Comments Add Comment

सन्दुक रूइतको जीवनी नेपालीमा

काठमाडौं । नेत्र विशेषज्ञ डा. सन्दुक रूइतको जीवन सम्बन्धी पुस्तक सन्दुक रूइत लोकार्पण गरिएको छ ।

अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको पुस्तकको नेपाली संस्करण काठमाडौंमा शनिबार डा. रुइतले शल्यक्रियापछि आँखादान पाएका सल्यानका शिक्षक तोपबहादुर शर्माले लोकार्पण गरेका हुन् ।

कार्यक्रममा शर्माले आफू २१ वर्षसम्म पूर्ण रुपमा दृष्टिविहीन भएको र डा. रुइतले आफूलाई नयाँ जीवन दिएको बताए । त्यसअघि आफूले धेरै दुःख पाए पनि डा. रुइतका कारण आफूले नयाँ संसार पाएको उनको भनाइ छ ।

डा. रुइतले भने दृष्टिविहीनलाई संसार देखाउनु आफ्नो कर्तव्य भएको बताए । विरामीले आँखाको ज्योति पाउँदा आफूलाई सबैभन्दा बढी खुशी प्राप्त हुने उनको भनाइ छ ।

तिलगंगा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले आफूले डा. रुइतसँग तिलगंगा अस्पतालमा सुरुवाती चरणबाटै काम गरेको बताइन् । सुरुवाती चरणमा डा. रुइतले आफूलाई सहकार्य गर्न आग्रह गर्दा आफू उनको प्रतिबद्धता एवम् काम देखेर तयार भएको उनको भनाइ छ ।

लेखक खगेन्द्र संग्रौलाले पुस्तक अनुवादको चरणका रोचक प्रसंग सुनाए । ‘डा. रुइत आफूलाई मन परेको लक्ष्य प्राप्त गर्ने काममा विवाद झेल्न, जोखिम उठाउन र मर्न पनि तयार व्यक्ति हुनुहुन्छ’ संग्रौलाले कार्यक्रममा भने ।

कार्यक्रमका अर्का वक्ता पत्रकार विजय कुमारले डा. रुइतको जीवनबाट धेरै शिक्षा लिन सकिने बताए । उनका अनुसार सन्दुक रुइतको जीवन लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा हो ।

प्रकाशक फाइनप्रिन्टका अजित बरालले डा. रुइतको जीवनी छाप्न पाउनु आफूहरुका लागि महाचाड जस्तै भएको बताए ।

फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भने, ‘विनयशीलता र परोकारका प्रतीक डा. रूइतको जीवनी प्रकाशन गर्न पाउनु हाम्रा लागि ठूलो सौभाग्य हो ।’

पुस्तक अस्ट्रेलियन प्रकाशन गृह एलेन एन्ड अनविनले पहिलो पटक अङ्ग्रेजीमा प्रकाशन गरेको थियो । उक्त प्रकाशन गृहसँग अनुवाद अधिकार लिएर फाइनपि्रन्टले नेपालीमा छापेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment