Comments Add Comment

तिलोत्तमा लगानी सम्मेलन : २२ परियोजना प्रस्ताव, १० वटामा सम्झौता हुँदै

८ असोज, बुटवल । प्रदेश ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाले गर्न लागेको लगानी सम्मेलनको तयारी पूरा भएको छ । करिब ५० अर्ब लगानी भित्र्याउने उद्देश्यसहित यो काठमाडौं बाहिर हुन लागेको पहिलो लगानी सम्मेलन हो ।

कोटिहवास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टमा बिहीबार विहान सम्मेलन उद्घाटन हुंदैछ । सम्मेलनको पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् । सम्मेलनमा प्रस्ताव गरिएका २२ परियोजनामध्ये कम्तिमा १० परियोजनामा सम्झौता हुने निश्चित भइसकेको आयोजकले बताएका छन् ।

सम्झौता हुने परियोजनालाई नगरपालिकाले ३०–४० वर्षसम्म लिजमा जमिन उपलब्ध गराउने भएपछि लगानीकर्ताहरु आकर्षित र उत्साहित बनेका हुन् । नगरपालिकाले जग्गा भाडा प्रतिकट्ठा पाँच हजार रुपैयां मात्र तोकेको छ ।

‘जग्गाको सहज उपलब्धता र न्यून भाडादर अनि रोजगारीका आधारमा कर छुटका योजनाका कारण लगानीकर्ता आकर्षित भएको पायौं,’ आयोजक तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले भने–‘सम्मेलन अगावै कम्तीमा १० वटा परियोजनामा सम्झौता हुने निश्चित भएको छ, ६ महिनाभित्र बांकी परियोजनामा पनि सम्झौता हुने देखिएको छ ।’

रुपन्देहीमा जमिन किनेर उद्योग व्यवसाय गर्न उद्योगी–व्यवसायीलाई गाह्रो छ । अहिले एक कठ्ठा जमिनलाई मात्रै करिब ५० लाख बढी मूल्य पर्छ । नगरभित्र रहेका सरकारी जमिनको मापदण्ड बनाएर लिजमा दिने निर्णयले लगानी सम्मेलनमा अपेक्षा गरेभन्दा धेरै परियोजनामा सम्झौता हुने संकेत देखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले औंल्याए । सम्मेलनमा तिलोत्तमा एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र (कोल्ड स्टोरसहित), तिलोत्तमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र, तिलोत्तमा ११ गणेशनगरमा ढाक्रेबास एकीकृत पर्यटकीय आयोजना, मिनी नेपाल, तिलोत्तमा क्यान्सर अस्पताल, तिलोत्तमा रेल्वे (रिङरोडमा) लगायत प्रस्तावमा सम्झौता गर्ने गरी लगानीकर्ताहरु तयार भएको नगरप्रमुख घिमिरेले जानकारी दिएका छन् ।

२२ परियोजना अघि सारेर नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको हो । नगरपालिकाले न्यूनतम ५० जनासम्मलाई रोजगारी दिने उद्योग तथा परियोजनालाई पाँच वर्षसम्म व्यावसायिक करमा ५० प्रतिशत छुट दिने जनाएको छ । यस्तै, तीन सयसम्मलाई रोजगारी दिनेलाई १० वर्षसम्म व्यावसायिक करमा ७५ प्रतिशत छुट दिइने छ । पाँच सय जनासम्मलाई रोजगारी दिने परियोजनालाई १२ वर्षसम्म व्यावसायिक करमा ९० प्रतिशत छुट दिने नगरपालिकाको बैठकले निर्णय गरेको छ । यस्तै, पाँच सय बढीलाई रोजगारी दिने परियोजनालाई नगरपालिकाले १५ वर्षसम्म व्यावसायिक करमा शतप्रतिशत छुट दिनेछ । कृषिमा आधारित दुग्ध उद्योग, माछाभुरा उत्पादन, मत्स्यपालन, प्रशोधन एवं प्याकेजिङ, कोल्ड स्टोरलगायत परियोजनालाई स्थापनाको सात वर्षसम्म व्यवसायिक कर र नक्शा पासमा ५० प्रतिशत छुट दिइने नीति लिइएको छ ।

नगरपालिकाले साना तथा घरेलु उद्योगहरुलाई केन्द्रित गरेर नगरपालिकाको वडा नं.१० मा तिलोत्तमा उद्योगग्राम समेत स्थापना गर्ने भएको छ । उद्योग ग्राममा साना पूँजीका विभिन्न किसिमका उद्योगहरु एकीकृत गरी स्थापना हुनेछन् ।

सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, सातै प्रदेशका मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीहरु, उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष सुरज वैद्य लगायतको पनि सहभागिता रहने छ । सम्मेलनलाई पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री युवराज खतिवडा, संघीय सांसदहरु घनश्याम भुसाल, विष्णु पौडेल, बालकृष्ण खांण लगायतले सम्बोधन गर्ने छन् । सम्मेलनमा कृषि, पर्यटन, उद्योग र यातायात क्षेत्रमा लगानीका संभावना र चुनौतिका समूहगत छलफल हुने छ । सम्मेलनमा नेपाल, भारत र चीनसहित विदेशी मुलुकबाट समेत गरी पांच सय जना लगानीकर्ता सहभागी हुने गरी तयारी भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment