Comments Add Comment

बालबालिकाको स्वास्थ्यमा आउटडोर गेमको भूमिका

रिमाको होमवर्क कपी देखेर उनकी आमाले उनलाई पिटिन् । रिमाको कपीका लगभग सबै पेजमा शिक्षकले पढाइसम्बन्धी गुनासो गरेका थिए । लगभग हरेक विषयको त्यस्तै हालत थियो । त्यही देखेपछि रिमाकी आमा रिसाएकी थिइन् । ‘आजबाट घरभन्दा बाहिर हिँडडुल गर्न बन्द, कोठाभित्रै बसेर पढिराख्ने,’ भन्दै रिमाकी आमा रिसाउँदै आफ्नो काम गर्न थालिन् । रिमा पनि आमाको यो निर्देशनबाट डराउँदै किताब लिएर पढ्न बसिन् ।

रिमाको परीक्षाको रिजल्ट आयो । रिमा सबै बिषयमा फेल भइन् । रिमाका आमा-बुवा उनको विद्यालयले आयोजना गरेको अभिभावक-शिक्षक बैठकमा रिमाको रिपोर्ट लिन पुग्दा कक्षा शिक्षकले रिमाको पढाइप्रति धेरै नै गुनासो गरिन् । शिक्षकका अनुसार सबै विद्यार्थीहरु कक्षा कोठाको हृवाइट बोर्डमा लेखिएका कुरा आ-आफ्ना कपिमा टिप्छन्, तर रिमा भने चुप लागेेर बस्छिन् । होमवर्क नोट नगर्नेलगायतका धेरै गुनासाहरु कक्षा शिक्षकले सुनाइन् ।

छोरी पढाइमा कमजोर भएको थाहा पाएपछि उनका अभिभावकलाई चिन्ता लाग्यो । रिमाको फरक व्यवहारबारे बुझ्दै जाँदा थाहा भयो, रिमाले कक्षा कोठाको हृवाइट बोर्डमा शिक्षकले लेखेका अक्षरहरु राम्रोसँग देख्दैनथिइन् । हृवाइट बोर्डमा लेखेका अक्षर नै देखिँदैन भने रिमाले आफ्नो कपिमा के सार्नु ?

रिमाको आँखा चेक गराउँदा डाक्टरले उनको दृष्टि धेरै नै कमजोर भएको बताए । यो कुरा थाहा पाएर रिमाका आमा-बुबा छक्क परे, किनभने एक वर्ष अगाडि मात्र रिमाको आँखा एकदम ठीक थियो । रिमा अहिले केवल १० वर्षकी भइन् र पाँच कक्षामा पढ्छिन् । अहिले उनको उमेर नै के थियो र आँखा नै खराब हुने ?

वास्तवमा जब रिमाको आमाले घर बाहिर निस्कन रोक लगाएर पढेर मात्र बसिराख्न निर्देशन दिइन् त्यही बेलादेखि रिमाले आमा-बुवा नभएको मौकामा भिडियो गेम खेल्न र बुवाको स्मार्ट फोनमा कार्टुन हेर्न थालेकी थिइन् । पछि यो लत बस्दै गयो र उनका आँखा किताबभन्दा बढी स्मार्ट फोनमा भुल्न थाले । उनको आँखा कमजोर हुनुको कारण यही मोबाइल फोन थियो ।

पहिला त रिमा स्कुलबाट घर फर्किएपछि साथीहरुसँग खेल्न बाहिर जाने गर्थिन् । तर अहिले उनी घर बाहिर नै निस्किन पाउँदिनन् । घरबाहिर खेल्ने खेलकुदहरु सबै बन्द भयो । घर बाहिर नगएपछि रिमा कि भिडियो गेम खेल्छिन्, कि टीभी हेर्छिन् । रिमाको आँखा कमजोर हुने त्यही नै मुख्य कारण थियो ।

रिमाका अभिभावकको मात्र होइन, अधिकांश अभिभावक आफ्ना छोराछोरी घरभन्दा बाहिर नजाउन्, नखेलुन् र घरमै बसेर पढिराखुन् भन्ने चाहान्छन् । तर, उनीहरुलाई घरभित्रै बसिरहँदा स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे जानकारी हुँदैन ।

हिजोआज बालबालिकाको आँखा कमजोर हुने समस्या सामान्य भएको छ । किनभने घरभित्रै बस्दा उनीहरु मोबाइल, ट्याब, ल्यापटप वा टिभी धेरै हेर्छन् । जसको कारण उनीहरुको दृष्टि कमजोर हुन्छ । त्यसलाई रोक्ने सही तरिका भनेको बालबालिकाहरुलाई केही घण्टा भए पनि घर बाहिर बिताउने वातावरण बनाइदिनु हो । दिनमा दुई घण्टा घर बाहिर बिताउनाले बालबालिकाहरुलाई विभिन्न रोगबाट बचाउन सकिन्छ ।

डाक्टरका अनुसार यदि तपाईंका स-साना बालबालिकाहरु स्मार्टफोनमा घण्टौंसम्म समय बिताउँछन्, कम्प्युटर अथवा ल्यापटपमा लामो समयसम्म भिडियो गेम खेल्छन् भने उनीहरुको आँखाको ज्योती कमजोर हुने सम्भावना धेरै हुन्छ । जबदेखि त्यस्ता ग्याजेटहरु मानिसको घरमा प्रवेश गरे र केटाकेटीहरुको हात पर्‍यो, तबदेखि केटाकेटीहरु घरबाट बाहिर निस्कन, साथीहरुसँग खेल्न, घुम्न धेरै कम भयो । त्यसले गर्दा बालबालिकाहरुको शरीरमा सूर्यको पर्याप्त न्यानो र प्रकाश प्राप्त हुन छाड्यो । सूर्यको प्रकाश आँखाको लागि अति नै आवश्यक हुन्छ । सूर्यलाई प्रत्यक्ष आँखाले भने हेर्नु हुँदैन ।

बालबालिकाहरुलाई दिनको दुई-तीन घण्टा घरबाहिर अथवा छतमा घामको प्रकाशमा खेल्न दिनु आवश्यक हुन्छ । विशेषज्ञहरुका अनुसार यदि बच्चा हरेक दिन कम से कम दुई घण्टा बाहिर घामको प्रकाशमा खेल्ने गरेमा उनीहरुको आँखा कमजोर हुनुबाट जोगिन्छ । भनिन्छ, सूर्यको प्रकाशले आँखाको ज्योती बुढेसकालसम्म रहिरहन्छ ।

मायोपिया भन्ने आँखाको रोगमा नजिकको नदेखिने समस्या हुन्छ । नजिकका कुराहरु धमिलो देखिन्छ । यसमा आँखाको नानीद्वारा ज्योती परावर्तन भएपछि रेटिनाभन्दा पहिले नै प्रतिबिम्ब बनाइदिन्छ । रेटिनामा प्रतिविम्व बन्न नपाएपछि वस्तुहरुको प्रतिविम्व स्पष्ट हुँदैन र धमिलो वा मधुरो देखिन्छ । विशेषज्ञहरुका अनुसार प्राकृतिक प्रकाशको कमीको कारणले गर्दा यस्तो परिस्थिति उत्पन्न भएको हो ।

केटाकेटीहरुको आँखाको ज्योती कमजोर हुनुको मुख्य कारण सूर्यको प्रकाशसँग सम्पर्क हुन नपाउनु नै हो । जुन बालबालिकाहरु धेरै पढ्छन्, धेरै समयमसम्म कम्प्युटर, स्मार्टफोन अथवा ट्याबलेटको प्रयोग गर्छन् र जसलाई घर बाहिर खेल्ने तथा कुद्ने कम अवसर मिल्छ, उनीहरुमा त्यो कमी स्पष्ट देखिन्छ । बालबालिकाहरुलाई ती उपकरणहरुको धेरै प्रयोगबाट रोक लगाउने पर्छ र उनीहरुलाई घर बाहिर खेल्न जानका लागि उत्साहित गर्नु पर्छ ।

उपयुक्त डाइट पनि अनिवार्य

आजको समयमा बालबालिकाहरुको आँखा कमजोर हुने समस्या सामान्य जस्तो भएको छ । त्यसलाई रोक्ने सबैभन्दा उपयुक्त तरिका भनेकै घर बाहिर धेरैभन्दा धेरै समय बिताउनु नै हो । दिनमा दुई घण्टा घर बाहिर घाममा खेलकुद गर्नाले उनीहरुको आँखाको समस्यालाई हटाउन सकिन्छ ।

दिउँसोको समयमा पार्कमा खेल्ने, चंगा उडाउने अथवा अन्य व्यायाम गर्नु पनि उनीहरुको आँखाको ज्योतीका लागि वरदान जस्तै हुन्छ । साथै बालबालिकाहरुलाई राम्रो डाइट अथवा पौष्टिक पदार्थ खुवाउनु पनि उत्तिकै अनिवार्य छ ।

बदाम, किसमिस र काजुले आँखाको ज्योतीलाई निकै फाइदा पुर्‍याउँछ । किनभने यसमा ओमेगा-४ फ्याट्टी एसिड पाइन्छ । हरेक दिन ती कुराहरु खानाले आँखाको ज्योतीका साथै बालबालिकाहरुको दिमाग पनि तेज हुन्छ । अण्डा र माछा बालबालिकाहरुको खानामा नियमित रुपले समावेश गरिदिनु पर्छ ।

अण्डामा आँखाको लेन्सलाई बनाउने आवश्यक पोषक तत्व अर्थात प्रोटीन र ग्लूटेथिओन पाइन्छ । तीनले आँखाको लेन्सका लागि एन्टि अक्सिडेन्टले जस्तै काम गर्छन् । आँखाको रेटिनाका लागि सबैभन्दा आवश्यक पर्ने पदार्थ हो फ्याटी एसिड । माछामा पर्याप्त मात्रामा ओमेगा-४ फ्याटी एसिड पाइन्छ । राम्रो खानपानका साथै नियमित रुप्ले आफ्ना छोराछोरीहरुको आँखाको परिक्षण गर्नु पनि अति अनिवार्य छ ।

आँखाको लागि भिटामिन

बालबालिकाहरुको आँखाका लागि भिटामिन ए, सी तथा ई निकै नै अनिवार्य मानिन्छ । उनीहरुको आहारमा भिटामिन एले भरिपूर्ण फल तथा तरकारीहरु जस्तो सुन्तला, मौसम, केरा, शखरखण्ड, फर्सी, लौका, कीवी, अनार आदि समावेश हुनै पर्छ । हरिया तरकारी आँखाको ज्योती बढाउन तथा आँखालाई स्वस्थ राख्नका लागि उपयोगी मानिन्छन् । हरियो पात भएका सब्जीहरु कुनै न कुनै रुपमा आफ्नो दैनिक खानपिनमा समावेश गर्नै पर्छ ।

हरियो सब्जिहरुमा केरोटिनाइड -ल्यूटेन) नामक विशेष पोषक तत्व पाइन्छ । हरियो सागपातमा पालुंगो, सलगम, बन्दागोभी आदि बालबालिकाहरुलाई नियमित रुपमा खुवाउनै पर्छ । आँखाको ज्योती बढाउनका लागि सबैभन्दा उपयुक्त गाजर हो । गाजरमा भिटामिन ए (बिटा क्योटिन) प्रसस्त हुन्छ, जुन आँखाको ज्योती बढाउनका लािग निकै आवश्यक मानिन्छ । गाजरमा भएका अन्य तत्वहरु जस्तै लाइकोपेन, ल्यूटेन आदि पनि आँखाको लागि निकै फलदायी मानिन्छ । गोलभेंडाले पनि आँखालाई निकै फाइदा पुर्‍याउँछ । किनभने गोलभेंडामा पनि आँखाको ज्योतीका लागि आवश्यक ल्यूटेन तथा लाइकोपेन पाइन्छ । लाइकोपेन आँखाको ज्योती बढाउनका लागि निकै सहयोगी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment