Comments Add Comment

दशैं सस्तो बजारमा उपभोक्ताको भीड, एक दिनमै १५ लाखको कारोबार

१६ असोज, बुटवल । बुटवलमा सञ्चालन भैरहेको दशैं सस्तो बजारमा उपभोक्ताको भीड लागेको छ ।

बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको सस्तो बजारमा ३० प्रतिशतसम्म छुट दिएपछि उपभोक्ताको भीड लागेको हो ।

एकै दिनमा मात्रै १५ लाखको कारोवार भएको छ । एकै दिनमा ५ हजार उपभोक्ता मेलामा पुगेका छन् ।

दशैं सस्तो बजारमा ३० वटा स्टल रहेको र ती स्टलमा सरदर ५० हजार रुपैयाँका दरले सामान खरिद बिक्री भइरहेको दशैं सस्तो बजार समितिका सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य बसन्तप्रसाद ढकालले जानकारी दिए ।

दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुमा उपभोक्ताको भीड छ । त्यस्तै नयाँ नोट साट्नका लागि पनि सर्वसाधारणको भीड बढेको छ ।

नेपाल राष्ट्र बैंकको सहयोगमा बुटवल उद्योग बाणिज्य संघले नयाँ नोट सटहीको व्यबस्था मिलाएको छ ।

संघले दैनिक प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँका दरले २ सय जनालाई नयाँ नोट सटहीको व्यबस्था मिलाएको छ भने ३ सय जनालाई नयाँ नोट सटही गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिए । नयाँ नोट सटहीकालागि ग्लोवल आईएमई बैंकले सहयोग गरेको छ ।

दशैं सस्तो बजारमा मंगलबारदेखि छपियाको माछा बिक्री वितरण गरिएको छ भने बुधबारदेखि जुम्लाको स्याउसमेत बिक्री वितरण गरिएको छ । त्यस्तै लोकल कुखुरा, टर्की, कुखुराको अण्डासमेत सुलभ मूल्यमा बिक्री वितरण गरिएको छ ।

दशैं सस्तो बजारमा साल्ट ट्रेडिङ्ले चिनी नुन, डीडीसीले दुग्धजन्य उत्पादन तथा अन्य स्टलहरुमा तेल, चिया, साबुन, मसला लगायतका दैनिक उपभोग्य बस्तुहरुको सुलभ मुल्यमा बिक्री भइरहेको बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष बिमलराज भट्टराईले बताए ।

उनले दशैं सस्तो बजारमा राखिएका सामगि्रहरु सस्तो मात्रै नभएर गुणस्तरीय पनि भएकाले संघले सञ्चालन गरेको बजारको फाईदा लिन सबैलाई आग्रह गरे ।

यही असोजको १२ गते घटस्थापनादेखि सुरु भएको दशैं सस्तो बजार यही असोजको १७ गतेसम्म सञ्चालन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment