 
																			१० असोज, बुटवल । प्रदेश ५ सरकारले इजाजत नलिएका व्यक्ति, संघ–संस्था वा फर्मले व्यवसायिक रुपमा विद्युतीय माध्यमबाट हवाई टिकट बिक्री बितरण गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
इजाजत नलिएका यस्ता फर्महरुले ट्राभल तथा ट्रेकिङ एजेन्सीले झैं व्यवसायिक रुपमा विभिन्न वायु सेवाहरुको टिकट बेच्नु गैरकानूनी कार्य भएको भन्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सूचना जारी गर्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको हो ।
ट्राभल तथा ट्रेकिङ एजेन्सी नखोली सो सम्बन्धी काम गरे प्रदेश–५ पर्यटन ऐन २०७६ को दफा ११ को उपदफा १ अनुसार त्यस्तो एजेन्सी तत्काल बन्द गरी २० हजार रुपैयाँ जरिवानासमेत गर्ने बताएको छ ।
केही महिनायता ई–सेवाको नाममा अवैध रुपमा ट्राभल तथा ट्रेकिङ एजेन्सीको काम भइरहेको भन्दै ट्राभल तथा ट्रेकिङ व्यवसायीको संस्था नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल्सले सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको थियो ।
नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल्स प्रदेश ५ का अध्यक्ष सागर अधिकारीले सरकारले काम गरेर खाने व्यवसायीको पक्षमा निर्देशन जारी गरेकोमा खुसी व्यक्त गरे । ‘सरकारी निर्णयले हामी व्यवसायीलाई राहत मिलेको छ,’ उनले सुनाए ।
पर्यटन ऐनअनुसार ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता गर्दा कम्पनी रजिष्ट्रार कार्यलयमा कम्पनीको रुपमा दर्ता गर्नुपर्ने प्रावधान छ । यसैगरी पर्यटन कार्यलयमा ५ लाख बैंक ग्यारेन्टी राख्नुपर्छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4