Comments Add Comment

‘३० वर्ष खेर गयो, अर्को ३० वर्ष पनि खेर गयो’

'कानुन बनाएरै पञ्चायत फर्काउन खोजिँदैछ'

संसदमा विश्वासको मत पाएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलिरहँदा नेपाल कम्युनिस्ट पार्टीका साथीहरुले टेबल ठोक्दा निस्केको आवाजले कांग्रेसका साथीहरुको मुटुको धड्कन बढ्ने अवस्था थियो । एकातिर भयको वातावरण थियो, अर्कोतिर प्रधानमन्त्रीप्रतिको चरम विश्वास पनि थियो ।

त्यही दिन प्रधानमन्त्रीलाई सुझावका रुपमा केही कुरा राखिसकेपछि हलबाट बाहिर निस्कँदा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट भयो । मैले उहाँलाई अभिवादन गरेँ । उहाँ सामान्यतया अभिवादन फर्काउनुहुन्न, तर त्यो दिन फर्काउनुभयो र अलि पर पुगेर फर्किएर आउनुभयो । मेरो हात समातेर विस्त्ाारै हात कोट्याएर सुस्तरी सासले भन्नुभयो-‘तपाईंले आज राम्रो बोल्नुभयो ।’

प्रतिपक्षी दलको सांसदले संसदमा उभिएर बोलेको कुरा ठीक थियो भन्न पनि डर हुने अवस्था थियो त्यसबेला ।

तर, हामीले हेर्दाहेर्दै ५/६ महिनाभित्रमा स्वयं प्रध्ाानमन्त्रीले संसदमा आएर बोल्दा उहाँको समर्थनमा टेबल ठोक्ने सांसदहरुको संख्या घट्दै गयो र अलि पछि आवाज सुन्न पनि छाडियो ।

३० बर्ष हाम्रो खेर गयो । ०४६ सालदेखि ०७६ सालसम्म अर्को ३० बर्ष पनि खेर गयो ।

कुनै पनि पार्टीको आफ्नो इतिहास, विचार, कार्यक्रम र लक्ष्य हुन्छ । एमाले र माओवादीका बीचमा बषार्ंै छलफल भएर यो पार्टीको लक्ष्य यसरी किटान गरेर जाउँ भनेर बनेको पार्टी होइन नेकपा ।

कांग्रेस र माओवादी मिलेर लडेको भरतपुरको चुनावपछि माओवादीलाई लाग्यो- कांग्रेसका मतदाता जब्बर रहेछन् । रुखभन्दा तलमाथि भोट हाल्न सितिमिति सजिलो रहेनछ ।

एमालेले बुझ्यो- कांग्रेस र माओवादी मिलेर चुनाव लडे भने स्थानीय चुनावका आधारमा देशभरिमा एमालेले प्राप्त गर्ने सिट ९ मात्रै हुन्थ्यो । माओवादीका अध्यक्ष प्रचण्ड आफैंलाई निर्वाचन हार्ने डर, केपी ओलीलाई प्रधानमन्त्री हुन नपाउँला कि भन्ने डर । डराएका दुई मानिसहरु एक ठाउँमा बसे । रातारात मुठ्ठी कसेर पार्टी एक बनाए । त्यहाँ कुनै सिद्धान्तको कुरा थिएन । कुनै विचार र कार्यक्रम थिएन ।

माओकी श्रीमतीलाईकसरी हेर्ने भनेर फुट्ने कम्युनिस्ट पार्टी, नेपालमा चुनाव जितेको डेढ बर्षपछि बल्ल हाम्रो सिद्धान्त के हुन्छ भनेर खोजी गर्दैछ । यो सबै कुराले देखाउँछ कि नेकपा डरले गर्दा बन्यो, अंकगणितका कारणले बन्यो ।

यो पृष्ठभूमिबाट आएको हुनाले स्वभाविकरुपमा प्रधानमन्त्री ओलीले नेतृत्व गरेको सरकार संख्याको आधारमा बलियो थियो । तर, विचारका आधारमा अस्पष्ट थियो । त्यसैले काम गर्न सकेन । काम गर्न नसकेपछि एकपछि अर्को गल्ती गर्दै गइरहेको छ ।

सरकारका गल्तीका क्षेत्रहरु

१. संविधानले सरकार, संसद, न्यायपालिकाको क्षेत्राधिकार तोकिदिएको छ । तर, यो सरकारले मानेन । प्रधानन्यायाधीशलाई निरन्तर तरबार झुण्ड्याएर तर्साएको छ । दायाँ-वायाँ गरिस् भने मसँग दुई तिहाई बहुमत छ ।

एकपछि अर्को संवैधानिक आयोगलाई कमजोर बनाएको छ । संसदलाई सरकारले आफ्नो छायाँजस्तो गरी चलाउन खोजेको छ । सभामुखले नलजाइकन भन्नुभएको छ- प्रधानमन्त्रीको आदेश मैले पालन गरिरहेको छु ।

२. विधिको शासन र विधिबाट शासन फरक कुरा हुन् । विधिको शासन भनेको सरकारले कानुन बनाउन सक्छ संसदबाट । तर, कानुन बनाउँदै गर्दा संविधानका आधारभूत मूल्य र मान्यताहरुलाई भत्काउने गरी काम गर्न पाउँदैन । तर, अहिले हेर्नुभयो भने संसदमा एकपछि अर्को कानुन त्यसअनुरुप आइरहेका छैनन् ।

संसदमा विचाराधीन सूचना प्रविधि विधेयक सरकार बहुमतबाट यो विधेयक पारित गराउन चाहन्छ । स्वयं प्रचण्डजीको अभिव्यक्ति आएको छ- सामाजिक सञ्जाल देखेपछि मलाई छाती पोलेर आउँछ । यस्ता अभिव्यक्तिबाट एउटा पृष्ठभूमि तयार पारिँदैछ र सामाजिक सञ्जाल अथवा अभिव्यक्तिको स्वतन्त्रतालाई कन्ट्रोल गर्ने कानुन संसदमा पुर्‍याइएको छ । मिडिया काउन्सिल विधेयक त्यसै गरी अगाडि बढाइएको छ ।

यति मात्रै होइन, तपाइले कमाएको सम्पति छोराछोरीलाई र छोराछोरीबाट नाति नातिनामा पुग्नेबेलासम्म सरकारले लगाउने करबाट त्यो सम्पत्ति राख्ने वा नराख्ने अर्थात बराबर हुने ठाउँमा पुर्‍याउने गरी कानुन बनाउने तयारी भइरहेको छ । यस्ता दर्जनौं कानुनहरु छन् । यी सबै कानुनहरु सरकार अहिले संसदबाट बहुमतका आधारमा पारित गराउन चाहन्छ ।

यसलाई रोक्ने काम कांग्रेसका प्रतिनिधिहरुको हो । कांग्रेसका प्रतिनिधिहरुलाई निर्वाचित गरेर जनताले पठाएको संसदभित्र बसेर थपडी बजाउनका निम्ति होइन । प्रतिपक्ष भनेको पनि आफैंमा एउटा जिम्मेवारी हो । प्रतिपक्षको काम प्रश्न गर्ने हो । झक्झकाउने हो । कतिपय अवस्थामा दबाव सिर्जना गर्ने हो । सही निर्णयका लागि प्रभावित गर्ने हो । कतिपय सन्दर्भमा प्रतिरोध गर्ने हो । प्रतिपक्षीले यो काम सही ढङ्गले गर्न सकेन भने सरकारले पनि काम सही ढङ्गले गर्न सक्दैन । यो जिम्मेवारी हामीले संसदभित्र निर्वाह गर्ने प्रयास गरिरहेका छौं ।

प्रधानमन्त्रीले लगातार भन्नुभयो- मन्त्रीहरुको काम मलाई चित्त बुझेन । उहाँले भन्नुभयो मन्त्रीहरुको जाँच लिँदै गर्दा जस्ट पास हुनुभयो । तर, संसदमा उभिएर मैले भनेँ- तपाईंले मन्त्रीको मूल्याङ्कन गर्नुभयो । तर, नागरिकको तर्फबाट हामी तपाईंको मूल्यांकन गछौैर्ं । तपाईंको मूल्याङ्कनमा मन्त्रीहरु जस्ट पास भए होलान्, तपाईं त जस्ट पासभन्दा पनि धेरै तल फेल हुनुभएको छ ।

एमालेबाट सिक्दै नसिक्नुपर्ने कुराहरु माओवादीले सिक्यो, माओवादीबाट सिक्नै नहुने कुरा एमालेले सिक्यो । अब यो पार्टीसँग बाँकी के रहृयो ?

यदि हामीले दबाव नबनाउने, प्रश्न नगर्ने र कतिपय सन्दर्भमा प्रतिरोध नगर्ने हो भने, हामीले हेर्दाहेर्दै अर्को राजनीतिक दुर्घटना हुन सक्छ ।

राजाका विरुद्ध हामी राजनीतिक अधिकार, जनताको अधिकार प्रयोग गर्न पाएनौं भनेर लड्यौं । हिजो कानुन थिएन तर, अब संसदबाट एकपछि अर्को कानुन बनाएर राणाका पालाको जस्तो, पञ्चायतको पालाको जस्तो स्थिति सिर्जना गर्न खोजिँदैछ ।

चितवनको पछिल्लो घटना हेर्नुस् । व्यक्ति को हो, कताको हो, छोडिदिनस् । त्यो व्यक्तिको विचारसँग सहमत वा असहमत हुने छोडिदिनुस् । तर, एउटा नेपाली नागरिक नेपालको एउटा ठाउँमा उभिएर आफ्नो विचार राख्दै गर्दा सरकारद्वारा संरक्षित मानिसहरुको आहृवानमा दिनदहाडै उसको ज्यान लिने गरी जाइलाग्छन् र ती पार्टीका कार्यकर्ताहरु विज्ञप्ति निकाल्छन्- जेे भयो ठीक भयो भनेर ।

यत्रो पुस्ता राजासँग, राणासँग लडेको केका लागि ? त्यही आफ्नो स्वतन्त्रताका लागि हो । आज त्यो स्वतन्त्रता कानुन बनाएर, सरकारमा बसेर खोसिँदैछ । अधिनायकवाद पहिलाकोजस्तो बन्दुक लिएर आउँदैन । अहिलेका तानाशाहहरु बाजा बजाएर बन्दुक लिएर आउँदैनन् । चुनावबाट आउँछन्, सरकार बनाउँछन् । कानुन बनाउँछन् र एकपछि अर्को स्वतन्त्रता खोसेर लैजान्छन् । बोल्ने स्वतन्त्रता, सम्पतिको हक, सांस्कृतिक हक, गुठीको अधिकार भत्काउने ।

अब विस्तारै यो गलत भयो भन्नेलाई चितवनमा गरेको जस्तै गर्न थाल्छ । चितवनको घटना सरकार फासिस्ट हुन लागेको संकेत हो ।

योबेला मेरो प्राथमिकतामा मैले गर्ने कामहरुमध्ये सबैभन्दा ठूलो काम नेपाललाई अर्को एउटा ठूलो राजनीतिक दुर्घटनाको नियति बेहोर्ने ठाउँमा पुग्न नदिने हो । २०१५ सालमा जननायक वीपी कोइरालाको पुस्ताले १८/१९ महिना सरकार चलाएका बेलामा राजाको महत्वकांक्षा थिएन, पञ्चायत आएको थिएन भने आज के हुन्थ्यो ? आज नेपालमा संवैधानिक राजसंस्थ्ाा पनि रहन्थ्यो । केही फरक पर्दैनथ्यो । तर, नेपालमा ६० बर्ष लामो संसदीय प्रजातन्त्रको अभ्यासले हामीसँग हुने संस्थाहरु बलिया हुन्थे । सुशासन, सुशासनले हुने प्रतिफल र परिणाम अनि त्यसका आधारमा नेपाल अर्को चरणमा पुगिसकेको हुन्थ्यो । ३० बर्ष हाम्रो खेर गयो । ०४६ सालदेखि ०७६ सालसम्म अर्को ३० बर्ष पनि खेर गयो ।

मेरा बुबाको पुस्ता, जसले पञ्चायतको त्योबेलाको कष्ट देख्यो । त्योबेला नेपालको परिचय जे थियो, ०४६ सालमा मैले जनआन्दोलन सफल भएको देख्दै गर्दा एउटा फरक सन्दर्भ देखेँ । तर, नेपालको हालत धेरै बदलिएन । अहिले मेरा साना-साना दुईजना छोरीहरु हुर्कँदै गरेको देख्दा पनि बुबाको हालत त्यस्तै छ । अर्को एउटा राजनीतिक दुर्घटनामा नेपाल पर्‍यो भने हाम्रा छोराछोरीको पुस्त्ाा पनि त्यहीँभित्र गएर सकिन्छ ।

त्यसकारण, हाम्रो दुश्मन नेकपा होइन । हाम्रो दुश्मन कोही पनि छैन । दुश्मन छ भने नेपालको गरिबी र अविकास हो । नेकपालाई निशेध गर्ने होइन । हिजो प्रचण्डले भन्नुभयो- अबको एक बर्षमा नेपालमा कम्युनिस्ट पार्टीमात्र रहेको अवस्थ्ाा बनाउँछु । हामी त्यो चाहँदैनौं । नेकपा रहोस् ।

एमालेसँग केही गुण थियो । माओवादीसँग केही गुण थियो । एमाले र माओवादी मिलिसकेपछि अलि-अलि प्रजातान्त्रिक विचारमा प्रशिक्षित भएर आउला, एमालेले माओवादीलाई त्यो कुरा सिकाउला, समावेशी लगायतका यावत कुरामा माओवादीले एमालेेलाई सिकाउला भन्ने अपेक्षा थियो ।

तर, एमालेबाट सिक्दै नसिक्नुपर्ने कुराहरु माओवादीले सिक्यो, माओवादीबाट सिक्नै नहुने कुरा एमालेले सिक्यो । अब यो पार्टीसँग बाँकी के रहृयो ?

नेकपा समावेशी लगायतका विषयहरुमा पहिलेको एमालेजस्तो भएको छ । सत्ता कब्जा गर्ने कुरामा एमाले हिजोको माओवादीजस्तो भएको छ । र, नेकपा एकपछि अर्को कानुन बनाएर सरकार होइन, सत्ता निर्माण गर्न खोज्दैछ । त्यो रोक्ने काम हाम्रो हो ।

हाम्रा पार्टीका नेताहरुले पटक-पटक भन्नुहुन्छ-२०७९ सालको निर्वाचन जित्नुपर्छ । ०७९ सालको निर्वाचन जित्ने हो तर, ०७९ सालको निर्वाचन जित्नुभन्दा पहिला निर्वाचन हुने सुनिश्चित गर्नुपर्ने छ । निर्वाचनमात्र पनि होइन, निर्वाचनलाई निर्वाचन जस्तो बनाउने कुरा पनि सुनिश्चित गर्नुपर्ने छ ।

धेरै परको उदाहरण दिनुपर्दैन । ०५४ सालमा वामदेव गौतमले गराउनुभएको स्थानीय निर्वाचन देखेर, भोगेर आएका छौं । त्यसकारण निर्वाचन हुँदा निर्वाचनलाई निर्वाचनजस्तो गराउनुपर्ने अवस्था छ । यसका निम्ति काम गर्नुपर्ने छ । यसमा सिंगो देशभरका कांग्रेसहरु लाग्नुपर्ने छ ।

(दशैं, तिहार, छठ लगायतका पर्वका अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment