Comments Add Comment

भ्रमण वर्ष २०२० सम्बन्धी कार्यक्रमप्रति प्रदेश–२ का मन्त्री असन्तुष्ट

१० असोज, वीरगञ्ज । प्रदेश–२ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश रायले नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी संघीय सरकारको कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय प्रवद्र्धन समितिको अध्यक्ष समेत रहेका मन्त्री रायले कार्यविधि र बजेट उपलब्ध नगरी समिति बनाएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन समिति र नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश–२ ले वीरगञ्जमा शुक्रबार आयोजना गरेको कार्यशालामा उनले असन्तुष्टि जनाए । ‘पर्यटन प्रवद्र्धन समिति भनेर कमिटि बनाइएको छ, कार्यविधि छैन । बजेट पनि छैन, कसरी काम गर्ने ?’ उनले भने, ‘जुन उद्देश्य प्राप्तीका लागि कमिटि बनाइएको छ त्यसका लागि सहयोग पनि गर्नुपर्छ, नत्र कसरी काम गर्ने ?’

भ्रमण वर्ष सफल बनाउन आफूहरुले प्रदेश–२ मा रहेका धार्मिक, पुरातत्विक र पर्यटकीय सम्भावना बोकेका स्थलहरुको पहिचान र प्रचार प्रसार गरिरहेको उनको भनाइ छ । ‘जनकपुरको जानकी मन्दिरकोबारेमा धेरैलाई थाहा छ, भारतीय प्रधानमन्त्री मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आएर गइसकेका छन् । तर, रामसीताको विवाह भएको मणी मण्डप कहाँ छ ? धेरैलाई थहा छैन ।’ उनले भने, ‘संघीय सरकारसँग यसको तथ्याङ्क समेत थिएन, हामीले पहिला तथ्याङक संकलनको काम सुरु गरेका छौं । ती स्थानको ईतिहास समेत समेटेर डकुमेन्ट बनाईरहेका छौं ।’

प्रवर्धन समितिका सल्लाहकार एवं पर्यटन व्यवसायी युवराज लामाले २७ दिनसम्म सुत्ने अनि ३ दिन काम गर्ने प्रवृत्तिले भ्रमण वर्ष सफल नहुने बताए । ‘भ्रमण वर्षको प्रचार प्रसारको काम २०१७, २०१८ मै सकिसक्नु पर्ने हो । २०२० आउन तीन चार महिना बाँकी हुँदा प्रचार प्रसार गरेर के उपलब्धी हुन्छ ?’ उनले भने, ‘त्यसमा पनि संघ र प्रदेश सरकारबीच समन्वयको अभाव देखिएको छ । हामीलाई बल्छी र गड्यौँला दिनुस् पोखरी खोजेर माछा हामी आफै मार्छौं भन्दा पनि सहयोग पाइरहेको छैन ।’

प्रदेशमा पर्सा राष्ट्रिय निकुञ्जसहित ४० वटा विभिन्न पर्यटकीय स्थल पहिचान गरेर प्रचार प्रसारको काम अघि बढाइएको उनको भनाइ छ ।

समितिका संयोजक मनिष झाले पूर्वाधार भन्दा व्यवहारमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘प्रदेश–२ मा हिमाल छैन, खोला नाला छैन । तर, जिन्दगीलाई जति नजिकबाट यहाँका जनताले बुझेका छन् अरुले छैन,’ उनले भने, ‘नेपालमा आउने पर्यटक पूर्वाधार हेर्न पनि आउने हैनन्, केवल मठ मन्दिर मात्रै होइन प्रदेश–२ मा ताल तलैया छन्, कथा छन् त्यसलाई बेच्न सकिन्छ ।’

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले पालिका भित्रको खाली जग्गालाई उपयोग गर्न सक्ने अधिकार पाए पर्यटकीय क्षेत्रको विकास गर्न सकिने बताए ।
‘सार्वजनिक जग्गा संरक्षणको अधिकारको नाममा जग्गाको पाले बनाइएको छ । तर, त्यसको उपयोग गर्न सक्ने अवस्था छैन, एग्रो टुरिज्मका लागि अलपत्र अवस्थामा रहेको वगही स्थित ५५ बिघा जग्गा माग गर्दै चिठ्ठी पठाउँदा संघ सरकारले वास्ता गरेको छैन,’ उनले भने, ‘हेटौंडामा एउटा पार्क बनाएका छन्, सयौं मानिस घुम्न जान्छन् । ऐलानी प्रति सार्वजनिक जग्गा पालिकालाई दिएको खण्डमा त्यहाँ पार्क बनाउन सकिन्छ ।’

नेकपाका वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारीले प्रदेश–२ मा ग्रामिण पर्यटको प्रचुर संभावना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment