+
+
Shares

नमुछे आमा दहीमा टीका नछरे जमरा…

विश्वास खड्काथोकी विश्वास खड्काथोकी
२०७६ असोज २१ गते २०:०३

नमुछे आमा दहीमा टीका नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर…

लक्ष्मण रायमाझीले यो गीत आफ्नै लागि लेखेजस्तो लाग्छ ।

गीत रेडियो नेपालमा बज्न शुरु भयो । सबैभन्दा बढी फर्माइस आउन थाल्यो । तर, लक्ष्मणले त्यो चर्चा देख्न पाएनन् । गीत रेकर्ड भएको दुई वर्षमै उनलाई नशासम्बन्धी रोगले लग्यो । त्यसपछि आमाले उनका लागि कहिल्यै दहीमा टीका मुछ्न पाइनन् ।

०४६ मा रीमा रेकर्डिङमा यो गीत रेकर्ड भएको थियो – नमुछे आमा दहीमा टीका… । ओजपूर्ण शब्दलाई न्याय दिएर कालजयी गीत गाएका थिए नारायण रायमाझीले दिए, जो नाताले लक्ष्मणका भाइ हुन् । अहिले बढी प्रयोग भएको गीत भने कृष्णभक्त राईले २०५७ सालमा गाएका हुन्, जसका लगानी रायमाझी आफैंले गरेका थिए ।

गायक तथा संगीतकार नारायण भन्छन्, ‘यस्तो गीत कम मान्छेहरुले मात्र पाउँछन्, सीमित जन्मिन्छन् । यो गीतमा संगीत भर्ने अवसर पाएकोमा भाग्यमानी ठान्छु ।’

नेपाली संगीतको क्षेत्रमा यत्तिको सशक्त सिर्जना अर्को पनि दिन सक्छु भन्ने विश्वास छैन नारायणलाई ।

००००

गीत समाजको प्रतिविम्ब पनि हो । दुई दशकअघिको एउटा कथालाई बडो गहिरो गरी उठाएको छ, यो दशैँ गीतले । एउटा भारतीय सिपाहीका कथा । तर, आजको दिनमा पनि यसको लोकपि्रयता उस्तै छ । परिवेशमा खास फेरिएको छ ।

अहिले पनि भारतीय सेनामा भर्तीका लागि वर्षेनी हजारौँ युवा लामबद्ध हुन्छन् । र, हतियार लिएर युद्धमा पुग्छन् । गाउँतर्फ फर्केर हेर्ने हो भने बैदेशिक रोजगारीका लागि खाडी नपुगेको घर भेट्टाउन हम्मे-हम्मे पर्छ । हाम्रो स्वाधीनता उनीहरुकै पसिनाको पैसामा अडिएको छ ।

यता घरमा श्रीमती, आमा, छोराछोरी दशैँमा उसैलाई फर्केर बसिरहेका हुन्छन् ।

तर, विदेशिएका ती युवाहरुले पैसा मात्र पठाइरहेका हुँदैनन् । पैसासँगै पोको पारेर आँशु र पीडा पनि पठाइरहेका हुन्छन् । कोही कोही रातो कफिनमा बन्द भएर फर्किन्छन् । औषत दैनिक पाँचजनाको शव त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थलमा आइपुग्छ । त्यसैले यी शब्दहरुको मर्म आजको दिनमा पनि उस्तै छः

झोलुंगाबाट उठेर छोरी खोइ बाबा भन्नेछिन्
ब्यूझेर मेरी मुर्छिदै फेरि दाँतै पो बान्नेछिन्
नफोरे पि्रया नारीका चुरा झर्याम्म पारेर
जाँदैन दुःख आँशुका धारा बरबरी झारेर

यी शब्दबाट लक्ष्मणले बेदनामात्र पोखेका छैनन् । पत्नीलाई सम्झाउन मात्र लेखेका छैनन् । चुरा नफोड्न भन्दै विद्रोह पनि बोलेका छन् । आँशुलाई शक्तिमा बदल्न साहस दिएका छन् ।

००००

दशैँ मनाउनका लागि नारायण घर पुगेका थिए । लक्ष्मणले गीत देखाए । नारायणको मन छोयो ।

गीत देखाउँदै लक्ष्मणले रचना गर्भ सुनाएका थिए-

भारतीय सेनामा कार्यरत छिमेकी छुटि्टमा घर फर्किएका थिए । छुट्टीमा घर र्फकंदा फौजीले थुप्रै वियोगका कथाहरु पनि बोकेर आए । ती फौजीले फोकल्याण्डको लडाइमा आफ्नै अगाडि विरगति प्राप्त गरेको साथीको कथा सुनाएका थिए ।

त्यो कथालाई लक्ष्मणले गीतमा बुने र नारायणलाई दिए ।

नारायण सुनाउँछन्, ‘भारतीय सेनामा कार्यरत गोर्खा फौज छुट्टीमा नेपाल आउँदा यस्तै वियोगको कथा लिएर आउँथे । हरेक वर्ष कसै न कसैको घरमा बज्रपात परिरहेकै हुन्थ्यो । त्यही कथालाई दाइले गीतमा ढाल्नुभएछ ।’

दशैँ सकियो । लक्ष्मण नवलपरासीको आफ्नै पुस्तक पसलमा व्यस्त भए । नारायण काठमाडौं फर्किए ।

तर, नारायणलाई सुन्दर शब्दहरुले दिमागलाई यसरी झंकृत गरेको थियो की अरु सोच्दै नसोची संगीतबारे सोच्न थाले । उनको कैयौँ निद्रा त्यही संगीतले खाइदियो । तर, हप्ता, महिना र वर्षसम्म पनि न्याय हुने संगीत जुटाउनै सकेनन् । नारायण आफ्नो कार्यशैलीबारे बताउँछन्, ‘मैले यसै पनि झट्टै कुनै गीत तयार पार्न सक्दिनँ । राम्रो सिर्जना दिउँ भन्ने हुन्छ । जसका लागि केही समय लाग्छ नै ।’

नमुछे आमाको संगीत तयार पार्न नरायणलाई पुरै दुई वर्ष लाग्यो । उनले आफ्नै स्वरमा रेकर्ड गरे । ‘यसको संगीतमा लोक र वेस्टर्नको फ्युजन गरेको छु’, नारायण संगीतबारे बोल्छन्, ‘मादल, हारमुनियम, तबला, भोयलिनलगायतका बाजा प्रयोग भएका छन् ।’

यता, गीत रेकर्ड भयो, उता लक्ष्मण नशासम्बन्धी रोगले थलिन थाले ।

गीतले उचाइ ग्रहण गर्दै थियो, लक्ष्मणको शरीर झन्-झन् कमजोर बन्दै गयो ।

त्यतिबेला अहिलेको जस्तो प्रविधि थिएन । ताकि छिनमै कुनै कुरा स्वात्तै माथि चढोस् । जतिसुकै शक्तिशाली सिर्जनालाई पनि मानिसहरुसम्म पुग्न महिनाैं वा वर्षौं पनि लाग्न सक्थ्यो । त्यसका लागि एउटा मात्र सशक्त माध्ययम रेडियो नेपाल थियो । जमाना क्यासेटको थियो ।

तर, लक्ष्मण गीत रेकर्ड भएको दुई वर्षमै अस्ताए । ३५ वर्षको उमेरमै ।

नारायण सम्झन्छन्, ‘आमा जहिल्यै त्यही गीत सुन्दै रुँदै गर्नुहुन्थ्यो । हामी विछिप्त थियौँ । रेडियो नेपालमा सबैभन्दा बढी उहाँकै गीत बज्न थालेको थियो ।’ आफ्नो सिर्जनाको उचाइलाई लक्ष्मणले छाम्न पाएनन् ।

मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्
दैलाको तस्बीर छातीमा टाँसी आँशु बगाउनेछिन्
नझारे आमा, आँशुका ढिका मूलबाटो हेरेर
जाँदैन दुःख आँशुका धारा बरबरी झारेर

००००

नारायणले ३३ वर्षको उमेरमा सिजना गरेको नमुछे आमाको चर्चा झन्झन् आकाशिँदै गयो । उनी काठमाडौं बाहिर कतै निस्किएका बेला होटेल, बसदेखि गाउँ-गाउँका क्यासेट प्लेयरसम्म यही गीत गुञ्जिरहेको हुन्थ्यो । गीत बजिरहँदा छेउमा पुगेर नारायणले कसैलाई जिज्ञाशा राख्थे, ‘कस्तो लाग्छ गीत ?’ प्रतिक्रियाले उत्साहित हुन्थे । तर, यो गीत मेरो हो नि ! भन्न चाहिँ सक्थेनन् ।

कहिले गीत सुनेर भक्कानिएकाहरुलाई भेटे नारायणले । नारायण आफ्ना दाइको सम्झनामा डुब्छन्, ‘लाइभ प्रस्तुति दिँदादिँदै थुप्रै पटक मेरा गला अवरुद्ध बनेका छन् ।’

गीत सुनौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?