Comments Add Comment

चलचित्र ‘द स्पोन्सर’ : बिहाइन्ड द सिन

‘इतिहास जित्नेहरुका लागि’ वृत्तचित्र निर्माण गरेपछिको लामो समय निर्देशक प्रणय लिम्बु गायब भए । उनी कहाँ छन्, के गर्दैछन् ? अत्तोपत्तो भएन । बर्षौं-बर्षौं पछि भने उनी फुत्त दृश्यपटलमा छाए, एउटा चलचित्र सहित । चलचित्र हो, द स्पोन्सर ।

उति धेरै हल्लीखल्ली नगरी काठमाडौंको कुमारी सिनेमा घरमा चलचित्रको प्रिमियर शो पनि भयो । चलचित्रबारे फाट्ट-फुट्ट चर्चा-परिचर्चा भयो । तर, जति हुनुपर्ने त्यती भएन । नहुनुको कारण, निर्माणपक्षले प्रायोजित चर्चा नरोज्नु वा नगर्नु नै थियो । किनभने उनीहरुले ढोंग पिटेर दर्शकलाई हलसम्म तान्ने चेष्टामा छैनन् । छन् त, आफ्नो कामको मूल्यांकन होस् भन्ने अपेक्षा । तर, इमान्दर मूल्यांकन कसले गरिदिने ?

निर्देशक प्रणय लिम्बु बजारको पछि दौडने बर्गका पनि होइनन् । उनले चलचित्रको आयमलाई फरक ढंगले बुझेका छन् । उनी निर्धक्क भन्छन्, ‘हामीले आफ्नै लागि चलचित्र बनाउने हो, बजारलाई हेरेर होइन ।’ नयाँ कथा उत्खनन गर्नु, त्यसलाई घतलाग्दो ढंगले पटकथामा ढाल्नु, पटकथालाई खिपेर श्रव्यदृश्यमा उतार्नु नै आफ्नो प्राथमिक कर्म हो भनेर बुझेका छन्, लिम्बुले ।

‘यो दृश्यमा दर्शकलाई हँसाउने, यो दृश्यमा रुवाउने, यो दृश्यमा पारो तताइदिने, यो दृश्यमा अचम्मित बनाइदिने भनेर सोच्दिन’ निर्देशक लिम्बु भन्छन्, ‘कथालाई स्वभाविक र सुरुचीपूर्ण प्रारुपमा कसरी प्रस्तुत गर्ने भन्ने कुरा महत्वपूर्ण लाग्छ ।’

‘द स्पोन्सर’ उनको पहिलो चलचित्र हो । यसअघि एकाध वृत्तचित्र बनाए । काठमाडौंमा संघर्ष गर्दागर्दै आजित भएर गाउँ फर्किएका गायक कुबेर राईको जीवनमा आधारित वृत्तचित्र ‘इतिहास जित्नेहरुका लागि’ उनले बर्षौं अघि बनाएका थिए । उक्त वृत्तिचित्रले त्यसबेला निकै राम्रो प्रतिक्रिया बटुल्यो । यद्यपि लिम्बु हौसिएनन्, हतारिएनन् पनि ।

त्यसपछि आरमले अर्को बृत्तचित्र बनाए, ‘फरगिभ फर्गेट नट ।’ फेरी त्यसपछि अर्को बनाए, डढेलोभित्रको सतिसाल : समाज रुपान्तरणका स्वरहरु । गायक रामेश र मन्जुलको जीवनमाथि निर्मित यो वृत्तचित्रमा पत्रकार डम्बरकृष्ण श्रेष्ठले पनि निर्देशकको रुपमा उनलाई सघाए । यसरी वृत्तचित्रकै वृत्तभित्र फन्को लगाइरहँदा उनलाई फुरेको थियो, द स्पोन्सरको कथा ।

सपनाविहिन बस्तीको भित्रीकथा

कथा सप्तकोशी किनारमा बस्ने ‘सपनाविहिन’ बस्तीबाट सुरु हुन्छ । स्थायी छानो र मानो नभएका विपन्न समुदाय, जो दैनिक माछा मारेर गुजारा चलाउँछन्, उनीहरुबाट प्रस्फुटन भएको हो । उनीहरु जीवन भन्नु नै बालुवाको बाफिलो साम्राज्यभित्र आफ्नो आयु घोट्नु हो । न उनीहरुसँग सपना छ, न आकंक्षा । माछा मार्‍यो, हाटमा लगेर बेच्यो । अनि लोकल रक्सी खाएर अर्धवोहोसीमा रात कटायो । बस्, यत्ति नै ।

तर, जब त्यहाँ गैरसरकारी संस्थामार्फत ‘स्पोन्सर’ भित्रिन्छन्, झुपडीभित्र सपना र आकंक्षाहरु चुलिन थाल्छ । श्रम नगरी मिल्ने आर्थिक/भौतिक सहयोग र अमेरिका जान पाइने आशाले फड्को मार्न थाल्छ । गरिबीबाट उन्मुक्त गराउने गैरसरकारी कार्यक्रमले अन्ततः उनै गरिबको आकंक्षा र उदेश्यमा कस्तो भूँमरी ल्याइदिन्छ भन्ने अन्तर्य बोकेको छ, द स्पोन्सरले ।

गरिबीमाथि खेल

चलचित्रको कथा अनुसार ९ बर्षकी कौशिकी एक टुहुरी हुन् । गरिबी र अशिक्षाले थिलथिलो परिवारकी उनी असाह्य छिन् । काका र बाजेको आश्रयमा बसेका उनी काकाबाट पनि प्रताडित छिन् ।

यस्तैमा गरिबको ‘संरक्षण र सहयोग’ गर्न त्यहाँ एक गैरसरकारी कार्यक्रम पुग्छ । त्यही कार्यक्रम अन्र्तगत ‘स्पोन्सर’ बनेर पुगेका एक अमेरिकी नागरिकले उनलाई सहयोग गर्छन् । खेलौना एवं उपहार पठाइदिन्छन् । टिठलाग्दो जीवन विताइरहेकी कौशिकीको जीवन अब उस्तै रहँदैन । उनी कोशी नदि भन्दा लामो एवं अनन्त सपनामा लीन हुन थाल्छन् । स्पोन्सरप्रति उनको भरोसा र आकंक्षाले बर्खे भेल झै बनेर कसरी एउटा सपनाको अवशान गराउँछ ? चलचित्रले यस्तै कथा बुनेको छ ।

निर्देशक लिम्बुको भाषामा भन्ने हो भने, गरिबीबाट मुक्त गराउने आइएनजिओको कार्यक्रमले गरिबको सामाजिक भविष्यमाथि कसरी खेल्छ भन्ने कुरा चलचित्रले उधिन्छ ।

आरबिए फिल्म्सका लागि रुद्र गुरुङले निर्माण गरेको चलचित्र हो यो । चलचित्र छायांकन भएको सात बर्ष पुग्यो । ९ बर्षकी कौशिका बनेर अभिनय गर्ने गृष्मा नेपाल ‘ए लेभल’ पढ्ने भइसकिन् । त्यसबेला उनी पाँच कक्षामा पढ्थिन् । गृष्मासँगै चलचित्रमा प्रवीण खतिवडा, कामेश्वर चौराशिय, रमेशरञ्जन झा, रामभजन कामत, रेखा कर्ण आदिले अभिनय गरेका छन् ।

खासमा ‘द स्पोन्सर’ न हाँसो ठ्टाको कथा हो, न धरधरी रुवाउने । सामान्य कथा हो तर मर्मस्पर्शी । सरल प्रस्तुती हो तर सुरुचीपूर्ण ।

दुई बर्षमा बनेको चलचित्र

ससर्ती एकसरो कथा त एउटी ९ बषिर्य विपन्न बालिकाको सपनाको हो । टुहुरी बालिकाले पाएको अप्रत्यसित अवसर, त्यसले उनमा ल्याएको भावनात्मक उथलपुथल नै चलचित्र ‘द स्पोन्सर’को मूलकथा हो ।

तर, चलचित्रले जुन कथा पेश गरेको छ, त्यो यसको दृष्टिकोण भने होइन । खासगरी गरिबीको नाममा हुने खेतीपाती र त्यसमा जिम्मेवार हाम्रो सामाजिक-राजीतिक अवस्थामाथिको कटाक्ष हो । यसलाई एउटा बिम्बको रुपमा प्रयोग गरेको निर्देशक प्रणय लिम्बुको भनाई छ ।

जब उनले यस कथा र विषयवस्तुमाथि चलचित्र बनाउने सोंच बनाए, यसलाई मूर्त रुप दिन करिब दुई बर्ष लाग्यो । भिन्न भिन्नै तीन किसिमको मौसममा छायांकन गर्नुपर्ने भएकाले पनि यसको निर्माणकार्य लम्बियो ।

चलचित्र निर्माण भएको ७ बर्षपछि बल्ल यसलाई सार्वजनिक प्रदर्शनमा ल्याउने तयारी गरिएको छ । वर्तमान अवस्थामा बनिरहेका वा चलिरहेका चलचित्रभन्दा केही पृथक भएकाले आम दर्शकलाई यसले तान्छ वा तान्दैन ? निर्देशक लिम्बु ढुक्क भने छैनन् । भन्छन्, ‘केही फरक गर्न खोजेका छौं, दर्शक कति रुचाउँछन् भन्ने कुरामा पनि मेरो उत्सुकता छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment