Comments Add Comment

पोखराका मुख्य सडकमा अमेरिकी प्रविधिको कालोपत्रे

६ असोज, पोखरा । पोहोर साल टालेको पोखराको सडकमा अहिले पनि उस्तै खाल्डै खाल्डा छन् । पोखराका मुख्य सडककै हालत गतिलो छैन । मुस्ताङचोकदेखि हल्लनचोकसम्मको बढी पर्यटकको आउ–जाउ हुने ठाउँ होस् या त हल्लनचोकदेखि जिरो किलोमिटरसम्मको सडक वर्षैपिच्छे टालिरहनुपर्ने अवस्था छ ।

सिद्धार्थ चोकदेखि महेन्द्र पुलसम्म होस् या रानीपौवादेखि अमरसिंह निस्कने मुख्य सडकको अवस्था पनि उस्तै छ ।

पोखरा न्युरोडमा २०७३ साल चैतभित्रै सक्नुपर्ने सर्फेस ड्रेसिङको काम २०७४ ठेकेदार कम्पनीले भदौ अन्त्यतिरमात्रै थाल्यो । बर्खायाममा न्युरोडको सडकमा ‘सर्फेस ड्रेसिङ’ गर्न ठेकेदार कम्पनीले गुणस्तरहीन काम गर्न लागेको आलोचना भएपछि महानगरले काम रोक्यो । न्युरोडमा सर्फेस ड्रेसिङ गर्ने भन्दै सडकको एक भागमा गिटी छरेर छोडियो । त्यसपछि त्यो सडकको कामै भएन । भइरहेको सडकलाई बलियो बनाइराख्न सर्फेस ड्रेसिङ सस्तो प्रविधि हो ।

अब भने पोखराका मुख्य सडक महंगो प्रविधिबाट निर्माण गरेर बढी टिकाउ बनाउनेतर्फ सरकार लागेको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पोखराका मुख्य व्यस्त रहने सडकको बनावट र प्रविधि नै फर्ने भएको छ ।

प्रदेश सरकार र पोखरा महानगरपालिकाले अस्फाल्ट प्रविधिबाट पोखराका सडक फेर्ने भएको छ । अस्फाल्ट प्रविधि बलियो, टिकाउ र महंगो मानिन्छ । यो अमेरिकी प्रविधि हो र पोखराजस्तो बढी पानी परिरहने ठाउँमा यस्तो सडक उपयुक्त हुने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले बताए ।

जिरो किलोमिटरदेखि विन्ध्यवासिनीसम्म पोखरामा अहिले भएको एकमात्र अस्फाल्ट प्रविधिबाट बनेको सडक हो । जिरो किलोमिटरदेखि विन्ध्यवासिनीसम्मको सडकजस्तै अन्य व्यस्त सडक पनि बन्न लागेको प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्कीका सिनियर डिभिजन इन्जिनियर सोभियत खड्काले बताए ।

गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले टेन्डर आह्वान गरिसकेको छ । सम्झौता भएको ढिलोमा एक वर्षभित्रैमा सक्ने गरी प्रक्रिया अगाडि बढेको पोखरा महानगरपालिकाका इन्जिनियर दीपक कुँवरले जानकारी दिए । ५ सेन्टिमिटर मोटाइको अस्फाल्ट हुने छ । यो प्रविधिमा कम्तीमा ४ सेन्टिमिटर मोटाइको कालोपत्रे हुनैपर्छ ।

‘६ महिनादेखि १ वर्षभित्रै काम प्रक्रिया अगाडि बढ्यो । अस्फाल्ट पिच देशमै त्यति धेरै नहुने भएकाले यसमा ढिलासुस्ती हुँदैन भन्ने सोचेका छौं,’ कुँवरले भने । मुस्ताङचोकदेखि राष्ट्रवैंकचोक, शहीद चोक हुँदै लेकसाइड हल्लनचोकसम्म र हल्लनचोकबाट जिरो किलोमिटरसम्म नयाँ अस्फाल्ट कंक्रिट पिच गर्न लागेको प्रमुख इन्जिनियर खड्काले जानकारी दिए ।

हल्लनचोकदेखि जिरो किलोमिटरसम्म पुरानो सबै पिच निकालेर नयाँ अस्फाल्ट कंक्रिट पिच हुने छ भने मुस्ताङचोकदेखि हल्लन चोकसम्म कतै भइरहेकै पिचमाथि अस्फाल्ट बिछ्याइन्छ भने कतिपय ठाउँ पुरानो निकालेर नयाँ हालिने छ ।

‘हल्लनचोकदेखि जिरो किलोमिटरसम्म पुरानो पिच कोतारेर नयाँ अस्फाल्ट पिच गरिन्छ । किनकी त्यहाँ सबैभन्दा बढी सडकमा उबडखाबड छ,’ इन्जिनियर खड्काले भने, ‘मुस्ताङ चोकदेखि हल्लनचोकसम्म सडह नमिलेको ठाउँमा मिलाउँदै नयाँ अस्फाल्ट पिच हुन्छ । अस्फाल्ट पुरानो पिचमाथि अर्को पिच गर्न सकिने बलियो प्रविधि भएकाले त्यसैअनुसार हुन्छ ।’

केही महिनाअगाडि बाराही घाटमा पानी जमेपछि कायाकिङ गरेको तस्वीर भाइरल बनेको थियो । बाटोबाट पानी निकास सहज ढंगबाट नभएकाले सडकमै ताल बनेको हो । अब अस्फाल्ट पिच गर्दा पानी निकास र भइरहेका नालालाई पनि व्यवस्थित गर्न बढी ध्यान दिइने प्रमुख इन्जिनियर खड्काले जानकारी दिए । ५ दशमलव ६ किलोमिटर यो सडक निर्माणका लागि १३ करोड रुपैयाँको अनुमान गरिएको छ ।

पोखरा महानगरपालिकाले पोखराका अन्य व्यस्त सडकमा अस्फाल्ट पिच गर्ने भएको छ । सभागृहदेखि बीपीचोकसम्मको न्युरोड, पर्स्याङदेखि सिद्धार्थचोक, चिप्लेढुंगा हुँदै महेन्द्रपुलसम्म, महेन्द्रपुलदेखि बगर हुँदै दीपसम्म र महेन्द्रपुल, रानीपौवा हुँदै अमरसिंह चोकसम्मको सडक बढी टिकाउ राख्ने अस्फाल्ट प्रविधिबाट बन्ने भएको हो ।

पोखरा महानगरले खण्ड खण्डमा ठेक्का दिने गरी टेन्डर आह्वान गरिसकेको छ । महानगरले करिब १२ किलोमिटर सडक अस्फाल्ट पिच गर्दै छ । त्यसका लागि १८ करोड रुपैयाँ अनुमान गरिएको छ । ‘अहिले भइरहेको सडकमा एक तह थपिन्छ । तर, चौडाइ उही नै हो,’ महानगरपालिकाका इन्जिनियर दीपकले भने ।

महंगो प्रविधि भए पनि बढी पानी परिरहने पोखरामा सडक बढी टिकाउ राख्न चुनौती रहेको प्राविधिक बताउँछन् । पोखराका सडक धेरै टिकाउ नहुने मुख्य कारण पनि पानी हो । ‘बाटोका लागि पानी सत्रु नै हो । त्यसको उचित निकास र व्यवस्थापन गरिएन भने विकास हुँदैन,’ प्रमुख इन्जिनियर खड्काले भने । बढी गाडीको चाप हुने ठाउँमा टिकाउ सडकका लागि अस्फाल्ट प्रविधिबाट सडक बनाउन लागिएको हो ।

के हो अस्फाल्ट प्रविधि ?

ईश्वरचन्द्र मरहट्टा

सचिव, भौतिक पूर्वाधार मन्त्रालय, गण्डकी

पछिल्लो समय सडक निर्माणमा धेरै सुनिएको र धेरै प्रयोग नभएको प्रविधि हो, अस्फाल्ट कंक्रिट प्रविधि । पोखरामा जिरो किलोमिटरदेखि विन्ध्यवासिनीसम्म यो प्रविधिबाट बनेको सडक हो ।

यो प्रविधिबाट मुख्य २ तरिकाबाट सडक पिच हुन्छ । सडकमा भएको कालोपत्र पूरै निकालेर नयाँ हाल्ने र रसायनहरु थपि अझ बलियो बनाउने गरी भइरहेको कालोपत्रेमाथि पुनः कालोपत्रे गर्ने । यी दुबै तरिका अब पोखरामा प्रयोग हुन लागेका छन् ।

यो अमेरिकी प्रविधि हो । महंगो भएकाले भारतमा पनि बल्ल अहिले बढी अस्फाल्ट सडक बनाउन थालिएको हो । अस्फाल्ट गरिएको सडक बढी टिकाउ मानिन्छ । यो प्रविधिबाट सडक बनाउँदा सतह मिलाउनुपर्छ ।

दैनिक ३ सयभन्दा बढी गाडी गुड्ने ठाउँमा अस्फाल्ट गर्न संघीय भौतिक पूर्वाधार मन्त्रालयले भनेको छ । अस्फाल्ट प्रविधिबाट बनेको सडक ८ देखि १० वर्षसम्म टिक्छ । यो प्रविधिमा कालोपत्रे ४ सेन्टिमिटरभन्दा बढी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment