समाज निर्माण गर्न सक्छौं ।
प्रतिक्रिया 4