Comments Add Comment

मासु खाँदै, गाउँघरको कुरा गर्दै दशैं मनाइन्छ

सम्पूर्ण नेपालीको घरभित्र समृद्धि र मनभित्र उल्लास ल्याउने पर्व हो, दशैं । यो पर्वको रौनकले हाम्रो घर आँगन टेकिसकेको छ । यतिबेला कोही दशैंको किनमेलमा व्यस्त छन्, कोही दक्षिणा जोहो गर्नतर्फ लागेका छन्, कोही मूलघर फर्कदैछन् ।

दशैंले नेपालीको जीवनलाई चलयमान एवं गतिशील बनाउँछ । साथसाथै खुशी र उमङ्गित पनि बनाउँछ । तर, सबै नेपाली यो खुशीमा आफ्नो खुशी मिसाउन समर्थ छैनन् । लाखौं लाख नेपालीहरुले श्रमको खोजीमा वा भविष्यको खोजीमा आफ्नो घरको संघारसँग दूरी बढाएका छन् । उनीहरुमध्ये धेरैजसो विदेशीभूमिमा पसिना चुहाउँदैछन् । यसरी विदेशमा बस्ने नेपालीहरुले दशैंलाई कसरी सम्झिरहेका छन् ? उनीहरुले त्यहाँ आफ्नो पर्व कसरी मनाउँछन् ? अनलाइनखबरले विदेशमा रहेका नेपालीहरुसँग दशैं अनुभव साँटेको छ ।

घर परिवारको सम्झनाले सताउँछ

विष्णु ठाकुर, हेयर स्टाइलिस्ट (सन फ्रान्सिस्को)

म अमेरिकाको क्यालिफोर्नियास्थित सन फ्रान्सिस्कोमा बसोबास गर्छु । चार वर्ष भयो, नेपाल छाडेको । नेपालमा म हेयर स्टाइलिस्टको रुपमा काम गर्थें ।

यहाँको नेपाली समाजमा दशैंको रौनक भित्रिएको छ । कतिपय दशैंको कुराकानी गरिरहेको, किनमेल गरिरहेको देखिन्छ । जहाँ-जहाँ नेपाली हुन्छ, त्यहाँ आफ्नो संस्कृति पनि हुन्छ । नेपालीहरुले यहाँ पनि आफ्नो संस्कृतिलाई भुलेका छैनन् ।

तर, यहाँ अधिकांश कुनै न कुनै पेशा व्यवसाय गरेर बस्छन् । दशैंमा यहाँ बिदा पाइँदैन । आफैँले बिदा मिलाएर बसियो भने मात्र हो । नभए कार्यालय वा कुनैपनि कामबाट बिदा पाइँदैन, दशैंका लागि भनेर । त्यसैले बिदा नपाउनेहरु दशैंमा पनि काममा जानुपर्छ । एकातिर घर परिवारको सम्झना, अर्कोतिर दशैं मनाउन नपाएको पीडा, दुःख त लाग्छ नै । आफ्ना बालबच्चा सम्झँदा अत्यास लागेर आउँछ । उनीहरुले दिनदिनै फोन गरेर भन्छ, ‘बाबा अब त आउनु ।’ दशैंमा बालबच्चाको यादले अरु बढी सताउँछ ।

यहाँ दशैं मनाउने तयारी हुँदैछ

सुजन रेग्मी, मोडल (न्युर्योक )

म न्युयोर्कमा बस्छु । केही वर्ष भयो, नेपाल छाडेको । नेपालमा मेरो घर चरिकोटमा हो । आफ्नो घरमा त दशैं भित्रिसक्यो होला । यहाँ भने हामी दशैंको तयारीमा जुटेका छौं ।

नेपाली समुदायमा कसरी दशैं मनाउने भनेर सल्लाह गरिरहेका छौं । नेपालमा जस्तो रमाइलो नभएपनि आफ्नो विधिअनुसार हामी दशैं मनाउने गर्छौं । एकअर्काको हातबाट टीका लगाउने, जमरा राख्ने गर्छौं । मीठोमसिना खाने गर्छौं ।

यसपाली पनि हामी आफ्नो समुदायबीच दशैं मनाउने छौं । कामबाट फर्केपछि सबै भेला भएर रमाइलो गर्नेछौं । साथी-साथी मिलेर खसी किन्ने र काटेर खाने योजना छ ।

पूणिर्माको दिन मात्रै टीका, नयाँ नेपाली नोट नै दक्षिणा

सीता अर्याल (लिमासोल, साईप्रस)

नेपालीहरुको महान चार्ड नेपालमा आउँदैछ । हामी विदेशमा बस्नेहरुको लागि भने फेसबुकमा फोटो हेरेर चित्त बुझाउनुको विकल्प छैन । दशैं हामीहरुको लागि ठूलो चार्ड भएपनि काम गर्ने कम्पनी या घरबाट बिदा नमिल्दा साईप्रसका कुनैपनि नेपालीले त्यस्तो भब्यसँग दशैं मनाउन पाउने गरेका छैनन् । साईप्रसमा अधिकांश मानिसहरु घरेलु कामदारको रुपमा रहेका छन् । जसका कारण उनीहरुको आईतबार साप्ताहिक बिदा हुने बाहेक अरु बार बिदा पाईंदैन । मेरो पनि त्यस्तै अवस्था छ ।

मेरो स्थायी घर धादिङ जिल्लाको गजुरी गाउँपालिकामा पर्दछ । कामको सिलसिलामा साईप्रस आएको साढे ४ वर्ष पूरा भयो । म साईप्रसकै लिमासोल भन्ने ठाउँमा काम गर्छु । साईप्रस आएपछिको यो पाँचौं दशैं हो । तर, कामको व्यस्तताले गर्दा अहिलेसम्म २ वटा दशैंमात्रै मनाईएको छ । आईतबार मात्रै बिदा हुने भएकोले दशैंको टीका सोमबार नपरोस् भनेर नै कामना गर्नुपर्छ । टीकाको दिन रमाईलो गर्ने कुरा त परै जाओस् । सबैजना टीकापछिको पहिलो आईतबार एउटा पार्कमा भेला भएर रमाईलो गर्ने गरेका छौं ।

कुनै दशैंको त टीका सोमबार पर्यो भने त्यो दशैं त्यसै बित्ने गरेको छ । पोहोरको दशैंमा टीकाको पर्सीपल्ट अर्थात् द्वादशीको दिन आईतबार परेकोले सोही दिन पाफोस भन्ने ठाउँको पार्कमा नेपालीहरु भेला भएर सामुहिक टीका लगाएका थियौं । यो वर्ष असोज २६ गते आईतबार पूणिर्मा परेको छ । त्यसैले सोही दिन साईप्रसको लार्नाका भन्ने ठाउँको पार्कमा भेला भएर सामूहिक टीका लगाउने तयारी गरेका छौं ।

सोही दिन नेपाली रेस्टुरेन्टहरुबाट खाना र मासुहरु पनि मगाएर खाने गरिन्छ । दशैंको लागि नेपाली रेस्टुरेन्टहरुले पनि विशेष नेपाली खानाको व्यवस्था गरेका हुन्छन् । सोही पार्कमा खुलेर नाचगान पनि गरिन्छ । त्यस्तो सामूहिक टीकामा ५० देखि ६० जनासम्म उपस्थित हुने गर्दछन् । नेपाली जनसम्पर्क समिति साईप्रसमा मैले पनि सबैलाई टीका लगाईदिने गरेको छु । म पनि सबैको हातबाट टिका लगाउने गर्छु ।

दशैंको दिन नेपालमा परिवारले टीका लगाएको फेसबुकमा फोटो देख्दा हरेक वर्ष आँसु आउनेगरेको छ । तर, के गर्नु आँसु पुछेर काममा जानै पर्यो । पोहोर त दशैंको केहीदिनसम्म फेसबुक चलाउन पनि मनलागेन । फेसबुकमा फोटो हेरेर मात्रै किन मन दुखाउनु जस्तो लाग्छ । टीका लगाउनको लागि यसपाली मैले नेपालबाटै नेपाली नोट समेत मगाएको छु । टीकाटालोपछि नेपाली नोट नै दक्षिणाको रुपमा दिने तयारी गरेका छौं । यहाँ नेपाली पैसाको महत्व नहुने भएकोले प्रतीकात्मक रुपमा १० रुपैयाँको नोट सबैले सबैलाई दिने तयारी गरिएको छ ।

 ६ नेपालीहरुको ज्यान गयो, के खुशीले दशैं मनाउनु ?

राजन अर्याल (अल्कुज, दुबई )

म दुबईको अल्कुज २ शहरमा रहेको फस्ट सेक्युरिटी कम्पनीमा कार्यरत छु । हाम्रै कम्पनीका ६ जना नेपालीहरुले सोमबार सवारी दुर्घटनामा ज्यान गुमाए । त्यसलेगर्दा हामी दशैं मनाउने कि नमनाउने भन्ने दोधारमा छौं । हामी कम्पनीका सम्भव भएसम्म धेरैभन्दा धेरै नेपालीहरु एकै ठाउँमा जम्मा भएर दशैं मनाउने तयारीमा थियौं । तर, यो दुखद् घटनाले हाम्रो त्यो योजनालाई तुहाउने सम्भावना छ । सँगै काम गर्ने साथीहरुको यो दुखद् घटना हुँदा हुँदै कसरी हामीले कसरी उत्सव मनाउने ?

त्यसो त हाम्रो दशैं अरु बेलामा पनि त्यस्तो उत्साहजनक हुने गरेको छैन । घरको याद भुलाउन साथीभाइहरुबीच भेटघाट गरेर देखावटी हाँसो हाँस्ने मात्रै हो । नेपालहुन्ज्याल यसको महत्व खासै लाग्ने गरेको थिएन । तर, विदेश आएपछि थाहा भयो नेपालमा हुँदाको दशैंको महत्व । आफन्त हुनेहरु दशैंमा आफन्तकहाँ गएर मनाउँछन् । घरमा टाढा टाढा सम्झिरहेकाहरु पनि यहाँ आफ्नो सम्भिmएर टीका लगाउने जाने गर्दछन् । हामी जस्तो यता कोहीपनि आफन्त नभएकाहरु भने साथीहरुसँग बसेर टीका लगाउने गरिन्छ । उनीहरुसँगै बसेर दशैं मनाउने गरिन्छ ।

तास खेल्नेहरुले दशैंमा तास पनि खेल्ने गर्छन् । हुन त फुर्सद हुने बित्तिकै तास खेल्नेहरु पनि नभएका होईनन् । तर, म भने यता आएपछि तास खेल्ने गरेको छैन । नेपालमा हुँदा त खेल्ने गरेकै हो । खेल्न आउँछ पनि । तर, यता आएपछि खै किन हो तासमा खासै मन गएको छैन । दशैंको लागि मासु नजिकैको वेस्ट जोन सुपरमार्केटबाट किनेर ल्याईन्छ । त्यहाँ ताजा र आफूले भनेजस्तो मासु पाईन्छ । त्यही खाएर दशैं मनाउने योजना छ । कोही साथीहरु दशैंमा घुमघाम गर्न पनि जाने गर्छन् । तर, हाम्रो भने यो वर्ष त्यस्तो योजना छैन । बिदा पनि त मिल्नु पर्यो नि ।

म कामको सिलसिलामा दुबई आएको दुई वर्ष भयो । यो तेस्रो दशैंको जुन मैले घरमा मनाउन पाईन । दशैंको टीकाको दिन घरमा फोन गरेर चित्त बुझाउने गरेको छु । पोहोरपरारसम्म त दुईचारजना भेला भएर दशैं मनाउने गरेका थियौं । यसपटक भने कम्पनीका धेरैभन्दा धेरै भेला भएर बिदा मिल्ने जति बसेर रमाईलो गर्ने योजना थियो । मैले त मरेको साथीहरु चिनेको पनि छैन । कम्पनीमा ४ हजारजति त नेपाली कामदार नै होलान् । अरु साथीहरु मार्फत् उनीहरुसँगै बसेर दशैं मान्ने योजना थियो । तर, त्यो पनि भाग्यमा नै लेखिएको रहेनछ ।

साथीहरु मिलेर खसीको मासु खाँदै, गाउँघरको कुरा गरिन्छ

फणिन्द्र पोखरेल (टोकियो)

नेपालमा त दशैं लागिसक्यो । मैले भने आफ्नो देशमा, आफ्नो घरमा दशैं नमनाएको पाँच वर्ष बितिसक्यो । किनभने म लामो समययता जापानमा छु । अरुबेला त यसै भुलिन्छ । चार्डपर्वमा भने घरको याद आउँदो रहेछ । अहिले पनि घरलाई खुब सम्झिरहेको छु । गाउँघरको याद आइरहेको छ । आफन्त, साथीभाइहरु के गर्दै होलान् भनेर सोचिरहेको छु ।

नेपालमा मेरो घर ओखलढुंगा हो । यसपाली दशैंमा घर र्फकने सोच थियो । धेरै वर्षपछि परिवारमा बसेर दशैं मनाउने योजना थियो । तर, काम परेकाले दशैं मनाउने योजना यत्तिकै थाँती रह्यो ।

प्रवासमा दशैं मनाएपनि गाउँघरमा जस्तो हुँदैन । नेपालको जस्तो रौनक छाउँदैन । चिनेजानेका साथीहरु भेला हुन्छौं । हलाल गरिएको १ र २ केजी खसीको मासु ल्याउछौँ । सबै मिलेर पकाउँछौं । स्वादिलो खसीको मासु खाँदै, गाउँघरको कुरा गर्दै साथीहरुबीच खुशी साटिन्छ ।

विजयादशमीको दिन चाहिँ साथी-साथीलाई टीका लगाएर मनाउने गर्छौं । आफन्तहरु हुने आफन्तकोमा जान्छन्, नत्र त्यहीँ साथीहरुले लगाइदिएको टीकामा दशैं सकिन्छ ।

अझ नेपाली कामदारहरु बढी भएको अफिसमा त बिदा मिलाउनै गाह्रो हुन्छ । जापानीले दशैं भनेको बुझेका हुन्नन् । त्यसैले पनि बिदा मिलाउन गाह्रो हुन्छ । दशैं आउन लागेको लामो समय पहिलादेखि नै हाकिमको पाउ मोल्नुपर्छ ।

टीकाको दिन नेपालबाट फोन आउँछ । बुबा-आमासँग फोनमा बोल्दा मन थामिन्न । उहाँहरु उताबाट रुनुहुन्छ, आफू यता आँशु बगाइन्छ । आमा-बुबालाई थाहा नहोस् भनेर आवाज लुकाइन्छ ।

टीकाको दिन बेलुका भने नेपाली खाना खान बाहिर गइन्छ । नेपाली रेस्टुरेन्टहरु तथा नेपाली बारहरुमा पुगेर झ्याम्म खाइन्छ । पिउने साथीहरु पिउनुहुन्छ, नपिउनेहरु पनि उत्तिकै रमाइलो गर्नुहुन्छ ।’

तर, यो सबै गरेपनि त्यो गाउँको लिङ्गे पिङ, निधारभरीको टीका, जमरा त यहाँ कहाँ मिल्नु र !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment