Comments Add Comment

मुख्य शहर र राजमार्गमा ५० वटा चार्जिङ स्टेसन खोल्दै प्राधिकरण

स्थान उपलब्ध गराउन निजी प्रतिष्ठानसँग आग्रह

Photo Credit : प्रतीकात्मक तस्वीर/अनलाइनखबर

९ असोज, काठमाडौं । विद्युतीय सवारीसाधनको प्रर्वद्धनमा जोड दिइरहेको नेपाल विद्युत् प्राधिकरणले काठमाडौंबाहिरका मुख्य शहर र राजमार्गहरुमा चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । पहिलो चरणमा काठमाडौंका १५ स्थान साना सवारीको चार्जिङ स्टेसन स्थापनाका लागि छानिएका छन् ।

राजमार्ग र मोफसलका शहरहरुमा गरी कुल ५० वटा चार्जिङ स्टेशन निर्माण गर्न लागिएको हो । यसमा ठूला बस पनि चार्ज गर्न सकिनेछ । प्राधिकरणले एक सूचना जारी गर्दै उपत्यका बाहिर शहरका मुख्य भागहरुमा स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन व्यापारिक, कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतलाई आग्रह गरेको छ ।

बिशेषगरी सवारीसाधनको धेरै आवतजावत हुने स्थानमा छिटो चार्ज हुने खालको चार्जिङ स्टेसन राख्न लागिएको ऊर्जा दक्षता विभागका सहायक प्रवन्धक सागरमणि ज्ञवालीले जानकारी दिए ।

‘राजमार्गमा चिया खाजा खाने होटलमा पनि चार्जिङ स्टेसन राखिने छ,’ उनले भने, ‘गाडी रोकेर एकछिन फ्रेस हुन बस्दा पनि ५०-६० किलोमिटर गुड्ने गरी सवारी चार्ज गर्न सकिन्छ । राजमार्गका विभिन्न ठाउँमा यस्ता चार्जिङ स्टेसन राख्न ठाउँ मागेका हौं ।’

यसले ती होटलमा ग्राहक बढ्ने यात्रुले सुविधा पनि पाउने भनिएको छ । यस्ता चार्जिङ स्टेसनमा तीनवटा गाडी एकैपटक चार्ज गर्न सकिने छ । उपयुक्त पार्किङको सुविधा भएका ठाउँलाई चार्जिङ स्टेसनका लागि छनोटमा प्रथमिकता दिइने प्राधिरकणले जनाएको छ ।

‘यो ब्यापारिक मोडल हो, हामीले चार्जिङ स्टेसन राखेका होटल, पसलहरुमा ग्राहक बढ्छन्,’ ज्ञवालीले भने, ‘चार्जिङ स्टेसनले ब्यापारिक भवनको प्रतिष्ठा र ब्यापार पनि बढ्छ । यसले विद्युतीय सवारी प्रवर्द्धनको अभियानमा पनि सहयोग पुग्छ ।’

चार्जिङ स्टेसनका उपकरण खरिदका लागि केही समयभित्रै बोलपत्र आह्वान गरिने ज्ञवालीले बताए । अबको ६ महिनामा चार्जिङ स्टेसन खालिसक्ने योजना बनेको छ ।

कस्ता हुन्छन् चार्जिङ स्टेसन ?

हाल काठमाडौंमा ६ देखि ७ सय वटा विद्युतीय सवारीसाधन रहेको अनुमान छ । ती सवारीलाई घरमै निकै समय लगाएर चार्ज गरी चलाइन्छ ।

अब भने छिटो चार्ज हुने गरी साना सवारीका लागि प्राधिकरणले उपत्यका, राजमार्गहरु र विभिन्न शहरहरुमा सुविधा दिन लागेको हो । यो सुविधापछि विद्युतीय सवारीको प्रयोगकर्तामा आत्मविश्वास बढ्ने र थप विजुली गाडी प्रयोगमा आउन सुरु हुने विश्वास प्राधिकरणको छ ।

अहिले स्थापना गर्न लागिएको एउटा चार्जिङ स्टेसनमा फरक-फरक पोर्टमा लाग्ने खालका तीनवटा चार्जर हुनेछन् । ती ५०/५० किलोवाटका हुनेछन् । एउटा चार्जिङ स्टेसनमा एकैपटक तीनवटा सवारीले चार्ज गर्न सक्छन् ।

यस्तो चार्जिङ स्टेसनलाई एउटै स्मार्ट कन्ट्रोल सिस्टममा आवद्ध गरिनेछ । कन्ट्रोल सबैलाई रुमबाट सञ्चालन र व्यवस्थापन गर्न सकिने गरी स्टेसन निर्माण हुनेछ ।
सरकारले विहान, बेलुकी दिउँसो र रातका लागि चार्जिङको शुल्क फरक-फरक तोक्ने तयारी गरेको छ । साँझमा चार्ज गर्दा केही महंगो पर्न जान्छ भने रातमा सस्तो हुनेछ ।

यस्ता चार्जिङ स्टेसनमा जाँदा मोबाइल एपबाटै समय बुक गर्न सकिने प्रवन्ध पनि गरिने ज्ञवालीले बताए । आफूले बुक गरेको समयमा स्टेसन पुगेर चार्ज गराउन सकिनेछ ।

विजुली खपतको योजना

यसै वर्षदेखि माथिल्लो ४५६ मेगावाटको तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु हुने हुँदा देशमा विद्युतको खपत बढाउनुपर्ने अवस्था छ । यसका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनैपर्ने प्राधिकरण बताउँछ । अब देशभित्रै बिजुलीको खपत बढाउन आवश्यक हुने भएकाले त्यसका लागि विजुली गाडीको प्रवर्द्धन योजना बनेको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि रातको समयमा विजुली बढी हुने भएकाले विद्युतीय सवारी साधन प्रयोगमा नागरिकलाई अभ्यस्त बनाउन आफूहरुले पहल गर्न लागेको प्राधिकरणको भनाइ छ ।

हाल माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माणको काम करिब ९९ प्रतिशत सकिएको छ । आगामी पुसमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने लक्ष्य छ ।

विद्युतभार कटौती अन्त्य गरेको प्राधिकरणले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगमा राज्य तथा नागरिकस्तरबाट पहल हुनुपर्नेमा जोड दिँदै आएको छ । प्राधिकरणले पहिलोचरणमा काठमाडौंका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन खडा गर्नेछ ।

पोखरा, चितवन, विराटनगर, नेपालगन्ज लगायतका स्थानमा पनि स्टेसन जडान गर्ने योजना छ । साना सवारीका लागि स्टेसन बनाएलगत्तै उपत्याकाभित्र बसहरुका लागि पनि ठूला स्टेसन बनाउने योजना छ ।

पेट्रोलियम पदार्थ आयातमा मात्रै मुलुकको ठूलो धनराशी वर्षेनी खर्च भइरहेको अवस्थामा विद्युतीय सवारी साधनको प्रयोगलाई विशेष ध्यान दिन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment