Comments Add Comment

भरतपुर क्यान्सर अस्पतालमा १० गुणाले बढे बिरामी, धेरैलाई फोक्सोको क्यान्सर

११ असोज, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हरेक वर्ष बिरामीको संख्या बढ्दो छ । उपचार गर्न आउने धेरैजसो विरामी फोक्सोको क्यान्सरबाट पीडित भएको पाइएको छ ।

१५ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा अस्पतालको २० औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरिएको तथ्यांकले गत वर्ष भरतपुर क्यान्सर अस्पतालको बहिरंग विभागमा आएर एकलाख ३७ हजार ८६२ जना क्यान्सरका बिरामीले सेवा लिएको देखिन्छ । यो संख्या अघिल्लो वर्ष सन् २०१७ को तुलनामा १२ हजार ८२१ ले बढी हो । २०१७ मा एकलाख २५ हजार ४१ जनाले बहिरंग सेवा लिएका थिए । तीमध्ये १० हजार ५२८ पुरुष र १९ हजार ४४० महिला नयाँ बिरामी थिए । बाँकी फलोअपमा आएका थिए ।

२०१९ को मे महिनासम्ममा बहिरंग बिभागबाट १२ हजार ६२४ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । गएको १० वर्षको अवधिमा क्यान्सरको उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या १० गुणाभन्दा धेरै बढेको अस्पतालको तथ्यांकले देखाएको छ ।

नेपालमा बर्सेनि ५० हजारदेखि ७० हजार क्यान्सरका नयाँ बिरामी थपिन थालेको अनुमान छ । तीमध्ये ३५ प्रतिशत मात्र अस्पताल पुग्छन् । अस्पतालमा दर्ता बिरामी संख्याको आधारमा नेपालमा क्यान्सर रोग तीव्र रुपमा बढेको सहजै बुझ्न सकिने चिकित्सकहरु बताउँछन् ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नाक, कान, घाँटी रोग विभाग प्रमुख डा. देजकुमार गौतमका अनुसार, क्यान्सर चाँडो पत्ता लगाउने सके बिरामीलाई सजिलै बचाउन सकिन्छ । ‘सुरु स्टेजमै पत्ता लागे ९० प्रतिशत र चौथो स्टेजका ४० प्रतिशतलाई बचाउन सकिन्छ,’ उनी भन्छन्, ‘तर, बिरामीहरु धेरै ढिला अस्पताल आइपुग्छन् ।’

नेपालमा क्यान्सर उपचारको लागि दुई लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । पछिल्लो पाँच वर्षको तथ्यांकले क्यान्सर भएर वा शंका लागेर अस्पतालमा जाँच गराउने बिरामीको संख्या २२.६ प्रतिशतले बढेको देखाउँछ । सन् २०१४ मा एक लाख १२ हजार ४७६ जनाले चितवनमा सेवा लिएका थिए ।

क्यान्सर रोगथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख भोला सिवाकोटीले गत वर्ष पाँच हजार ७९८ जना क्यान्सर रोगी उपचारको लागि अस्पताल भर्ना भएको जानकारी दिए । त्योभन्दा अघिल्लो वर्ष यो संख्या चार हजार ९७८ थियो । अस्पतालमा अहिले ४५० शय्या छ । सिवाकोटीका अनुसार अस्पतालको बिरामी अकुपेन्सी दर ७५.७ प्रतिशतभन्दा माथि छ ।

फोक्सो र पाठेघरको क्यान्सर बढी

गत वर्ष भरतपुर क्यान्सर अस्पतालमा थपिएका पाँच हजार ३३४ जना नयाँ रोगीमध्ये महिला २९ सय ५४ र पुरुष २३ सय ८० थिए । अघिल्लो वर्षको तुलनामा यो संख्या २०० जना बढी हो । यीमध्ये पनि सबभन्दा बढी फोक्सोमा क्यान्सर भएका विरामी छन् ।

२०१८ मा फोक्सोमा क्यान्सर भएका बिरामी ६७० जना थिए । ६०-७० वर्ष उमेर समूहका धेरैलाई फोक्सोको क्यान्सर भएको पाइएको छ । यसमा महिलाको भन्दा पुरुषको संख्या बढी छ ।

दोस्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर छ । गत वर्ष ५८३ महिलाले पाठेघरको क्यान्सरको उपचार गरेको अस्पतालको तथ्यांकमा देखिन्छ । ४५ वर्षदेखि ६५ वर्ष बीचका महिलामा यो रोग बढी देखिएको छ ।

तेस्रो नम्बरमा स्तनको क्यान्सर छ । गत वर्ष ५२० जना महिलाले अस्पतालमा स्तन क्यान्सरको उपचार गराएको देखिन्छ । अस्पतालको क्यान्सर रोगथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख सिवाकोटीका अनुसार, ४० देखि ६० वर्षसम्मका महिलामा बढी स्तन क्यान्सर देखिएको छ ।

१५ वर्षसम्मका बालबालिका रक्त क्यान्सरबाट पीडित

चौथौ नम्वरमा हड्डीको क्यान्सर २७७ जना र पाँचौ नम्वरमा रक्त क्यान्सर भएका २६३ जनाले अस्पतालमा उपचार गराएको तथ्यांक छ । शिशुदेखि १५ वर्षसम्मका बालबालिका रक्त क्यान्सरबाट पीडित भएको पाइएको छ ।

शहरीया जीवनशैली र खानपानका कारणले क्यान्सरका रोगी बढेको चिकित्सहरू बताउँछन् । रासायनिक मल, किटनाशक विषादीको प्रयोग भएका, मिसावट भएका खाना, सूर्तीजन्य पदार्थ र प्रदुषणका कारण क्यान्सर रोग बढेको मानिएको छ । सूर्तीजन्य पदार्थले ३० प्रतिशत क्यान्सर बढाएको बिभिन्न अध्ययनले देखाएका छन् । विश्वमा बर्सेनि ७० लाखले क्यान्सरबाट ज्यान गुमाइरहेका छन् ।

बढी बिरामी चितवनका

गत वर्ष बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराएका क्यान्सर रोगीमध्ये चार हजार ९८६ जना चितवन जिल्लाका छन् । चितवन बढी किटनाशक विषादी प्रयोग हुने जिल्लामा पर्छ ।

दोस्रो नम्वरमा नवलपरासीका (१,८२० जना), तेस्रोमा रुपन्देही (१,५४२ जना), चौथोमा दाङका (१,३३३ जना) छन् । सतहत्तरै जिल्लाबाट बिरामी आउने यो अस्पतालमा गत वर्ष ७६२ जना भारतीय बिरामीले पनि सेवा लिएको तथ्यांकले देखाउँछ ।

नेपालका अन्य अस्पतालभन्दा एकीकृत सेवा दिने हुँदा टाढा-टाढाका क्यान्सर रोगी रिफर भएर भरतपुर क्यान्सर अस्पताल आउँछन् । अस्पतालमा विषेशज्ञ चिकित्सक र बेड संख्या पनि थपिदै गएको कार्यकारी निर्देशक डा. विजय आचार्य बताउँछन् ।

उपचारसँगै सचेतना कार्यक्रम

क्यान्सर अस्पतालले बिरामीको उपचार मात्र नभई सचेतनालगायतका कार्यक्रम पनि चलाउँदै आएको छ । गत आर्थिक वर्षमा अस्पतालले नौ जिल्लाका ७० भन्दा बढी समुदायका पाँच हजार ४१९ महिलाको पाठेघरको मुखमा क्यान्सर भए/नभएको पत्ता लगाउन स्क्रिनिङ सेवा दिएको थियो । तीमध्ये ७९ जनामा क्यान्सरको बिकास हुन लागेको देखिएको थियो । उनीहरुको बेलैमा उपचार सम्भव भयो ।

सरकारले चालु आर्थिक वर्षमा पाठेघरको क्यान्सर जाँचलाई प्राथमिकतामा राखेको छ । स्क्रिनिङ कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समेटिएकाले गाउँ-गाउँ पुग्न सजिलो भएको शिवाकोटी बताउँछन् । उनका अनुसार, विकसित देशहरुमा पाठेघरको मुखको क्यान्सर रोक्न एचपीभी खोप लगाउने चलन भए पनि नेपालमा छैन । कास्की र चितवनमा गरिएको एचपीभीसम्बन्धी पाइलट प्रोजेक्ट पनि खोप महंगो हुँदा रोकिएको थियो ।

क्यान्सर अस्पतालले गत वर्ष कपिलबस्तु, मोरङ, धनुषा, लमजुङ र सिन्धुपाल्चोक जिल्लाका स्वास्थ्यकर्मीहरूलाई नाक, कान, घाँटी, पाठेघर र स्तन क्यान्सरको स्क्रिनिङसम्बन्धी तालिम दिएको थियो । यसबाहेक स्तन र फोक्सोमा क्यान्सर हुन नदिने उपायबारे सडक नाटक र विद्यालयहरूमा कार्यक्रम गर्ने गरेको छ ।

क्यान्सर सेवा समाजमार्फत बिरामीहरूलाई गत आर्थिक वर्षमा ५७ लाख ९३ हजार ७०९ रुपैयाँ सहयोग गरेको अस्पतालले जनाएको छ । सरकारले क्यान्सर रोगीलाई उपचारमा प्रतिव्यक्ति एकलाख बराबरको सहयोग दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment