Comments Add Comment

बच्चाको परिवर्तित ब्यवहार र बिग्रँदो स्वभाव कसरी चिन्ने ?

हिजोआज एकल परिवार र महिलाहरु कामकाजी हुने भएकाले पारिवारिक स्थिति परिर्वतन हुन थालेको छ । दुईवर्ष पनि नपुगेका बालबालिकाहरु बिहानै तयार भएर झोला र बोतल बोकेर मन्टेश्वरीतर्फ जान्छन् । धेरै बालबालिकाहरु ट्युसन पनि पढ्छन् । बच्चाहरुलाई सानो उमेरमा स्कुल र बाँकी समय ट्युसन राख्दा आमाहरु केही समयको लागि स्वतन्त्र हुन्छन् र त्यो बेला बालबालिकाहरुले आफूहरुलाई दुःख दिन पाउँदैनन् भन्ने धेरै आमाहरुको धारणा पाइन्छ ।

तर, अचेल बालबालिकाहरुको ब्यस्ततासँगै उनीहरुको सुरक्षालाई पनि ध्यानदिनु आवश्यक भएको छ । बालबालिकाहरु हराउने, अपहरणमा पर्ने तथा हत्या नै हुने जस्ता घटनाहरु दिन-दिनै सुन्न र पढ्न पाइन्छ ।

आजभोलि अभिभावकहरु आफ्नो बालबालिकाहरुको भविष्यप्रति आवश्यकभन्दा बढी सचेत हुन थालेका छन् । बच्चा जन्मिन नपाई उनलाई डाक्टर बनाउने कि इन्जिनियर भनेर सोच्न थाल्छन् । आफ्नो बच्चाको बारेमा एक शब्द पनि नराम्रो सुन्न रुचाउँदैनन् ।

केही समय अघिमात्र पाँच कक्षामा पढ्ने एक छात्राले आफ्नो परिवार र शिक्षकले माया नगरेका भन्दै आत्महत्या गरेका थिए । त्यस्तै, शिक्षकको कुटाईबाट विद्यार्थी घाइते भएका समाचार पनि बारम्बार आइरहेका हुन्छन् ।

आमा-बुबा नै व्यस्त हुन थालेपछि बालबालिकाहरुलाई प्रि-स्कुलमा राख्नुपर्ने बाध्यता हुन्छ । त्यस्तै ठूला भएपछि पनि किशोर-किशोरीहरुलाई सुविधायुक्त छात्रावासमा राख्ने हरेक अभिभावकको सपना नै हुन्छ  । अभिभावकको बाध्यता र सपनाको फाइदा विभिन्न शिक्षण संस्थाहरुले उठाइरहेका हुन्छन् ।

जति सुविधा त्यति नै शुल्क

आजभोलि शिक्षण संस्थाहरु पैसा कमाउने एउटा स्रोत बनेका छन् । एक किसिमले तिनीहरु ब्यापारिक केन्द्र समेत बन्दै गएका छन् ।  त्यहाँ जति धेरै सुविधा दिइन्छ, त्यति नै धेरै शुल्क पनि लिइन्छ । सबै अभिभावक आफ्ना छोरा-छोरीको राम्रो लालनपालन होस् भन्ने चाहन्छन् । त्यसको लागि उनीहरु आफूले सकेको सबै कुरा गर्छन् । तरपनि धेरै अभिभावकहरु आफ्नो बच्चाको ब्यवहार र प्रस्तुति दुबैबाट सन्तुष्ट हुन सकेका छैनन् । यसको लागि अभिभावक स्वयंं जिम्मेवार छन् । किनभने बालबालिकाहरुलाई कुन समयमा कस्तो ब्यवहार गर्नुपर्छ भन्ने कुरा उनीहरुले बुझेका हुँदैनन् ।

बच्चाले पढ्न मन नगर्दा आमाले गाली गर्ने, कुट्ने र डर देखाउने गर्छिन् । तर, बच्चाले किन पढ्न खोजिरहेको छैन भन्ने कुरा बुझ्ने कोशिस गर्दिनन् । बच्चालाई आफ्नो शिक्षिक मन नपरेको हुन सक्छ । त्यस्तै उसको स्मरण शक्ति कम होला अथवा उसलाई त्यो समयमा पढ्न मन नलागेको पनि हुनसक्छ ।

त्यस्तै, शिक्षिकाहरुको कुरा गर्नुपर्दा उनीहरुलाई पनि व्यवस्थापनको दबाव, बच्चाको दबाव र अभिभावकहरुको दबाव अत्यधिक हुन्छ । यदि उनीहरुले बच्चालाई गृहकार्य नगरेकोमा अथवा सही तरिकाले बोल्न लगाउँदा त्यही कुरालाई घरमा बढाई-चढाई गरेर सुनाउँछन् । त्यसैले आज शिक्षिकाहरु पनि आफ्नो पाठ्यक्रम पूरा हुनेगरी पढाउनमा मात्र केन्द्रित हुन थालेका छन् ।

अभिभावकको दवाव 

अब स्कुल होस् अथवा अभिभावक, सबैलाई बच्चाले परीक्षामा ल्याउने प्रतिशतसँग मात्र वास्ता हुन थाल्यो । स्कुललाई नतीजाको चिन्ता हुन्छ भने अभिभावकलाई आफ्नो बच्चा सबैभन्दा अगाडि होस् भन्ने इच्छा । त्यस्तो स्थितिमा बच्चालाई आवश्यकताभन्दा बढी दवाव दिन थालिएको छ । स्कुल र अभिभावक दुबैले बच्चासँग उसको क्षमताभन्दा धेरै प्रदर्शनको चाहना राख्न थालिएको छ । बच्चामा धेरै दबाब र बोझ बढ्न थाल्छ । ऊ चुपचाप सबै दबाबहरुमा दबिएर सबैको इच्छा-अपेक्षाहरु पूरा गर्ने कोशिस गर्न थाल्छ अथवा ऊ बिद्रोही भएर आफूलाई जे मन लाग्छ त्यही गर्न थाल्छ ।

अभिभावकद्वारा गरिने अनावश्यक हस्तक्षेपका कारण आजकल बच्चाहरुलाई पढ्न अति नै गाह्रो हुन थालेको छ । बालबालिकाहरु पढ्न चाहँदैनन् । उनीहरुलाई अलिकति पनि गाली गर्‍यो भने तिललाई पहाड बनाइदिन्छन् । यसको सम्पूर्ण दोष शिक्षकमा आउँछ । यदि व्यवस्थापन रिसाएको छ भने त यो समयमा शिक्षक बलिको बोका नै बन्नुपर्ने अवस्था सिर्जना हुन्छ ।

पैसाको शान

हिजोआज बालबालिकाहरु आफ्ना अभिभावकको शानका कारण नै जिद्दी बन्छन् र स्कुलमा शिक्षकलाई टेर्दैनन् । कक्षामा शिक्षकलाई जिस्काउने र उटपट्याङ प्रश्न सोध्ने जस्ता कुरा सामान्य भएका छन् । हिजोआज अभिभावकहरु बच्चाको अगाडि शिक्षकको कमजोरीहरु औंल्याउने गर्छन् । त्यस्तै कहिलेकाहीँ अभिभावकले बच्चाको अगाडि नै व्यवस्थापनलाई शिक्षकको कुरा लगाएर स्कुलबाट निकालिदिन्छु भन्ने दबाब दिन्छन् ।  बच्चाहरुले त्यस्ता कुुरा सुनेपछि उनीहरुको मनमा शिक्षकप्रतिको मान-सम्मान घट्छ ।

प्रायः सुबिधा सम्पन्न परिवारका बालबालिकाहरु कसैलाई मान-सम्मान गर्दैनन् । उनीहरु स्कुलमा शिक्षक र घरमा अभिभावकको कदर गर्दैनन् । उनीहरु मेहेनत गर्न मन गर्दैनन् । आमा-बुबाको पैसाको सान स्कुलमा पनि देखाउन खोज्छन् ।

शिक्षकको कर्तव्य

प्रायः शिक्षकहरु आफ्नो गल्ति मान्न तयार हुँदैनन् । यदि कुरा बढेर प्रधानाध्यापसम्म पुग्यो भने उनीहरु बच्चालाई बारम्बार अपमानित गर्छन्, त्यसैले बच्चा घरमा केही भन्न मान्दैनन् । आफ्नो ब्यस्त जीवनशैलीका कारण आमा-बुबा आफ्ना छोरा-छोरीलाई समय दिन सक्दैनन् । उनीहरु पैसाको आडमा नोकरको भरमा अथवा शिशु स्याहार केन्द्रमा हुर्किन्छन् । त्यसैले उनीहरुमा संस्कारको ठाउँमा आक्रोशले भरिएको हुन्छ ।

धेरै अभिभावकहरु आफ्नो छोरा-छोरीको मोबाइल चलाउने तथा टेलिभिजन हेर्ने बानी कम गराउनको लागि शिक्षकसँग अपेक्षा राख्छन् । आफ्नो बच्चा आफूले भनेको केही पनि मान्दैनन् भन्न उनीहरु अलिकति पनि अफ्ट्यारो मान्दैनन् । तर, तपाईंको बच्चा धेरै समय तपाईसँग हुन्छ, त्यसैले उसलाई राम्रो संस्कार दिने, उसँग समय बिताउने र उसको आवश्यकतालाई बुझ्ने कोशिस गर्नु अभिभावककै जिम्मेवारी हो ।

प्रायः जुन छात्र कमजोर हुन्छ, त्यो कुराले उसलाई नराम्रोसँग उपेक्षा गरेको हुन्छ, जसका कारण उ कुण्ठित हुन्छ र पढ्न मन गर्दैन । त्यसैले सबै बच्चालाई ध्यान दिनु, उनीहरुको प्रतिभालाई निखार्नु र उनीहरुको आवश्यकतालाई चिनेर अगाडि बढ्न सहयोग गर्नु नै एउटा कुशल शिक्षकको जिम्मेवारी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment